पोखरा,१७ असोज – गण्डकी प्रदेश सरकारले मुस्ताङको जोमसोमबाट सुत्केरी हुन नसकेकी एक महिलाको उद्दार गरेको छ । मुस्ताङको जोमसोममा ज्याला मजदुरी गर्दै आएकी १८ वर्षीया आईकुमारी बिकलाई शुक्रबार साँझ हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।
सुत्केरी हुन नसकेकी बिक श्रीमानको साथ केही महिनाअघि काम गर्ने शिलशिलामा मुस्ताङ पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घर भएकी बिकको ७ महिनाको गर्भ रहेको र शुक्रबार उनलाई सुत्केरी व्यथा लागेको थियो । पेट, दम र रक्तचापबाट पीडित उनलाई शुक्रबार दिउसो जोमसोम अस्पतालमा पु¥याइएको थियो ।
अस्पतालले सुत्केरीलाई पोखरा लैजान सिफारिस गरेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार सुत्केरी बिरामीको अवस्था गम्भीर रहेकाले प्रदेश सरकार संगको समन्वयमा हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।





