शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कुमुदिनीमा स्थापना दिवस तथा पुरस्कार वितरण

कुमुदिनीमा स्थापना दिवस तथा पुरस्कार वितरण


  • Dhorpatan News
  • पुष ७ २०७६, सोमबार

पोखरा, ७ पुष – कुमुदिनी होम्स् विद्यालय पोखराको ३३ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमूख अतिथि गण्डकी प्रदेशका भौतिक योजना  मन्त्री रामशरण बस्नेतले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रमूख अतिथि मन्त्री बस्नेतले निजी विद्यालयहरुले नेपालको शैक्षिक विकासमा गरेको योगदानको प्रशंसा गरे । उनले निजी शैक्षिक संस्था र केन्द्र सरकारका वीच समन्वय गर्ने दायित्व प्रदेश सरकारले निर्वाह गर्ने जानकारी दिए । सो समारोहका विशेष अतिथि कास्कीका जिल्ला शिक्षा समन्वय इकाइका प्रमूख लोकनाथ आचार्यले कुमुदिनीले गुणस्तरी शिक्षा प्रदान गरेको धारणा राख्दै सफलताका कामना गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । विद्यालयका संस्थापक पालिखेले संस्थाले वार्षिक रुपमा आयोजना गरेका विविध कार्यक्रमहरुका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि शैक्षिक तथा अतिरिक्त गतिविधिमा जोड दिने बताए । सो अवसरमा उनले कुमुदिनीमा अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आइपिसी)को ढाँचा लागु गरिएको जानकारी दिए । कुमुदिनीका कक्षा एक र दुईमा आइपिसी पाठ्यक्रम लागु छ । यसका अलावा कुमुदिनीमा चाइनिज भाषा र संस्कृतिको अध्ययन अध्यापन, थ्रिडि कक्षा, खेलकूद प्रतियोगिता, विज्ञान प्रर्दशनी, शिक्षक तालिम, नेपाली कला संस्कृति र शैक्षिक भ्रमण लगायतका विविध गतिविधि आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा राजबहादुर गुरुङले अभिभावकका तर्फबाट मन्तव्य, कक्षा १० मा अध्ययनरत विद्यार्थी सुनिता आचार्यले स्वागत मन्तव्य, सहप्राचार्य मनबहादुर भूजेलले धन्यवाद ज्ञापन तथा सभा विर्सजन गरेका थिए । कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका रीता अधिकारीले गरेकी थिइन् ।

गैहपाटनमा रहेको विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शैक्षिक र विज्ञान प्रर्दशनी आयोजना गरेका थिए । प्रदर्शनीको कार्यक्रमका अतिथि, अभिभावक र विद्यार्थीहरुले अभिरुचिपूर्वक अवलोकन गरेको विद्यालयले जानकारी दिएको छ । सो अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । चाइनिज भाषाका गीतमा विद्यार्थीहरुले नृत्य गरेका थिए । कुमुदिनीमा चाइनिज भाषा र संस्कृतिको अध्ययन अध्यापन गराउँदै आएको छ । नेपाली कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि विद्यालय परिसरमा जेके चित्रकला संग्राहलयको स्थापना गरिएको छ । संग्राहलयमा नेपालका प्रख्यात चित्रकारहरुका कलाकृति संग्रहित गरिएको र सर्वसाधरणले निशुल्क अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको विद्यालयको भनाइ छ ।

स्थापना दिवसको पूर्वसन्ध्यामा विद्यालयले विभिन्न सहयोग कार्यक्रम पनि सम्पन्न गरेको थियो । पोखराको सार्दीखोलामा रहेको हिमालयन प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको छ । विगतका वर्षहरुमा पनि कुमुदिनीले सो विद्यालयलाई सामग्री हस्तान्तरण गर्ने गरेको थियो । सो विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि कुमुदिनीका संस्थापक पालिखेले सहयोग जुटाउनका लागि समन्वय गरेका छन् । कुमुदिनीका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर सार्दीखोला स्थित बाराही प्रावि खाँदरजुङ र हिमालयन प्राविका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु सहयोग गर्ने गरेका छन् भने विद्यालयको तर्फबाट पोशाक प्रदान गरिन्छ । त्यसैगरी शुक्रबार वात्सायन वृद्धाश्रम बाच्छीबुडुवामा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । विद्यालयकी संचालिका मीना पालिखेले खाद्यान्न सामग्री हस्तान्तरण गरेकी हुन् । सेवा नै धर्म हो र वृद्धाहरुको सम्मान अपरिहार्य भन्ने भावनाका साथ खाद्यान्न सामग्री प्रदान गरिएको विद्यालयकी संचालिका पालिखेले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->