पोखरा,१६ असोज – कास्कीको मर्दी हिमाल पदयात्रामा हिँडेका एक पर्यटकको मंगलबार कास्कीकै बादलडाँडामा मृत्यु भएको छ । मृत्यु हुनेमा पासपोर्ट नम्बर एए ७००५६२ नम्बरको राहदानीबाहक थाइल्याण्डका ५५ वर्षीय डुंगेटाविसभ सोमाची भएको प्रहरीले जनाएको छ । उनी यही असोज १० गते आफ्नो टोलीसहित मर्दी हिमाल बेसक्याम्पबाट मर्दी हिमालतिर गएका थिए । पदयात्राको क्रममा बिरामी भएका उनलाई लेक लागेपछि तल रहेको होटल ३६० मा ल्याइएको थियो । सोही होटलमा आराम गर्दै गरेका उनको अचानक मंगलबार बिहान निधन भएको हो । उनको शवलाई काठमाण्डौ पठाइएको छ । कास्कीको उत्तरी भागमा रहेको मर्दी हिमाल पदयात्रा मार्ग पछिल्लो समय चर्चामा छ । अन्नपूर्ण हिमश्रृंखलासहित मर्दी हिमालको सुन्दर दृष्य देख्न सकिने यो पदयात्रा मार्गको अन्तिम बिन्दु अर्थात मर्दी हाइक्याम्प ४ हजार ५ सय मिटरको उचाईमा रहेको छ । पोखराबाट धम्पुस,पोथान, फरेष्ट क्याम्पपछि बादल डाँडा आउँछ । बादलडाँडापछि बल्ल हाइक्याम्प आइपुग्छ ।





