चितवन, ८ भदौ – चितवनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको जनाइएको छ । प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।
लगत्तै वयान सुरु भयो । आइतबार अभियुक्त अस्मिता भनिने रुकु कार्कीको वयान सकिएको छ । तर, रवि र युवराज कँडेलको वयान बाँकी नै रहेकाले भोलि सोमबार बिहान १० बजे उपस्थित गराउने गरी तीनैजनालाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्क्स्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।





