काठमाडौं ,१ कार्तिक – नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ’अटम’ अफर ल्याएको छ ।
अटम अफर बिहीबारदेखि ९० दिनसम्मका लागि लागू हुने टेलिकमले जनाएको छ । यसअघि उपलब्ध गराइएको समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको टेलकमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको टेलिकमले जनाएको छ ।
डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी एक सय मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।
एफ टी टी एच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको एक हजार दुई सयको प्याकलाई एक हजार, तीन हजार चार सयको प्याकलाई तीन हजार, ६ हजार चार सयको प्याकलाई पाँच हजार पाँच सय र १२ हजार तीन सयको प्याकलाई अब १० हजार पाँच सय रुपैयाँमात्र पर्ने भएको छ ।





