चितवन, ९ भदौ – चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी मागेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोडेको हो।
त्यस्तै, औषधि उपचारका लागि विदेश जानुपर्ने भएमा अदालतबाट अनुमति लिनुपर्ने पनि अदालतको आदेशमा उल्लेख छ। आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।





