काठमाडौं, १७ भदौ -सर्वोच्च अदालतको आदेशमा रिहा भएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।अदलत परिसरबाटै उनलाई मंगलवार प्रहरीले पुन गिरफ्तार गरेको हो । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट गत भदौ ६ गते गिरफ्तार गरेको थियो ।
गैरन्यायीक गिरफ्तारीको बिरोध तथा रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघका तर्फबाट जन्मदेव जैशीले दायर गरेको बन्दी प्रत्यक्षकिरणको रिट माथि आज भएको बहसपछि हमाललाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।मंगलवार भएको बहसपछि हमाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिहा गर्न आदेश दिएको हो ।
तर प्रहरीले अदालत परिसरबाटै हमाललाई पुनः गिरफ्तार गरेको हो । हमाललाई पक्राऊ गरि उदयपुर लैजान लागेको बुझिएको छ ।
बिचार र आस्था राखेकै आधारमा पत्रकार तथा लेखकमाथि धरपकड बढाउने, अनाबस्यक दुखः दिने, मानसिक तनाब दिने जस्ता कार्य गम्भीर मानवअधिकार उलंघन तथा प्रेस अभिव्यक्ति स्वतन्त्रता बिरोधि हर्कत भएको भन्दै पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोध भएको छ ।
यता, जनपत्रकार संगठन नेपालले विचार र आस्थाका आधारमा पत्रकारको गिरफ्तारी बन्द गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकार सँग माग गरेको छ ।उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश संयोजक हुन् ।





