म्याग्दी, १२ कार्तिक – हिमाली जिल्ला म्याग्दीमा देउसी भैलोको रौनक बढेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसरमा खेलिएको देउसी भैलोबाट क्षेत्री समाजले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गरेको छ भने अन्य संघ संस्थाहरुले पनि लाखौं रुपमा संकलन गरेका छन् ।
‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीद्वारा सञ्चालित देउसी भैलोमा ११ लाख ५० हजार नौसय १८ रुपैयाँ सङ्कलन गरिएको हो ।
भैलो खेल्न सुरु गरिएको तीन दिनको अवधि अन्तर्गत आइबारसम्म सो परिमाण बराबरको आर्थिक सङ्कलन गरिएको क्षत्री समाज म्याग्दीले जनाएको छ ।
देउसीभैलो कार्यक्रमको क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दी, क्षत्री महिला समाज म्याग्दी र क्षत्री समाज बेनी नगरपालिकाले संयोजन गरेका छन् । क्षत्री समाजको देउसीभैलोमा म्याग्दीका लोक तथा दोहोरी गायक एवं हाँस्यकलाकार रवि कार्की र लोकदोहोरी गायक अमित विश्वकर्माले गीतसङ्गीत र देउसीभैलोको कार्यक्रम सञ्चालन गर्नुका साथै कलाकारको संयोजक गरिरहेका छन् ।
यसैबीच देउसीभैलो कार्यक्रमको समीक्षा गरी तिहारको भाइटिकापछि सदरमुकाम बाहिरका क्षेत्रमा पनि पुगेर देउसीभैलो खेल्नेबारे छलफल भैरहेको अध्यक्ष थापाको भनाइ छ ।





