पोखरा,९ असोज – करिब १८ वर्षअघि पोखराका पर्यटन व्यवसायीहरु पर्यटक बोलाउन देश दौडाहमा निस्के । उदेश्य थियो,‘पोखरामा पर्यटक बोलाउनु ।’ त्यो बेला नेपालीमा घुम्ने बानी बसेकै थिएन । नेपालीहरु कि त तीर्थ जान्थे कि त घुम्नै गए पनि आफन्तकहाँ बस्थे । होटलमा बस्ने, रमाइलो गर्ने चलन नभएको त्यो बेला पोखराकै पर्यटन व्यवसायीले पनि नेपालीलाई ‘ अतिथि’ मान्दैनथे । देश आन्तरिक द्धन्द्धमा थियो । बम र बारुदको गन्धले घरबाट निस्कने हिम्मत जुटाउनै मुस्किल ! होटलहरु खालि भएको बेला तत्कालीन क्षेत्रीय होटल संघ पोखराका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले योजना बनाए,‘ अब पोखरामा नेपालकै मान्छे बोलाउने ।’
उनको अभियानलाई युवा व्यवसायी विप्लव पौडेल, विकल तुलाचनहरुले साथ दिए । नेपालीलाई निम्तो त दिने तर आएकालाई के दिने ? उनीहरुले पोखरा घुम्न आउने नेपालीलाई छुटको प्याकेज बनाए । नेपालका प्रमुख सहरहरुमा ‘जाऊँ है पोखरा’ अभियान चलाए । व्यवसायी र कलाकारहरुको टोलीले देशका प्रमुख सहरहरुमा सांस्कृतिक कार्यक्रम ग¥यो । रामभक्त जोजिजु, इतु जोजिजु, अमृत गुरुङ, नवराज बराललगायतले गीत गाए, यादवचन्द्र भुर्तेलले आफ्नो कला देखाए । होटल संचालकहरुले हरेक सहरमा मोवाइल मेला नै गरे । च्याङ्ग्राको सुकुटी र उवाको रक्सी पनि चखाए अनि पोखरा आउने निम्तो बाँडे ।
‘आन्तरिक पर्यटक प्रवद्र्धनको लागि गरिएको त्यो कोषेढुंगा थियो’,जाऊँ है पोखराका परिकल्पनाकार विश्वशंकर पालिखेले भने,‘ नेपालको पर्यटनमा संगठित रुपले चलाइएको त्यो अभियानले पोखराको ब्राण्डिङ ग¥यो र नेपालीमा घुम्ने बानीको विकास गरायो ।’ उनका अनुसार त्यो अभियानमा व्यवसायीहरुले नै लगानी गरेका थिए । केही सहयोग नेपाल पर्यटन बोर्डबाट पनि भएको थियो । अभियान अहिले पनि निरन्तर छ । अहिलेको नेपाल होटल संघ, गण्डकीले यो अभियानलाई भारतसम्म पनि पु¥याएको छ । चलिए पोखरा अभियान भारतीय सहरहरुमा चलेकै छ । नाटा गण्डकी च्याप्टरले पनि यस्तो प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ भने टान पश्चिमाञ्चलले नयाँ पदयात्रा मार्ग पहिचानसहितका प्रवद्र्धनात्मक कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रममा समावेश गरिरहेको छ ।
करिब १८ वर्षपछि गण्डकी सरकारको पर्यटन मन्त्रालयले ठ्याक्कै यस्तै कार्यक्रम चलाएको छ । ‘आन्तरिक भ्रमण वर्ष –२०१९’ सकिन करिब ३ महिना बाँकी हुँदा बल्ल गण्डकी प्रदेश सरकारले आन्तरिक प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वमा रहेको ५० सदस्यीय टोली विहीबार विराटनगर, वीरगञ्ज, बुटबल र काठमाण्डौको प्रवद्र्धनात्मक भ्रमणमा निस्केको हो । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ दिने प्रवद्र्धनात्मक टोलीलाई बिदाई गरे । बिदाईका बेला मुख्यमन्त्री गुरुङले नै ढिला गरि प्रवद्र्धनात्मक कार्यक्रम भएकोमा असन्ुतष्टी जनाए । ‘यो कार्यक्रम जनवरी वा फ्रेवुअरीमा सुरु हुनुपथ्र्यो’, उनले भने,‘ढिला गरि सुरु भएको छ, त्यसको क्षतिपूर्ति ३ महिनामा गर्नुपर्छ ।’उनले नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारले नै घोषणा गरेको गण्डकी भ्रमण वर्ष २०२२ सम्म २० लाख पर्यटक ल्याउन छिमेकी देशमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उद्घोष पनि गरे ।
