पोखरा,२ कात्तिक – गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले शुक्रबार प्रमाणिकरण गरेका हुन् । गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले असोज २८ गते प्रमाणित गरेपछि सोही दिन गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ । प्रदेश प्रमुख कुँवरले शुक्रबार पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेका हुन् । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।





