पोखरा,२१ भदौ – उद्योग तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले समृद्ध नेपाल ः सुखी नेपालीको नारा जादूको छडी नभएको बताएका छन् । उनले सरकारले राम्रा काम गरे पनि त्यसका विरुद्ध भ्रम फैलाइएको जिकिर गर्दै समृद्धिको लागि सबै दलहरु एकतावद्ध भएर अगाडि बढ्न्ुपर्नेमा जोड दिए ।
शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको २३ औं साधारण सभा एवं १२ औं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री यादवले अरुलाई लडाएर हैन कि लडेकोलाई उठाएर अघि बढे समृद्धि पाइने बताए । उद्योग वाणिज्य संघ विशुद्ध व्यवसायीक संस्था एवं सवै राजनीतिक दलहरुको साझा संस्था भएकोले यसलाई राजनैतिक आरोप प्रत्यारोप गरी जुहारी खेल्ने ठाउँ बनाउन नहुनेमा पनि उनले जोड दिए ।सरकार देशमै रोजगारी वढाउन, व्यापार घाटा कम गर्न, उत्पादन बढाउन प्रयत्नशील रहेको उनको भनाई थियो । नयाँ कुराको थालनी गर्ने बेलामा विभिन्न तत्वहरुबाट भ्रम छर्दै जनतामा निराशा बढाउने प्रयास गरिरहेको बताउँदै यसतर्फ सचेत हुन उनले आग्रह गरे ।
नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई एवं शुभकामना व्यक्त गर्दै मन्त्री यादवले उद्योग वाणिज्य महासंघले पनि लेखनाथ उद्योग वाणिज्य संघमा भएको सबै पदमा भएको निर्विरोधको सिको गर्नुपर्ने बताएका थिए । कार्यक्रम संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको थियो ।
अध्यक्षमा ढकाल
लेखनाथ उद्योग वाणिज्य संघको आगामी कार्यकालको अध्यक्षको रुपमा बलराम ढकाल चुनिएका छन् । उम्मेदवराी दिने क्रममा उनको मात्र उम्मेदवारी परेपछि स्वतः उनी अध्यक्ष बनेका थिए । निर्विरोध निर्वाचिनत कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेय, प्रथम उपाध्यक्षमा विनोद श्रेष्ठ, द्धितीय उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी र कोषाध्यक्षमा जानुका श्रेष्ठ रहेका छन् । यसैगरी खुल्ला सदस्यहरुमा भरतबहादुर ओझा, भीमबहादुरसार्की,रामजी पौडेल, धीरजकुमार श्रेष्ठ,बुद्धिप्रसाद बास्तोला,मेनुका श्रेष्ठ,राजेन्द्र पौडेल,राधाकृष्ण अधिकारी र सैलेन्द्रमोहन भट्टराई महिला सदस्यमा दिलकुमारी दाहाल र ईन्दिरा रोका, एसोसियटमा विक्रम कर्माचार्य अनि संस्थागत सदस्यमा सुदेव गुरुङ रहेका छन् ।





