आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेलको सम्भाव्यता अध्ययन र काठमाडौं-केरुङ सुरुङ बनाउने राष्ट्रपति सीको घोषणा

रेलको सम्भाव्यता अध्ययन र काठमाडौं-केरुङ सुरुङ बनाउने राष्ट्रपति सीको घोषणा


  • Dhorpatan News
  • असोज २६ २०७६, आइतबार

काठमाडौं,२६ असोज – नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्। दुईदिने भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त घोषणा गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सम्मानमा रात्रिभोज आयोजना गरेकी थिइन्।
‘हामी चीन-नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं,’ आफ्नो सम्बोधन क्रममा राष्ट्रपति सीले भने, ‘काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं। अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं।’ दुई देशबीच बहुआयामिक ‘कनेक्टिभिटी’ सञ्जाल निर्माण गर्न बढीभन्दा बढी नाका खोलेर सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन हामी मद्दत गर्नेछौं,’ उनले भने, ‘यसबाट दुई देशका जनताबीच समझदारी बढ्नेछ भन्ने मलाई आशा छ।’
२०७२ सालको भुइँचालोपछि नेपालको पुनर्निर्माण परियोजनामा सक्रियतासाथ सहयोग गरिरहेको जानकारी दिँदै राष्ट्रपति सीले सन् २०२० मा मनाउन लागेको नेपाल भ्रमण वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने पनि बताए। त्यस अवधिमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

दुई देशका विभिन्न सहरलाई ‘भगिनी सहर’ का रूपमा अघि बढाउन उत्प्रेरित गर्ने उल्लेख गर्दै सीले भने, ‘लुम्बिनी बुद्धको जन्मस्थल हो। चीनमा बुद्ध धर्म मान्नेहरूको संख्या संसारमै बढी छ। आगामी दिनमा बुद्ध धर्म मान्ने चिनियाँहरू बढीभन्दा बढी नेपाल घुम्न जानेछन्।’

उनले जलवायु परिवर्तनप्रति नेपाली पक्षको चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतामा नेपाल पक्षको उपयुक्त मागलाई चीनको समर्थन रहने बताए। ‘हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाउँदै विशेषगरी हिमाली क्षेत्र र सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं,’ सीले भने।

आफ्नो पहिलो नेपाल भ्रमणमा नेपाली नेताहरूसँग भेटेर दुई देशबीच सम्बन्धका नयाँ खाका र योजना बनाउन सकेकोमा आफूलाई अत्यन्तै खुसी लागेको उनले उल्लेख गरे। यो चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको पहिलो नेपाल भ्रमण हो।

संबोधनको पूर्ण पाठ:
नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् । चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुवीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको वीचमा केही समस्या छैन, मित्रता मात्र छ । सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाई सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदार सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशवीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ । हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं । मलाई आशा छ, दुई देशका जनतावीचको समझदारी बढ्नेछ । भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरुमा लगानी बढाएर जनतावीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरुलाई भगिनी शहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशवीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं । भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदान-प्रदानका लागि पनि आउनेछन् । मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् । वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताहरुमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्वोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं । मलाई धेरै खुशी लागेको छ, सबै नेपाली नेताहरुसँग हामीले मतेक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरुसँग मिलेर चीन र नेपालवीचको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन सकेकोमा म अत्यन्तै खुशी छु । भोलि म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदान-प्रदान गर्नेछु । म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ । हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गरौं । अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समद्धि सुखी जीवनका लागि, चीन र नेपालवीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->