शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आज तीज पर्व मनाइँदै

आज तीज पर्व मनाइँदै


  • Dhorpatan News
  • भाद्र १६ २०७६, सोमबार

काठमाडौं, १६ भदौ –  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।  संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाए ।

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भने । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए ।  श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराईले बताए ।  “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, उनले भने। नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेद्कारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व  छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि समितिका अध्यक्ष गौतमले बताए ।  जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो ।
पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->