काठममाडौं, २५ भदौ – सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच फलोअपका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओली बुधबार बिहान पौन नौ बजेको समयमा महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार फलोअपका लागि पुगेका प्रमको स्वास्थ्य जाँच सुरू गरिएको छ। तर प्रधानमन्त्रीको सचिवालयका कुनै पनि अधिकारीले यसबारे बोल्न इन्कार गरे । प्रमको उपचारमा संलग्न चिकित्सकहरूले पनि प्रतिक्रिया दिन अस्वीकार गरे।
यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा प्रमको सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।