गण्डकीका पर्यटनमन्त्री लम्सालले चाहिँ अबका ३ महिनामा १५ लाख पर्यटक पोखरा भित्र्याउने उदेश्यका साथ प्रवद्र्धनात्मक कार्यक्रम गरिएको दावी गरे । उनले पोखरा भ्रमणमा आउने पर्यटकलाई छुटसहितको प्याकेजका कार्यक्रमको पनि घोषणा गरे । गौरवशाली गण्डकी नारासहितको छुटमा ५ वटा प्याकेज दिइएको छ । पश्चिमाञ्चल होटल संघसँगको समन्वयमा होटलमा १५ प्रतिशत, रेवानसँगको सहकार्यमा रेष्टराँमा १० प्रतिशत,साहशिक पर्यटनसँग सम्बन्धित प्याराग्लाइडिङसहितका खेलमा १० प्रतिशत,नाट्टासँगको सहकार्यमा टुर प्याकेजमा १५,पर्यटकीय बाहनमा १५,टे«किङका सामाज किन्दा अनि इम्ब्रोइडरी पसलमा पनि त्यति नै छुटको व्यवस्था छ । यसैगरी टानसँगको सहकार्यमा पदयात्रामा निःशुल्क पदथप्रदर्श दिइने पनि प्याकेजमा उल्लेख छ ।पर्यटन मन्त्रालयले सरोकारवाला निकायहरुसँगको सहकार्यमा यो प्याकेज घोषणा गरेको जनाएको छ ।
पर्यटनमन्त्री विकास लम्सालले आन्तरिक भ्रमण वर्षभर करिब १० लाखवटा सहुलियत कार्ड बाँडिने बताएका छन् । उनका अनुसार विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार बुटबलबाट यो कार्ड बाँड्न सुरु गरिनेछ । ‘सरोकारवाला निकायहरुसँग बसेर नै यो सम्झौता भएको हो, हामी कार्डमा नम्बर पनि लगाउँछौँ, कार्ड लिएर आउने ग्राहकलाई भनेको छुट नदिएमा कारवाही हुन्छ’, उनले भने,‘ यो योजना यो वर्षभर लागु गरिनेछ ।’ आन्तरिक पर्यटकलाई निम्तो दिन निस्केको मन्त्रालयको टोलीले हरेक जिल्लामा पुगेर सहुलियत कार्ड बाँड्ने र यसको प्रभावकारी कार्यान्वयमा पनि जोड दिइने उनले बताए । आधिकारिक संस्थासँग गरिएको सम्झौता अनुसार आधिकारिक संस्थामा आवद्ध होटल वा व्यवसायीकहाँ गएर छुट माग्न पनि उनले सर्वसाधारणसँग आग्रह गरे । पर्यटन व्यवसायीहरुले चाहिँ भ्रमण वर्षको अन्त्यमा अनावश्यक रुपले ठूलो रकम खर्चन लागेको आरोप लगाएका छन् । पर्यटन मन्त्रालयले एक वर्षअघि होमस्टेलाई बाँडेको पैसाले सकारात्मक परिणाम दियो कि दिएन भन्ने मूल्याङ्कन गर्न छाडेर राज्यकोषको दोहनको लागि मात्रै प्रदेश सरकारको अभियान आएको उनीहरुको टिप्पणी छ ।
‘यो समय भनेको साहशिक पर्यटक आउने समय हो,यो कार्यक्रम ५÷६ महिनाअघि नै गर्नुपथ्र्यो, नभए निजी क्षेत्रलाई जिम्मा दिनुपथ्र्यो’, होटल संघका एक पदाधिकारीले भने,‘ यो विकासे बजेट असारमा सकेजस्तै काम हो ।’
खर्च ३६ लाख ५० हजार
भ्रमण वर्ष सकिनैलाग्दा घोषित यो कार्यक्रमको लागि पर्यटन मन्त्रालयले ३६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । भ्रमण दलमा रहेका सदस्यहरु तथा त्यहाँ समावेश कलाकारको लागि सो रकम छुट्याइएको हो । भ्रमण दलमा गलबन्दीका गायक प्रकाश सपुतसहित ५ जना लोककलाकार रहेका छन्





