काठमाडौँ, ९ भदौ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ । सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो ।यसअघि आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।तीनै जनाको बयान सकिएपछि आजबाटै थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो । अब दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ ।तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, कँडेल र कार्कीमाथि ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।रविको समर्थनमा प्रदर्शन हुने देखेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ भने पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निशेधाज्ञा जारी गरिएको छ ।मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।उनीहरुविरुद्ध पुडासैनी परिवारको तर्फबाट किटानी जाहेरी समेत परेको छ ।





