पोखरा, १८ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ १० दिने बेलाएत भ्रमण सकेर स्वदेश फिर्ता भएका छन । मंगलवार पोखरा आएका मुख्यमन्त्री गुरुङले पोखरा विमानास्थलमा पत्रकारहरुसंग कुरा गर्दै आफ्नो भ्रमण फलदायी भएको बताएका थिए ।प्रदेशमा लगानी भित्राउनकोलागि आफुले महत्वपूर्ण छलफल गरेको उनले बताए।
गुरुङले भने , ‘वेलायतमा बस्ने नेपालीहरु नेपालमा लगानी गर्न इच्छुक रहेका छन, प्रदेशको पर्यटन र खेलकुदको क्षेत्रमा लगानी गर्न वेलायतबासी नेपाली उत्साहित देखिए ।’
एनआरएन वेलायत र त्यहाँ व्यावसाय गरेर बसेका नेपालीहरुसंगको छलफलको क्रममा प्रदेशमा लगानीका लागि इच्छा देखाएको र गण्डकी प्रदेशमाया लगानी मैत्री वातावरण बनाउने आफुले बचन दिएको उनले बताए । त्यस्तै अन्तराष्ट्रिय म्याराथन तथा फुटवल लगायतका खेलकुद क्ष्ँेत्रमा साहरा युके लगायतका सस्थाले व्यवस्थित लगानीको इच्छा देखाएको पनि मुख्यमन्त्री गुरुङले जानकारी दिए । मुख्यमन्त्री गुरुङले भुपु गोर्खा सैनिकहरुसंग समेत सामुहिक भेट गरेका थिए । भेटमा उनीहरुले आफुहरुले भोगिरहेको विभेदको विषयमा सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेको उनले बताए ।
मुख्यमन्त्रीको वेलायत भ्रमणको क्रममा पोखरा सहर र वेलायतको म्यानचेष्टर सिटीवीच भागिनी सम्वन्ध कायम गर्ने विषयमा त्यहाको प्रतिनिधिसंग छलफल भएको छ । वेलायतका नेपालीभाषी जनप्रतिनिधि नर्थ योर्कसायरका मेयर जनक शर्मा र लण्डनका डेपुटी मेयर लक्ष्यु गुरुङसंग भेटेर दुइ पक्षीय हित र सहयोग सम्वन्धमा छलफल गरेको मुख्यमन्त्री गुरुङले बताए । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यपकहरुको समुहसंग समेत मुख्यमन्त्री गुरुङले भेटेका थिए । भेटको क्रममा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवास्था र विभिन्न अध्ययन अनुसन्धान नेपाललाई सघाउने बचन प्राध्यापकहरुले दिएको मुख्यमन्त्री गुरुङले बताए । समंग्रमा आफ्नो वेलायत भ्रमण सफल भएको र यसले प्रदेशमा लगानी बढाउने महत्वपुर्ण टेवा पुग्ने मुख्यमन्त्री गुरुङको दावी छ ।
वेलायतमा आयोजना हुने नेपाली मेला भाग लिनका लागि मुख्यमन्त्री गुरुङ भदौ ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । विमानास्थलमा मुख्यमन्त्री गुरुङलाई प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन तथा वन वाताबरण मन्त्री विकास लम्साल, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपाली र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल लगायतले स्वागत गरेका थिए ।





