पोखरा,६ पुस – पोखराको फेवाताल किनारामा रहेको रत्नमन्दिर नेपाल ट्रष्टको स्वामित्वमा छ । कुनै बेला राजाले हिँउद बिताउने यो दरबार २०५८ सालमा राजा वीरेन्द्रको वंशनाश भएपछि त्यो दरबार सुनसान जस्तै छ । दरबार हत्याकाण्ड हुँदा उनी रत्नमन्दिरमै थिए । राजा भएपछि ज्ञानेन्द्रले त्यहाँ केही दिन बिताए अनि आफ्नो प्रत्यक्ष शासन टिकाउने प्रपञ्च रचे पनि उनलाई पिताको प्रिय ठाउँले फेरि गइरहने बाटो देखाएन । उनी जनता बने । रत्नमन्दिर यतिबेला ज्ञानेन्द्रजस्तै जनताको भएको छ तर जनतालाई भित्र पस्ने अवसर भने अहँ , जुरैकै छैन । इतिहास बोकेको यो अभागी घर रुँगिरहेका नेपाल ट्रष्टका केही कर्मचारी र सुरक्षामा खटिएको सेना एक टुकडी मात्र रत्नमन्दिर क्षेत्रमा बस्दै फेवातालको सिरेटो खाइरहेछन् !
हो, यही रत्नमन्दिर अब सर्वधारणको लागि खुलाउने तयारीमा गण्डकी प्रदेश सरकार रहेको छ । नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटनसँगै मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने तयारी गरिएको छ । भ्रमण वर्ष सुरु हुने पुस १६ गते खुलाउने पहल भए पनि यसबारे संघीय सरकारको मन्त्रिपरिषदले निर्णय भने गरिसकेको छैन । ‘ हामी सडक महोत्सवको क्रममा नेपाल भ्रमण वर्षको सुरु पनि पोखराबाट गर्ने तयारीमा छौँ’, रेष्टुरेण्ट एण्ड बार एसोसियनका पूर्वअध्यक्ष सूर्य भुजेलले भने,‘ रत्नमन्दिर खुलाउनेबारे पनि कुरा भइरहेको छ । यता प्रदेश सरकारले भ्रमण वर्ष सफल बनाउन पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा समिति पनि गठन भएको छ । भ्रमण वर्षको उद्घाटनसँगै रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिए पोखरा आउने पर्यटकहरुको मन बहलाउने एउटा अर्को ठाउँ थपिनेछ । राजाको प्रिय रहेको यो ठाउँ जनताको बन्नेछ ।
‘आहु, यो स्वास्नीमान्छेहरुको ठाउँमा किन आएको नि ?’ रानी रत्नले भनिन् ।
पिर्कामा बसीकन सामान्य खास्टो ओढीकन रानी रत्नले तरकारी काट्दै गरेको त्यो भान्छा थियो, पोखरा रत्नमन्दिरको । रानीको भान्छामा छिर्दा पनि आत्मियतासहितको प्रश्न पाउने राजा वा दरवारिया हैनन् जनताका छोरा विपी थिए ।
रत्न ईश्वर भज्दै एकान्त जीवनमा छिन् । विपी उहिल्यै ईश्वरको प्यारा भइसके । फेवातालको किनार । मान्छेभन्दा अग्लो पर्खालले घेरिएको बिशाल क्षेत्रफल ।सेनाको सुरक्षा अनि फिरन्ता चराहरुको चिरबिर आवाज । आँखा छेक्ने बाँस र अग्ला रुखहरु ।
विपी कोइरालाको आत्मवृत्तान्तमा अटाएको अनि राजा महेन्द्रले आफ्नी प्यारी रानी रत्नको लागि बनाएको हिउँदे दरबार फेवाताल पुग्नेहरु सामु कौतुहल बनेर उभिदिन्छ । दरबारसँग कौतुहलता जोडिन्छ नै ! झन, राजा नै नभएको बेला,कौतुहलता,रहस्य र इतिहासको जिउँदो साक्षीजस्तै मौन देखिन्छ । भनिन्छ,महेन्द्रको प्रिय ठाउँ थियो, रत्नमन्दिर । १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर परिसरमा रहेको र फेवातालतिर फर्किएको ‘बोट हाउस’मा बसेर महेन्द्रले खुबै कविता लेखेका थिए !
