शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्रमुख प्रशासकीय अधिकृत छैनन, आठ सय कर्मचारीको प्रमाणपत्र छानविन हुँदै

प्रमुख प्रशासकीय अधिकृत छैनन, आठ सय कर्मचारीको प्रमाणपत्र छानविन हुँदै

महानगरमा कर्मचारी भद्रगोल


  • ढोरपाटन संबाददाता
  • पुष ९ २०७६, बुधबार

पोखरा,९ पुस –  भदौ पहिलो सातादेखि पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिृकत विहिन छ । प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका शेषनारायण पौडेलको सरुवा भएपछि महानगर अहिले निमित्तको भरमा चलेको छ ।
यही हप्ता सम्पन्न प्रदेश समन्वय परिषदको बैठकमा बोल्दै महानगरका मेयर मानबहादुर जिसीले भनेका थिए,“पोखराजस्तो ठाउँमा पनि प्रमुख प्रशासकीय अधिकृत छैनन्, भने अन्य ठाउँमा के होला ?” उक्त बैठकमा बोल्ने प्रायशः स्थानीय तहका प्रमुखको गुनासो कर्मचारी अभावमा नै केन्द्रित थियो ।
मेयर जिसीले भनेजस्तै पोखरा जस्तो ठाउँमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । केन्द्रले सहसचिवको आन्तरिक बढुवा गरेपछि उक्त पदपूर्ति हुनेमा उनी विश्वस्त छन् ।
तर, महानगरमा कर्मचारी अभाव मात्रै होइन, भएगरेका कर्मचारीले दोहोरो सुविधा समेत लिएको खुलेको छ । यस विषयमा छानविन समेत भइरहेको छ । महानगरका निमित्त प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महानगरका आठ सय कर्मचारीको प्रमाणपत्र छानविन गर्न लागिएको बताएका छन् ।
अहिले महानगरपालिकाले दुई जना कर्मचारीले फरकफरक नागरिकताको आधारमा सुविधा लिएको खुलेको हो । महानगरबाट अवकाशप्राप्त सहायक एकबहादुर बस्नेत, वसन्तप्रसाद चालिसेले अवकाश पछि पनि सुविधा लिएको खुलेको हो । बस्नेतको पहिलो नागरिकतामा जन्ममिति २०१७ असार ३२ गते छ । तर, उनले पछिल्लोपटक महानगरमा पेस गरेको नागरिकतामा २०१८ मंसिर ३१ गते उल्लेख गरिएको छ । उनले पछिल्लो मितिका आधारमा सुविधा लिएका थिए ।
अर्का कर्मचारी वसन्तप्रसाद चालिसेले पनि उसैगरि सुविधा लिएको खुलेको छ । उनी महानगरमा वरिष्ठ नगर प्रहरी निरीक्षकका रुपमा कार्यरत थिए । उनको पहिलो नागरिकतामा जन्म मिति २०१७ फागुन ५ गते उल्लेख छ ।
“हाम्रो प्रशासनले पछिल्लो मितिका आधारमा दियो । तर, उहाँको शैक्षिक प्रमाणपत्रका आधारमा उहाँको अवकाश मिति भने एक वर्ष ४ महिना अघि नै अवकाश हुनुपर्ने थियो । उहाँहरुले लिएको बढि सुविधा फिर्ता गर्नुपर्ने हुन्छ । बढि समयको दाबा उहाँहरुले गर्न पाउनुहुन्न ।” निमित्त प्रमुख सुवेदीले भने ।
पुरानो नागरिकतामा उमेर मात्र लेखिने तर पछि शैक्षिक प्रमाणपत्रको आधारमा नयाँ मिति कायम गरि नागरिकताको प्रतिलिपी निकाल्ने समयमा उमेरको अन्तर देखिएको हो ।
सुवेदीले महानगरका सबै कर्मचारीलाई फर्म भराउन लागिएको जानकारी दिए ।
“हामीले आठ सय जनाकै प्रमाणपत्र हेर्दैछौँ । पुरानो नागरिकता भएका कारण समस्या आएको हो । हामीले उहाँहरुलाई अवकाश पत्र दिएको आधारमा भेटिएको हो, बाँकीको पनि हामीले हेर्दैछौँ । सबै कर्मचारीसँग फर्म डेभ्लप गरेर पेश गर्न भनेका छौँ । त्यसमा कर्मचारीको जन्ममिति शैक्षिक प्रमाणपत्रको जन्ममिति, जागिर खाएको मिति समेत उल्लेख गरेर बुझाउने भनेका छौँ ।” उनले भने ।
यता महानगरका मेयर मानबहादुर जिसीले चाहिँ बढि सुविधा लिएको भए असुलउपर गरिने बताएका छन् । “दोहोरो नागरिकता भन्दा पनि उमेर हदको कुरा हो । बढि भएको भए असुलउपर गर्नुपर्ने हो । बढि लिएका छन्, उमेरहद गइसकेको छैन्, भने सुरुमा पेश गरेको नागरिकताको आधारमा मान्ने हो ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->