बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओखरबोटमा नेपालकै उत्कृष्ट तामाखानी अलपत्र

ओखरबोटमा नेपालकै उत्कृष्ट तामाखानी अलपत्र

स्थानीय तह चुपचाप : विदेशी कम्पनिहरु आकर्षित


  • धु्रबसागर शर्मा
  • असोज २७ २०७६, सोमबार

म्याग्दी, २७ असोज –  पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भीरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा रहेको छ ।
२०३० सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन भ्रमणमा नेपालकै उत्कृष्ट तामाखानी घोषणा गरी संचालनमा ल्याउन हुकुम गरेको सो तामाखानी अझसम्म पनि संचालनमा आउन नसक्दा राज्यले वार्षिक करोडौंको राजस्व गुमाएको छ भने स्थानीयहरु रोजगारीबाट बञ्चित भएका छन् ।
वि.सं २००९ सालदेखि २०२८ सालसम्म नियमित संचालनमा रहेको र त्यसपछि खानी खन्ने सुरुङमा पानी भरिएपछि प्रविधिको अभावमा खानी खन्न बन्द गरिएको २०१७ सालदेखि २०२८ सालसम्म नियमित खानी खनेर तामा निकालेका ओखरबोटका ७९ वर्षिय दलबहादुर पटेलले बताए ।
२०२८ सालसम्म यस तामाखानीमा दैनिक २ सय भन्दा बढि कामदरले काम गर्नुका साथै प्रत्येक दिन ७÷८ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले बताए ।
२०२६ सालमा भारतको विडला कम्पनिबाट प्राविधिकहरु झिकाइ खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन खानी पनि हुनसक्ने बताएका तामाखानीका तत्कालिन ठेकेदार हाल मालिका गाउँपालिका ४ ओखरबोटका वडाअध्यक्ष दिलिप शेरचनले जानकारी दिए ।
त्यसको ४ वर्ष पछि स्व. राजा विरेन्द्र रानी ऐश्वर्य सहित २०३० साल मंसिर ७ गते तामाखानी अवलोकनका लागि ओखरबोटमा आएका र खानीलाई व्यवस्थित रुपमा संचालन गर्न हुकुम भएको उनको भनाइ रहेको छ ।
त्यसपछि २०४२ सालसम्म फाट्टफुट्ट स्थानीयले खानी खनेर तामा निकाली विक्रि गर्दै आएकोमा ं २०४२ सालमा सरकारले कर बृद्धि गरेपछि कर तिर्न सक्ने अवस्था नहुँदा र तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावमा खानी वन्द गर्नुपरेको वडाअध्यक्ष शेरचनको भनाइ छ । त्यतिबेला अहिलेका वडाअध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी संचालन गर्ने ठेक्का लिएका ओखरबाटका ८३ वर्षिय दिलबहादुर घर्तीमगरले जानकारी दिए ।
घर्तीमगरका अनुसार तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानहरुको लम्वाई २५० देखि ५ सय मिटरसम्म रहेको छ । त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्द सकिने घर्तीमगरले बताए ।
स्थानीय तहको निर्वाचन पछि वडाअध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिस सहित ५ पटकसम्म काठामाण्डौस्थित खानी विभागमा गई खानी संचालनको लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण खानी संचालनमा आउन नसकेको बताए । ‘खानी संचालनका लागि मैले धेरै प्रयाश गरें,अध्यक्ष शेरचनले भने ‘तर,सरकारले खानी संचालनको अनुमति दिएन ।
तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेन्डा बनाए । गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पुरा नहुदाँ स्थानीय निरास छन् ।
्ओखरबोट गाउँबाट २० मिनेटको दुरीमा २ वटा तामाखानी रहेका छन् । दुईवटा खानीको करिव दुई किलोमिटरको सुरूङ खनेर २०२८ सालसम्म नियमित सञ्चालन गरिएपनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको तामाखानीका बारेमा एकबर्ष यता धेरै बोले पनि काम नभएको स्थानीय बुद्धिजीवि एवम् शिक्षक नविन पुनले बताए ।
