काठमाडौं,२३ साउन – अभिनेत्री मिरुना मगर अहिले चर्चामा छिन् । उनको चर्चाको कारण भोलीबाट प्रदर्शनमा आउने फिल्म बनेको छ । ‘साइनो’को उनी मुख्य अभिनेत्री हुन् । यसको कारणले पनि उनी चारैतिर मिडियामा छाइरहेकी छन् ।‘लालपूर्जा’बाट अभिनयमा डेब्यू गरेकी उनको साइनो तेस्रो फिल्म हो । ‘लालपूर्जा’मा व्यवसायिक सफलता हात पार्न नसकेपनि अभिनयबाट भने राम्रो प्रतिक्रिया पाएकी उनले दोस्रो फिल्मको रुपमा अभिनेता प्रदीप खड्कासँग ‘रोज’ गरेकी थिइन् ।उक्त फिल्मले पनि व्यवसाय गर्न सकेन । तर अभिनयको हिसावले भने उनलाई चर्चा दिलाउने काम गर्यो । सोही कारण उनले ‘साइनो’ पाएकी हुन् । ‘साइनो’ भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा उनीसँगै नव–नायक राजकुमार, अभिनेत्री नीता ढंगानाको पनि मुख्य भूमिका छ । फिल्मको कथावस्तु राम्रो भएकोले दर्शकलाई निराश नबनाउनेमा उनी बताउँछिन् ।‘‘साइनो’ मेरो करिअरका लागि महत्वपूर्ण छ’ उनले भनिन् ‘राम्रो स्क्रिप्ट र राम्रो टिम भएका कारण फिल्म चल्छ भन्ने लागेको छ ।’ नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापाले यो फिल्म निर्माण गरेकी हुन् । फिल्ममा आफ्नो भूमिका मन परेको कारण अभिनय गरेको मिरुना बताउँछिन् । ‘लालपूर्जा’ र ‘रोज’मा शहरिया युवतीको भूमिका निभाएकी उनले ‘साइनो’मा गाउँले केटीको भूमिका निर्वाह गरेकी छन् । ‘फिल्ममा मेरो कडा, जिद्धी र छुच्ची गाउँले केटीको भूमिका रहेको छ’ उनले भनिन् ।पछिल्लो समय अभिनेत्रीमा पारिश्रमिक धेरै देखाउने होड छ । आफु भने क्यारेक्टर कमजोर छ भने पारिश्रमिक धेरै भएपनि फिल्म नगर्ने बताउँछिन् ।‘साइनो’ चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा बनेको हो । रमेश थापाको निर्देशन रहेको फिल्ममा भुवन थापा चन्द, बसुन्धरा भुषाल,मदनदास श्रेष्ठ,रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ,राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका कलाकारको पनि अभिनय छ । फिल्म देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो ।





