पोखरा, १० भदौ -गण्डकी प्रदेशका सांसदहरुले बालिकाहरुलाई हिंसाबाट बचाउन र बालिका अधिकार संरक्षणका लागि सदनमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । आईतबार पोखरामा आयोजित बालिकाहरुको सवालमा प्रदेश सरकारले अवलम्वन गरेको नीति तथा कार्यक्रम सम्बन्धि छलफलमा सहभागी सांसदहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।
सांसदहरुले बालबालिकामा गर्ने लगानी भौतिक विकासमा गर्ने लगानी भन्दा बढी महत्वपूर्ण भएकाले त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै महिला सांसदहरुले नै आज पनि महिलाहरुलाई पुरुषहरुले होच्याउने प्रवृत्ति भएकाले त्यसको न्युनिकरण गर्न सके मात्र बालिकाहरु समेत सुरक्षित हुन सक्ने बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले बालिकाको अधिकार रक्षाका लागि कानून बनाएर मात्र केही नहुने र नागरिक सचेतनाका लागि पनि काम गर्नुपर्ने बताए । उनले बालमैत्री अभियान सञ्चालन गर्ने स्थानिय तहलाई प्रदेश सरकारले सहयोग गर्ने समेत घोषणा गरिन् । मन्त्री पुनले गण्डकी प्रदेशलाई शुन्य बाल विवाहको प्रदेश बनाउने दिशामा गण्डकी प्रदेश अगाडि बढिरहेको बताइन् ।
अर्थ तथा विकास समिति सभापति दिपक कोइरालाले नेपाली सामाजिक संरचनाका कारण बालिकाले जन्मदेखि नै विविध समस्या भोग्नु परेको बताए । कोइरालाले छोराको जन्ममा भन्दा छोरीको जन्ममा बाबुआमा संवेदनशील हुनुपर्ने दिन रहँदासम्म भौतिक विकासको अर्थ नरहने बताए ।
सांसदहरु मीनप्रसाद गुरुङ्ग, धनञ्जय दवाडि, विष्णु लामिछाने, मीना गुरुङ्ग, मनकुमारी गुरुङ्ग, धनमाया पोख्रेल लामा, पियारी थापाले आफ्नो विचार राखेका थिए ।
मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत खिमलाल सुवेदीले बालिका अधिकार पनि मानव अधिकारको अभिन्न स्वरुप भएकाले त्यसमा सबै तहका सरकारको विशेष भूमिका हुनुपर्ने बताए ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले पछिल्ला दिनहरुमा किशोरीहरुको अधिकार हननका घटनाहरु वृद्धि भएको बताउँदै शोषणका रुपहरु परिवर्तन भएकाले त्यस तर्फ आवश्यक प्रयत्न गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत सुशिला आचार्यले गण्डकी प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा गरेका र योजनामा रहेका गतिविधीहरुबारे कार्यपत्र पेश गरेकी थिइन् ।
कार्यक्रममा बालिकाहरुको क्षेत्रमा गण्डकी प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका विभिन्न संघ संस्थाका ५ दर्जन प्रतिनिधीहरु सहभागी भएका थिए ।
पोखरामा मात्र २०६ जनामा डेंगुको संक्रमण
भदौ ९
पोखरा । पोखरामा दिनप्रतिदिन डेंगुका बिरामीहरु बढिरहेका छन् । गत शुक्रबारमात्रै २० जनामा डेंगुको संक्रमण भएको पुष्टि भएको छ । यससँगै पोखरामा २०६ जना डेंगुबाट संक्रमित बनेका छन् ।
पोखरामा हरेक दिन जसो डेंगुका बिरामीको संख्या बढेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर डा भोजराज गौतमले बताए । उनका अनुसार यो सिजन डेंगुका लागि अनुकुल हो । “हामीले मात्र सचेतना जगाएर केही दिन केही व्यक्तिको घर आँगनमा गएर लामखुट्टेको बासस्थान तथा लार्भानष्ट पारेर हुँदैन । अब यसलाई पूर्णरुपमा नियन्त्रण गर्न हरेक घर घरबाट आफ्नो घर आँगन वरिपरि पानी जम्न नदिने र लामखुट्टेको लार्भालाई नष्ट पार्नु पर्छ,” उनले भने ।
पोखरा वडा नम्बर ८ र ९ मा डेंगुको संक्रमण बढी फैलिएकोमा अझै पनि यसलाई नियन्त्रण गर्न सकिएको छैन् । प्रभावित क्षेत्रमा बढी कवाड संकलन केन्द्रहरु भएको तथा बसपार्कसहितको वर्कसप, होटल तथा रेष्टुरेण्ट भएकोले गर्दा पनि पानी जम्ने ठाउँहरु तथा पानी संकलन गर्ने गरेकोले लामखुट्टेको वृद्धि भएको गौतमले बताए ।
पोखराका विभिन्न अस्पतालमा झुलसहित छुट्टै कोठामा राम्रो रेखदेखका साथ डेंगुका बिरामीको उपचार भइरहेको छ । यसले गर्दा डेंगुका बिरामीमा जटिल समस्या भने देखिएको छैन् ।
एडिस एजिपटाईको पोथी जातको लामखुट्टेले कुनै व्यक्तिलाई टोकेमा डेङ्गु रोग लाग्ने गर्दछ ।
पोखरामा विभिन्न संघसंस्थाको अगुवाइमा डेंगू सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घरदैलो कार्यक्रममा भैरहेको छ । पोखरा ८ मा ६४ जनामा डेंगु संक्रमण भेटिएको छ । त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर ९ मा हालसम्म करिब ५० जनामा डेंगु संक्रमण भेटिएको छ ।