खानी उत्खननका क्रममा प्रयोग गरिएका साम्रागी,पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । यता मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भएपनि सरकारी निकायबाट असहयोग रहेको बताए । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई ब्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानुन बनाउनुपर्ने जवाफ दिएको अध्यक्ष रोकाले बताए ।
चुपचाप स्थानीय तह
स्थानीय तहको निर्वाचनताका खानी संचालनको विषयमा निकै जोडतोडको साथ उठाइएको मुद्धा निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले खासै चासो नदिएको स्थानीयको भनाइ रहेको छ । स्थानीय संचारकर्मी जगदिश रसाइलीले खानी संचालनका लागि स्थानीय जनप्रतिनिधिले दबाबमूलक कुनै काम गर्न नसकेको बताए ।
उसो त वडा अध्यक्ष दिलीप शेरचन तामा खानीका पुराना ठेकेदार पनि भएकाले त्यसवाट प्राप्त आम्दानीको उनलाई राम्रैसंग थाहा छ । व्यक्तिगत रुपमा वडाअध्यक्ष शेरचनले खानी संचालनका लागि पहल गरिरहेको बुझिएपनि वडावासी र गाउँपालिकाका अन्य जनप्रतिनिधिसंग समन्वय भने नगरिएको आरोप लाग्दै आएको छ ।
वडाअध्यक्ष शेरचनकै भनाइलाई आधार मान्ने हो भने पनि यो तामाखानीबाट वार्षिक करोडौं मूल्यको तामा उत्खनन् गर्न सकिने सम्भावना रहेको छ । अहिलेसम्म पनि खानी खन्न बनाइएको ५ सय मिटर सुरुङ भित्र तामाका धाउहरु प्रशस्तै देख्न सकिन्छ । रिपोर्टिङका क्रममा यस सम्वाददाता खानीको सुरुङ भित्र प्रवेश गर्दा त्यहाँ ताकाका धाउहरु प्रशस्तै भेटिएका थिए ।
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ओखरबोटको तामा खानी संचालन गर्न प्रविधि र जनशक्तिको आवश्यकता रहेको बताए । ‘स्थानीय तह खानी संचालन गर्न तयार छ, तर सरकारी अनुमति र प्रविधि नै मुख्य समस्याको रुपमा रहेको छ, उनले भने ।
विदेशी कम्पनिहरु आकर्षित
पछिल्लो पटक यस सम्वाददाता रिपोर्टिङका लागि असोज २६ गते ओखरबोटको तामाखानीमा पुग्दा दुईसाता अघि चिनिया कम्पनिका ६ जना व्यक्तिहरु खानीको निरिक्षण गरी फर्किका थिए । स्थानीय बुद्धिजीवि नविन पुनका अनुसार उनीहरले दुई दिनसम्म खानीको निरिक्षण गरे र दोभाषे मार्फत खानीको इतिहाँस र खानी रहेको ठाउँको भूगोलको बारेमा जानकारी लिएर फर्किए ।
गत मार्चमा नर्वेबाट पनि एक टोली खानीको अवलोकनका लागि आएको पुनले जानकारी दिए । उनीहरुले प्रक्रिया पुर्याएर स्थानीय सरकारले खानी खन्न अनुमति दिए आफूहरु तयार रहेको प्रतिक्रिया दिएका पुनले बताए ।
चिनियाँ टोलीले खानीबाट निकालिएको तामा लगेर परिक्षण गर्दा सो तामा उत्कृष्ट देखिएको र केही समय पछि तामा उत्खननका लागि नेपाल आउने बताएको चिनियाँ टोलीलाई सहयोग गर्दै आएका व्यवसायी डम्मर सापकोटाले जानकारी दिए ।
यस्तो छ तामाखानी
यातायातका साधनमार्फत म्याग्दीको सदरमुकाम बेनीबाट करिब ४ घण्टाको यात्रा पछि पुगिन्छ ओखरबोट गाउँ । गाउँको सिरानमा भीरखानी जंगल छ । जंगलको फेदिमा नै चिस्यानयुक्त ठाउँको करिब २ किलोमिटर क्षेत्रमा तामाखानी रहेको छ ।
