शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रुप फेरीएको मानव बेचबिखन

रुप फेरीएको मानव बेचबिखन


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७६, शनिबार

बागलुङ, २१ भदौ – एक बर्ष पहिला जिल्लाको पश्चिम क्षेत्रबाट तीन जना १५/१६ बर्षका किशोरीहरु जिल्ला सदरमुकाम बागलुङ बजारमा आई पुगे । बुर्तिबाङबाट उनीहरुलाई लिएर आएको चारपांग्रे गाडी बागलुङको एक चोकमा छोडेर हिँड्यो । पोखरा जान भनेर अपरिचत मानिसहरुले उनीहरुलाई बागलुङसम्म ल्याएका थिए । बजार आएपछि अरु कोही लिएर आउने भन्दै उनीहरुलाई चोकैमा छोडियो । केही समय कुरे तर कोही लिन नआएपछि तत्कालिन अल्पकालिन महिला सेवा केन्द्रले उनीहरुको बिषयमा जानकारी पायो र सोध खोज गरेर उनीहरुकै घर फिर्ता पठायो ।
अफिसर्स क्लबको सभाहलमा बागलुङ नगरपालिका–३ कि वडा अध्यक्ष लक्ष्मी बास्कोटाले उल्लेखित विवरण सुनाईरहँदा हलमा सहभागी सबै चुपचाप सुनिरहेका थिए । उनले सुनाएको घटनाले सबैको मनमा छोयो । शुक्रबार १३ औं मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवस मनाउन जिल्ला सदरमुकाममा रहेका सरोकारवालाहरु अफिसर्स क्लबको भवनमा जम्मा भएका थिए । नेपाल सरकारले कानुन बनाएर बेचबिखन बिरुद्धको अभियान चलाएको दशकौं बितेको छ । तर समस्या भने नयाँ–नयाँ रुपमा देखिन थालेका छन् । यो समस्याले भने नयाँरुप धारण गर्न थालेकोमा सरोकारवाला चिन्तित देखिन्थे । अशिक्षा र बढ्दो प्रबिधिसँगै मानव बेचबिखन तथा ओसारपसारका घटनाको प्रकृति फेरीएको सरोकारवालाले बताए ।
‘ग्रामीण क्षेत्रमा रहेको अशिक्षा र सूचना प्रबिधिको विकाससंगै धान्नै गाह्रो हुने गरी बिकृती बढेको छ’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले अनुसन्धानको अनुभव सुनाउँदै भने ‘मानव बेचबिखन तथा ओसारपसारलाई सामाजिक सञ्जालले सजिलो बनाएको पाईन्छ ।’ जिल्लामा प्रहरी तथा अदालतमा आउने मुद्धाहरु बाहेक मानव बेचबिखन तथा ओसारपसारका घटनाको तथ्यांक त छैन् तर राष्ट्रिय रुपमा रहेको यो समस्या बागलुङमा पनि रहेको उनीहरुको भनाई थियो । मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध बनाईएका कानुनको कार्यान्वयनमा देखिएको उदासिनता र ग्रामिण तहसम्म यसबारे चेतना फैलाउन नसकेका कारण समस्याहरुले नयाँ रुप लिने गरेको मानवअधिकार तथा शान्ति समाज बागलुङका संयोजक राजेन्द्र पौडेल बताउँछन् । नेपालमा गत आर्थिक बर्षमा १ सय ५९ वटा यस्ता घटना भएका छन् । जसमध्ये १ सय २६ घटनाको मात्रै मुद्धा दर्ता भएको तथ्यांक छ । जसमध्ये केहीको फैसला भएको छभने केही बाँकी छन् । अधिबक्ता अखिलनाथ शर्माले प्रस्तुत गरेको कार्यपत्र अनुसार यो समस्या अन्तराष्ट्रिय स्तरमा छ । बिकासोन्मुख राष्ट्र भएकाले नेपालमा बढी प्रभाव देखिने गरेको छ । मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध जनचेतना फैलाउने भन्दै शुक्रबार बागलुङ नगरपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको कार्यक्रमले मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध चेतना सिर्जना गर्न सहयोग पुग्ने सहभागीहरुले बताए । ‘मानव बेचबिखन तथा ओसारपसारको मुख्य कारण भनेको बेरोजगारी हो’ महिला अधिकार कर्मी सिता शर्माले भनिन् ‘गरिबको घरमा चुलो बल्ने वातावरण बने यो समस्या कम हुन्छ ।’
चेतना र रोजगारीलाई सँगै लैजान सकेमा मात्रै यो समस्या समाधान हुने उनीहरुको भनाई थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका अधिकृत धिरेन्द्र पन्तले मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध राज्य संयन्त्र र नागरिक सँगसँगै लाग्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला सरस्वती शर्मा र सञ्चालन रचना पौडेलले गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->