पोखरा,१२ भदौ – अघिल्लो वर्ष पोखरा उद्योग वाणिज्य संघको चुनावमा उद्योगी÷व्यवसायीहरु प्रष्ट दुई खेमामा विभाजित भए । दुबै खेमामा उद्योगी÷व्यवसायीकै त्यो नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसको आडबलमा तयार भएको थियो । चुनावी प्रचार–प्रसारमा नेता÷कार्यकर्ता नै खटिएका थिए । योग्यता हैन, आस्थाको आधारमा चुनाव सम्पन्न भयो । नतिजा जे आए पनि, निजी क्षेत्र पनि राजनीतिको चंगुलमा फसेको सन्देश प्रवाहित भयो ।
पोखरा मात्रै हैन, देशैभरका संघ÷संस्था र निजी क्षेत्रसमेतमा कब्जा जमाउन राजनीतिक दलहरुले मरिहत्ते गरेका अनेकौँ दृष्तान्तहरु खडा भए । परिमाणत ः दलहरु बलिया भए, संघ÷संस्थाहरु कमजोर हुँदै गए । राजनीतिक दलको आशिर्वाद खोज्दा राज्यपछि देशव्यापी संयन्त्र भएको नेपालको निजी क्षेत्रले आफ्नो शाख गुमायो । निजी क्षेत्र राजनीतिको छायाँबाट मुक्त छैन । त, पोखराकै लेखनाथ उद्योग वाणिज्य संघमा भने व्यवसायीहरुले भने निजी क्षेत्र राजनीतिबाट मुक्त भएको सन्देश दिन खोजेका छन् । पोखराकै लेखनाथ उद्योग वाणिज्य संघले आउँदो कार्यकालको लागि सबै पदमा निर्विरोध हुनेगरी उम्मेदवारी दर्ता भएपछि यो सन्देश प्रवाहित भएको हो । भला, सर्वसम्मत बनाउँदाको समीकरण पनि आस्थाबाटै निर्देशित छ ।
संघको आगामी कार्यकालको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष बलराम ढकालको मात्र उम्मेदवारी परेको छ । यसमानेमा उनी नै अब लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष बन्नेछन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोद श्रेष्ठ, द्धितीय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी र कोषाध्यक्षमा जानुका श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । यसैगरी खुल्ला सदस्यहरुमा भरतबहादुर ओझा, भीमबहादुर सार्की,रामजी पौडेल, धीरजकुमार श्रेष्ठ,बुद्धिप्रसाद बास्तोला,मेनुका श्रेष्ठ,राजेन्द्र पौडेल,राधाकृष्ण अधिकारी र सैलेन्द्रमोहन भट्टराई मात्रै मैदानमा छन् । खुल्ला सदस्यको पद ८ वटा मात्रै हो । यता महिला सदस्यमा दिलकुमारी दाहाल र ईन्दिरा रोका, एसोसियटमा विक्रम कर्माचार्य अनि संस्थागत सदस्यमा सुदेव गुरुङ मात्रै उम्मेदवारको रुपमा प्रस्तुत भए । प्रतिष्पर्धी नै नभएपछि संघको २० र २१ गते हुने अधिवेशनबाट औपचारिक रुपमा ती पदमा बहाल हुनेछन् ।
अहिले बनेको कार्यसमितिमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) समर्थितहरुको बहुमत देखिएको छ । अध्यक्ष बनेका ढकाल नेकपा निकट मानिन्छन् । उनको प्रतिष्र्धी बन्न खोजेका वर्तमान महासचिव भरतकुमार अधिकारी नेपाली कांग्रेसमा आस्था राख्छन् । कांग्रेसमै आस्था राख्ने गीता सुवेदीले पनि उम्मेदवारी दिने घोषणा गरे पनि सर्वसम्मतको अभियानमा उनले उम्मेदवारी दर्ता नै गराइनन् । पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष आत्रेय, उपमहासचिव उपेन्द्र र कोषाध्यक्ष जानुका कांग्रेस निकट मानिन्छन् । सदस्यहरुमा भरत ओझा, बुद्धि बास्तोला, सैलेन्द्रमोहन भट्टराई,एसोसियट विक्रम कर्माचार्य र संस्थागत सदस्य सुदेव गुरुङ पनि कांग्रेस निकट हुन् ।