विपीले अगाडि लेखेको छन्–
‘मेरो एउटा सानो घर बनेको छ,बंगलो छ, फेवाताल किनारामा । त्यहाँ तपाईँ जानुप¥यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर’ भनेर राजाले भने । मैले भनेँ,–मलाई पनि सरकारसँग बस्न मन लागेको छ ।’
‘तर उहाँलाई पनि’सुशीलालाई, लिएर आउनुहोला नि’ भनेर उनी त पहिले नै गए ।…… सुशीला जान सकिन, म मात्रै गएँ ।…….
बंगला टाइपको घर छ, कटेज टाइपको । त्यसमा फर्निसिङ पनि कटेजजस्तो हुन्छ ,त्यस्तै किसिमको थियो । दक्षिण भारतबाट बेतको पलङ्ग,कुर्सी र डे«सिङ टेबुलहरु सारा आएको थियो । त्यस किसिमको सादा । तर जति आवश्यकता हुनसक्छ एउटा पाहुनालाई , त्यो सबै कुरा थियो , आफ्नो निजी छनौटबाट । रानीले सबै ठीक गरेर राखेको थियो ।
रत्नमन्दिरमा छ सात दिन रहँदा राजाले आफूलाई बंगलाको माथितिरका दुईवटामध्ये संगीतका सामाग्रीले भरिएको कोठामा लगेको र आफूलाई हार्मोनियम बजाएर गीत सुनाएको ,रानी रत्नले आफूलाई कोठा देखाइदिएको र रानीले आफूलाई भनेर विभिन्न परिकार बनाएको समेत सम्झना गरेका छन् ।
२०१३ सालमा सुरु भई २०१५ सालमा पूर्णता पाएको यो दरबार पस्ने नपस्नेहरुसँग अनेकौँ किस्सा छन् । कवि भूपी सेरचनका बाबु सुब्बा अनङ्गमान सेरचनको ठेकेदारीमा बनेको रत्नमन्दिरमा भूपी स्वयंले पनि पनि कयौँ पटक कविता सुनाउने मौका पाए ।
कवि मनका महेन्द्र हरेक वर्ष हिउँदमा रत्नमन्दिर आउँथे अनि गीत, संगीतको माहौलमा रमाउँथे । राजा वीरेन्द्रले उनको बिँडो थामे ।
एउटा प्रसङ्गमा स्वर्गीय गायक सरोजगोपाल बज्राचार्यले भनेका थिए – ‘राजाको अगाडि गीत गाउन पाउनुलाई हामी सौभाग्य सम्झन्थ्यौँ ।’तीसको दशकमा सरोजगोपाल हिट थिए ।
‘देउराली उकाली तरेर, विजयपुर खोला तरेर… सानीलाई बोलाउँदा बोल्दिन पर्नु पीर प¥यो, यो ज्यानलाई पर्नु पीर प¥यो’ उनको हिट गीत थियो । त्यही गीतको अन्तरामा भएको अब त सानी तरुनी भई गालामा बैंस चढेछ, छुन पनि डर लाग्छ पर्नु पीर प¥यो’ भन्ने अन्तरा त्यो बेलाको समाजलाई कुत्कुत्याउने खालकै थियो । छाडा भनेर रेडियो नेपालले त्यो गीत बजाएकै थिएन । राजाको सवारी हुँदा उनले रत्नमन्दिरमा डराई डराई त्यही गीत गाएँ ।
‘गीतपछि राजाका एडिसीले आएर मलाई पुन ःगीत गाउन मर्जी भा’छ भने’, उनले सुनाएका थिए,‘पछि सरकारले गीत साह्रै राम्रो लाग्यो भनिबक्स्यो, रेडियो नेपालमा पनि गीत बज्न थाल्यो । त्यसो त राजाको हिउँदे बसाईमा त्यहाँ यो क्षेत्रका धेरै कवि, गीतकार , गायक र साँस्कृतिक टोलीहरुले आफ्नो प्रस्तुति दिएका छन् ।
कवि तीर्थ श्रेष्ठको भनाईमा राजाको भ्रमण बेला दरबारले कवि, कलाकारहरुलाई निम्तो गथ्र्यो । कविहरु लाइन लागेर दरबार छिर्थे । राजारानीहरु अध्यारो मञ्चतिर बसेका हुन्थे भने कवि कलाकारहरुतिर उज्यालो प्रकाश फालिएको हुन्थ्यो । राजारानी कविता वा गीत सकिएपछि ताली बजाउँथे । मन परे, वान्स मोर पनि भन्थे ।





