काठमाडौँ, १४ असोज – यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेमार्फत राजीनामा दिएका हुन् । महराले आफ्नो चरित्रमाथि गम्भीर प्रश्न उठाइ लगाइएको आरोपको छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएको बताएका छन् ।‘सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनाका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको छु’, महराले भनेका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाकाे आकस्मिक सचिवालय बैठकले सभामुख महरालाई राजीनामा दिन निर्देशन दिएको थियो । महरामाथि संसद सचिवालयकी महिला कर्मचारीलाई ‘बलात्कार गरेको’ आरोप लागेको छ । आइतबार राति ती महिलाको कोठामा पुगेर महाराले जर्वजस्ती करणी गरेको पीडित महिलाको आरोप छ ।





