म्याग्दी, १६ कात्तिक – सामुदायिक बनको ६ रोपनी जग्गा भाडामा लिएर र आफ्नो ६ रोपनी गरी १२ रोपनी जग्गामा विगत ७ वर्ष पहिले अलैंची खेती शुरु गरेका म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनका हरिध्वज थापा अलैंची टिपेर सुकाउन व्यस्त छन् ।
अलैंची खेती र यसको बजारमूल्यको बारेमा थाहा पाएपछि परम्परागत खेतीपाती भन्दा व्यावसायिक अलैंची खेतीमा खटिएका थापाको दिनचर्या अलैंची वारीमा नै वित्ने गरेको छ ।
शुरुशुरुमा धान,कोदो रोप्न छोडेर गाउँमा कसैले नगरेको अलैंची खेती गर्दा गाउँलेले गिज्याएका थापाको अलैंचीको बगैंचा देखेर अहिले गाउँलेहरु दंग परेपनि अलैंचीले उचित बजार मूल्य पाउन नसक्दा थापा भने भित्रभित्रै चिन्तित छन् । गत वर्ष देशका अन्य ठाउँमा प्रतिकिलो १ हजार बजारमूल्य हुँदा आफूले गाउँबाट नै प्रतिकिलो ६ सय रुपैयाँमा अलैंची बेच्नु परेको तिक्तता व्यक्त गर्ने थापाले यस वर्ष अलैंचीको उत्पादन पनि राम्रो भएको र आफैंले वजारमा लगेर बेच्ने योजना रहेको सुनाए ।
‘पोहोर साल म ठगिएँ, थापाले भने ‘तर यस वर्ष म आँफैले राम्रो मूल्य पाइने ठाउँमा लगेर अलैंची बेच्छु,पोहोरको जस्तो यसपाली गाउँमै आएका व्यापारीलाई अलैंची बेच्दिन ।‘
प्रतिकिलो ६ सय रुपैयाँमा विक्रि गर्दा पनि पोहोर साल सबै खर्च कटाएर ६० हजार फाइदा भएको बताउने थापाले यस वर्ष अलैंची विक्रि गरेर २ लाख रुपैयाँ कमाउने लक्ष्य राखेका छन् ।
थापा अर्मन गाउँमा अलैंची खेती गर्ने पहिलो किसान हुन् । अहिले १२ रोपनी जग्गामा अलैंची खेती गरेका थापाले अलैंचीका ७ हजार गाँज रहेका र पोहोर साल १ क्विन्टल अलैंची उत्पादन भएको बताए ।
अलैंचीका लागि ओस्याइलो र चिसानयुक्त ठाउँ चाहिने र यसका लागि अर्मनको तल्लो भेग,खोलाखर्क र सामुदायिक वन अति उपयुक्त भएको उनको भनाइ रहेको छ ।
‘अलैंची खेती गर्न अन्य वाली उत्पादन हुने खेतवारीको नै प्रयोग गर्नुपर्छ भन्ने हुँदैन,थापाले भने ‘खेर गएको पाखो,जंगल,चिस्यानयुक्त ओसिलो ठाउँ भए हुन्छ ।‘
मंगला गाउँपालिकाकाले पनि अलैंची खेतीका लागि थापालाई सहयोग गरेको छ । गत साल थापाले उत्पादन गरेको अलैंची गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले नै विक्रिको व्यवस्था मिलाइदिनुभएको थापाको भनाइ छ ।
आग्र्यानिक खेती र व्यवसायिक कृषि मंगला गाउँपालिकाको प्राथमिकतामा नै रहेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘किसानहरुले उत्पादन गरेका कृषि उपजले बजार नपाएमा हामी त्यसको वेवस्था मिलाउँछौं, रोकाले भने ‘तर,कृषकहरुले प्राङ्गारीक खेती गर्नुपर्ने हुन्छ ।
अलैंची सुकाउने मेसिनको अभाव
अलैंची कृषक थापाले अलैंची सुकाउने मेसिनको अभावमा आगो फुकेर वा घाममा सुकाएर अलैंची प्रशोधन गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार सम्वन्धित निकायले कृषकहरुलाई सामाग्री सहयोग गरेर कृषि प्रति उत्प्रेरित गर्नु पर्ने आवश्यकता देखिएको छ ।
समयसमयमा तालिम,प्रशिक्षण,भ्रमणका साथै ठाउँ अनुकुलको मल,बिऊ र बजारी करणका लागि सरकारले ध्यान दिन सकेको छैन ।
धनसार बन्यो अलैंचीको भन्सार
किसानहरुले उत्पादन गरेको तरकारी,फलफूल वा कृषि उपजको भण्डारण गर्ने तरिका थाहा नहुँदा कृषि उपजहरु खेर जाने गरेका छन् । यस्तै भएको छ अलैंची कृषक थापालाई पनि ।
थापाले उत्पादन गरेको अलैंची धनसारमा थन्किएको छ । घरको आँटी,बाह्रतली, कोठी,आगन जताततै बोटबाट टिपेर सुकाउन राखिएको अलैंची नै अलैची छ ।
‘सुकाउने ठाउँको अभावमा यसरी राख्नु परेको हो,कृषक थापाले भने ‘हाम्रा लागि त धनसार नै भनेको छ अलैंचीको भन्सार ।
सरकारी अनुदान,पहुँचवालाका लागि बरदान
कृषकहरुलाई प्रोत्साहन र सहयोग गर्ने उद्धेश्यले सरकारले कृषकलाई अनुदानको व्यवस्था गरेको छ । तर,त्यो अनुदान वास्तविक किसानसंग पुग्न नसकिरहेको कृषकहरुले गुनासो गर्ने गरेका छन् ।
‘सराकारी अनुदान केही पावरवाला र टाँठावाठाहरुका लागि बरदान सावित बनेको छ । तर, वास्तविक किसानहरुले सरकारवाट प्रदान गरिने अनुदान प्राप्त गर्न सकेका छैनन्, कृषक रोशन सापकोटाले बताए ।