बलराम अहिलेको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् । वर्तमान अध्यक्ष कृष्णहरि भण्डारीभन्दा अघि नै उनी अध्यक्ष बन्नुपर्ने थियो । तर, भण्डारीले उनलाई उछिने । अध्यक्षको स्वभाविक दावेदार बलरामलाई पाखा लगाउन छुट्टै गुट बनाएर ‘वार कि पार’को लडार्ईं लड्नुपथ्र्यो । कांग्रेस निकट व्यवसायीसँग उनलाई टक्कर दिने व्यक्तित्व भए पनि स्वभाविक दावेदारलाई पाखा लगाएर संघमा राजनीति भित्र्याउन प्रभावशाली पूर्वअध्यक्षहरु तयार भएनन् । पूर्वअध्यक्षहरुको साथ नपाएपछि अध्यक्षको प्रत्यासी बन्न खोजेकाहरु पछि हट्ने वातावरण बन्यो । संघलाई राजनीतिक दलको छायाँ नबनाउने सर्तमा सबै पूर्वअध्यक्षहरु सहमत भएपछि पदाधिकारी रहेका सबैको एक पद बढुवा भयो । बाँकी रहेका उपमहासचिव र कोषाध्यक्षमा नेपाली कांग्रेस निकटका व्यक्तित्वहरुलाई ल्याउन अध्यक्षका प्रत्यासी बलराम पनि तयार भए ।
‘बलरामलाई माइनस गर्नु भनको राजनीति गर्नु हो, त्यसो गर्दा सबै कुरा बिर्सेर राजनीति गर्नुप¥यो’, समीकरण मिलाउन क्रियाशिल रहेका एक पूर्वअध्यक्षले भने,‘अनि हामीले भएका सबैलाई बढोत्तरी गर्दै संस्थाको हितको लागि सहमति गराएका हौँ ।’ लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै पनि स्थापनापछि सर्वसम्मत नेतृत्व चयन भएको यो पहिलो पटक हो । २०५४ सालमा स्थापित संघले खासगरी लेखनाथ क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा विशेष योगदान दिँदै आएको छ । सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भएपछि त्यसलाई वडैपिच्छे पुगेर अनुमोदन पनि गराइएको ती पूर्वअध्यक्षले बताए । स्रोतका अनुसार अध्यक्षको प्रत्यासी बन्न तयार भएका वर्तमान महासचिवलाई सल्लाहकारमा ल्याउने सहमति भएको छ । यसैगरी संघका सबैजसो पूर्वअध्यक्षहरु सल्लाहकारको रुपमा रहनेछन् भने तीन जना मनोयनमा पनि भागबण्डा मिलाउने मौखिक सहमति बनेको छ । त्यसो गर्दा नेतृत्व नेकपा समर्थित भए पनि कार्यसमितिमा लगभग ५०–५० को हाराहारीको अवस्था आउनेछ । संघमा पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, चतुराखर अधिकारीदेखि बाबुराम गिरीसम्मको राम्रो पकड भएकाले गतिविधिमा पनि खासै फरकपन नआउने स्रोतले दावी ग¥यो । संघको इतिहासमा पहिलोपटक कोषाध्यक्षमा महिलाको उपस्थिति पनि यसैपटक भएको छ । ‘यो समावेशी टिम हो , हामीले सबैलाई कन्भिन्स गरियो, राजनीतिक दलहरुलाई व्यापारीको संस्थामा हात नहाल भनियो’, अर्का पूर्वअध्यक्षले भने,‘ राजनीति हावी हुँदा पोखराको भद्रगोल भयो, कम्तिमा हामीले व्यापारी मिल्नुपर्छ भन्ने सन्देश देशभर प्रवाहित गरेका छौँ ।’