तत्कालिन समयमा तामा उत्खनन्का लागि निकै ठूलो मेहिनेत गरेको तामा खन्न प्रयोग गरेको सुरुङ देख्दा नै स्पष्ट हुन्छ । छिना र मार्तलको प्रयोग गरेर तामा निकाल्न त्यतिबेला कसरी सम्भव भयो होला भन्ने प्रश्न उव्जन्छ ।
सुरुङ भित्र टाउको निहुराएर,खुट्टा खुम्चाएर हिड्नु पर्छ । सुरुङको दायाँ बायाँ तामाको धाउहरु प्रशस्तै भेटिन्छन् । करिब ५० मिटरको अन्तरमा दुईवटा सुरुङहरु रहेका छन् । माथिल्लो सुरुङको तुलनामा तल्लोपट्टि रहेको सुरुङ अत्यन्तै कठिन र जोखिमयुक्त छ ।
सुरुङ प्रवेश गरेपछि पानीको ताल,चमेरा र विभिन्न किसिमका जलचर प्राणीको आक्रमण शुरु हुन्छ । जतिजति सुरुङको अघि बढ्दै गयो त्यति नै सुरुङमा तामाको धाउहरु भेटिन्छन् ।
यस सम्वाददाता सहित स्थानीय पाँच जना व्यक्तिहरु तामा खानी भित्र प्रवेश गर्दा त्यहाँ तामाको टुक्रा र धाउहरु प्रशस्तै भेटिएका थिए । तामा खनेल स्थानीय दलबहादुर पटेलले सुरुङ भित्र रहेका तामाका धाउहरु देखाउँदै भने ‘यहाँ अझैपनि प्रशस्त स्तरीय तामाको खानी छ ।
खानी भित्र चमेराको राज
भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएको ओखरबोटको तामा खानीमा चमेराको रजाइँ छ । व्यवस्थित रुपमा उत्खनन् गर्ने हो भने अर्वौको तामा निकाल्न सकिने सम्भावना रहेको अमूल्य खजानामा चमेरो र जलचर प्राणीहरु रमाइरहेका छन् ।
खानीको सुरुङ भित्र प्रवेश गरी अघि बढ्दै जाँदा चमेराको आक्रमण पनि बढ्दै जान्छ । अध्यारो सुरुङमा टर्च लाइट बालेर अगाडी बढ्दै गर्दा चमेरोको आक्रमण तिव्र हुँदै जान्छ ।
खानी भित्र तालै ताल
खानी खनेल दलवहादुर पटेलले सुरुङ भित्र पानीको सतह बढ्दै गएपछि तामा उत्खनन्मा समस्या भएको भनाइ पुष्टि गर्न खानी भित्र रहेका तालहरु प्रर्याप्त छन् । पाँच सय मिटर लम्वाइको सुरुङको १ सय ५० मिटर भित्र पुगेपछि पानीको तालै ताल भेटिन्छन् । कम्मरसम्मको भाग पानीमा डुवेपछि त्यसभन्दा अघि बढ्ने आँट आउँदैन ।
यस सम्वाददातासंग सुरुङ भित्र प्रवेश गरेका स्थानीय दलवहादुर पटेल, नविन पुन,दिलवहादुर घर्ती मगर,जगदिश रसाइली लगाएतका स्थानीय उपल्लो खानीमा करिब दुई सय मिटर र तल्लो खानीमा २ सय ५० मिटर भित्र प्रवेश गरेको थियो । उपल्लो खानीको तुलनामा तल्लो खानीमा जोखिम पनि धेरै र तामाको सम्भावना पनि बढि रहेको पटेलले बताए ।
यस्तो छ खानी संचालनको सम्भावना
भनिन्छ ‘जहाँ जोखिम हुन्छ,त्यहाँ फाइदा पनि उत्तिकै हुन्छ । ओखरबोटको तामा खानी पुरानै प्रविधि र जनशक्तिबाट अव सम्भव छैन । किनभने,सम्भव हुने र पुरानो प्रविधि (छिना,मार्तल आदि) को प्रयोग गरेर तामा निकाल्न सकिने ठाउँसम्मको तामा निकालिइ सकिएको छ । अव आधुनिक प्रविधिको प्रयोग गरेर तामा खानीलाई व्यवस्थित रुपमा संचालन गर्नुको विकल्प छैन ।
खानी भएको ठाउँसम्म मेसिनेरी सामानहरुको सहज पहुँच पुग्ने गरी सुविधा युक्त मोटरबाटो पहिलो आवश्यकता देखिएको छ । चिनियाँ प्रयोगशालामा परिक्षण गरिएको नतिजा यदी सत्य हो भने यहाँको खानीबाट निकालिएको तामा विश्वकै उत्कृष्ट तामा ठहर भएको छ । खानी संचालन गर्न विदेशी (विशेष गरी चिनियाँ)हरु तयार देखिएका छन् । उनीहरुलाई प्रक्रिया पुर्याएर देशलाई फाइदा पुग्ने गरी ठेक्कामा दिने हो भने यहाँबाट वार्षिक करोडौं रुपैयाँ देशलाई राजस्व प्राप्त हुने बलियो सम्भावना रहेको स्थानीयवासीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->