पर्वत,४ असोज – गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले प्रहरीले व्यवहारिकता हेर्न खोज्दा नै प्रहरी कमजोर बनेको बताएका छन् ।
प्रदेशका ११ ओटै जिल्लामा ट्राफिक व्यवस्थापनलाई बलियो बनाउने गरी प्रत्येक जिल्लामा पुगेर अन्तरक्रिया गर्ने अभियान अन्तर्गत शुक्रबार पर्वत आएका उनले प्रहरीको काम नियम र कानूनलाई कडाईका साथ पालना गर्ने र गराउने भएकोले व्यवहारिकताका नाममा नियम र कानूनलाई उल्लघंन गर्न नुहुने बताए । अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरुले सवारीहरुले थोरै नियम उल्लघंन गर्दैमा पनि ट्राफिक प्रहरीले कारबाही स्वरुप जरिवाना गर्ने गरेको भनेर गुनासो गरेपछि सोही प्रसंगलाई प्रष्ट पार्दै प्रहरी उपरीक्षक घिमिरेले व्यवहारिकताका आधारमा काम गर्दै जाने हो भने प्रहरीबाट नै गल्ती हुने र त्यसले नै नियम उल्लघंनलाई बढावा दिने बताए ।
प्रदेशभरी नै जति मात्रामा ट्राफिक प्रहरीको आवश्यकता रहेको छ सोही अनुसार दरबन्दी नहुँदा समस्या भएको बताउँदै एक जना मात्रै ट्राफिक प्रहरीसँग काम गर्ने जोश र आँट हुने हो भने धेरै संख्यामा प्रहरी नचाहिने पनि उनको भनाई छ । सो अवसरमा उनले गण्डकी प्रदेशभर १ सय ६७ जना ट्राफिक प्रहरी दरबन्दी रहेकोमा अहिले काजमा सरुवा गरेर २ सय ८५ जना रहेको र पर्वत जिल्लामा ९ जनाको मात्र दरबन्दी रहेको जानकारी गराए । गण्डकी प्रदेशको ट्राफिक प्रहरीले चालकलाई पनि ज्याकेट लगाउनुपर्ने नियम कार्यान्वयनमा लैजाँदै गरेको तथा बागलुङ र गोरखा जिल्लामा कार्यान्वयनमा पनि गइसकेको प्रहरी उपरीक्षक घिमिरेको भनाई छ । उनले अन्तरक्रिया कार्यक्रममा सहभागी भएकाहरुको गुनासोको सुनुवाई गर्दै पोखरा बागलुङ सडकखण्ड अन्तरगत कास्कीको नागडाँडादेखि हेम्जासम्म स्तरोन्नतीका काम चलिरहेको बेलामा सवारी आवतजावत गर्न कठिनाई भएको सुनेकोले हलुका सवारीहरुलाई सहज तरीकाले नागडाँडाबाट सराङकोट हुँदै पोखरा पुग्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालय कास्कीसँग कुरा गर्ने आश्वासन दिए ।
कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वत प्रशासन र प्रहरीले आवश्यक सुरक्षा रणनीति तयार पारिरहेको जानकारी गराउँदै चाडवाडको बेलामा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनका संचालक र जुवातास खेल्नेहरुलाई कडा कारबाही गरिने बताईन । चाडपर्वका बेलामा यात्रुहरुको चाप बढी हुनेभएकोले रातो नम्बर प्लेट भएका सवारीले पनि यात्रु बोक्न दिने की ? भन्ने बिषयमा मिल्ने सम्म सहज वातावरण बनाउन थालिएको तर जुवातास खेलेको सम्बन्धमा कडा कारबाही गरिने जानकारी दिईन । यस्तै, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समाजमा शान्ति, सुरक्षा र अमनचयन गर्न प्रहरीले मात्रै नसक्ने भएकोले बर्दी बिनाका प्रहरी मानिने नागरिकले पनि उत्तिकै सघाउनुपर्ने बताए । सामुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र समुदायको बीचमा अन्तर घटाएको बताउँदै उनले काम गर्न सजिलो भएको पनि उल्लेख गरे ।
कार्यक्रममा जनप्रतिनिधिहरु, उद्योगी तथा व्यवसायी, यातायात व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले जिल्लाको यातायाता व्यवस्थापन, भाडादर, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनको बिषय, अव्यवस्थित सडक तथा बसपार्क, चाडवाड केन्द्रित सुरक्षा योजना लगायतको बिषयमा प्रहरीसँग प्रश्न गरेका थिए ।





