म्याग्दी, १४ कात्तिक – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ कस्केरीमा बुधवार (आज) दिउँसो आगलागि हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ ।
भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन नहुदाँ पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय यामनाथ पौडेलले बताए । आगलागी लगत्तै पशुचौपायालाई भने जोखिम मोलेर बचाउन सफल भएपनि घरभित्र रहेका पैसा, लत्ताकपडा, अन्नबाली नष्ट भएको पौडेलले जानकारी दिए । आगलागीको विद्युत सर्ट वा कारण पहिचान हुन सकेको छैन् । घर जलेपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयको भनाई छ ।
आगलागिबाट घर सहित करिव ५ लाखको हाराहारीमा क्षती भएको अनुमान गरिएको छ । आगलागीको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको स्थानीयले बताएका छन् । यसैबीच बेनी नगरपालिका वडा नं ५ डडुवामा पनि सोमबार एक घरमा आगलागि हुँदा रु ५ लाखभन्दा बढीको क्षती भएको छ ।
डडुवाका गिरीराज उपाध्यायको घरमा सोमबार दिउँसो विद्युत सर्ट भई आगलागीहुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा लगाएतका घरायसी साम्रागी जलेर नष्ट भएको हो । आगलागीबाट दुईतले ढुंगाको घरमा प्रयोग गरिएका काठका साम्रागीहरु समेत काम नलाग्ने अवस्थामा रहेको उपाध्यायले बताए । आगलागीबाट करिब ५ लाख ७० हजार नोक्सानी भएको अनुमान प्रहरीले गरेको छ । आगलागी हुनासाथ उपाध्यायका परिवार र स्थानीयबासीले आगो निभाएका थिए ।





