पोखरा,१० पुस – फेवाताल संरक्षणको लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा सिल्टेसन ड्याम निर्माण गरिने भएको छ । फेवातालको माथिल्लो भागमा पर्ने खहरे खोलामा बाढी आउँदा बगेर आउने डुङ्गा ,माटो र बालुवाले फेवाताल पुर्दै गएपछि ताल संरक्षणको लागि यो योजना अघि सारिएको हो । फेवातालको सीमाङ्कन तथा संरक्षणको लागि सर्वोच्चले दिएको आदेश कार्यान्वयन हुन नसकिरहेको बेला प्रदेश सरकार र महानगरले यो योजनाको कार्यान्वयन थालेका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मानबहादुर जिसीले यो बाँधको बुधबार शिलान्यास गरेका हुन् ।
विभिन्न स्थानमा सिल्टेसन ड्याम निर्माण गरि खोलामा बगेर आउने नदीजन्य पदार्थ रोकेर ताल जोगाउँदै आम्दानी समेत हुने गरि फेवाताल जलाधार संरक्षण कार्यक्रम सुरु गरिएको महानगरले जनाएको छ । गण्डकी प्रदेशको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा यो कार्यक्रम सुरु भएको हो । ३४ करोडको यो परियोजनामा मन्त्रालय र महानगरको आधाआधा लगानी रहनेछ । यो कार्यक्रमअन्तर्गत अँधेरी खोला ,हर्पन खोला ,लौरुक खोला र बेतेयानी खोलामा सिल्टेसन ड्याम निर्माण गरिने पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर सारदामोहन काफ्लेले जानकारी दिए ।
अधेरी खोला ,घाँटी छिना र लौरुक खोलामा ड्याम निर्माणको लागि खड्का कृष्ण पिके जेभीले निर्माणको जिम्मा लिएका छन । अधेरी खोलामा ९ करोड ८२ लाख ,३८ हजार ,घांँटीछिनामा ७ करोड ८६ लाख ६२ हजार ,लौरुक खोलामा ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ मा ठेक्का सम्झौता भएको छ । ठेक्काको अवधि १५ महिना रहेको छ । त्यसैगरी बेतैनी खोलामा श्री गीता जय नेपाल इश्वर जेभी स्याङ्जाले निर्माणको जिम्मा लिएको छ । ५ करोड ४६ लाख ५८ हजारमा आयोजना सम्पन्न गर्नेगरी सम्झौता भएको इन्जिनियर काफ्लेले जानकारी दिए । निर्माणाधीन पोखरीको चेकड्याम लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुनेछ । लौरुक खोला चेकड्याम को लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर, उचाइ ४ मिटरको हुने भएको महानगरले जनाएको छ ।तेश्रो आयोजना अँधेरी खोलाको चेकड्यामको लम्बाइ १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको हुने भएको छ । त्यसैगरि चौथो आयोजना हर्पन खोला घाँटीछिना पोखरा २३ मा चेकड्याको लम्बाई १ सय मिटर, चौडाइ १ सय मिटर, उचाइ ४ मिटरको हुनेछ । ड्याममा थिग्रिने गिटीबालुवाबाट वार्षिक २३ करोड जति आम्दानी हुने पोखरा महानगरले बताएको छ इञ्जिनियर काफ्लेका अनुसार यो ड्याममा जम्मा हुने नदीजन्य बस्तु बिक्री गरिने छ । त्यहाँ जम्मा हुने गिट्टी, बालुवा र माटोको रोयल्टीबाटै परियोजना २ वर्षमै नाफामा जाने उनले दावी गरे । सबै योजनाको सम्झौता अवधि १५ महिना रहे पनि निर्माण कम्पनीले भने आगामी जेठसम्म निर्माण कार्य सम्पन्न गर्ने गरि काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वातावरणमैत्री विकास निर्माण हुन नसक्दा प्राकृतिक सम्पदाको बिनास संगै बिपत्तीको स्थिति सृजना भएको बताए । जथाभावी डोजर चलाएर मात्र विकास नहुने भन्दै मुख्यमन्त्री गुरुङले वातावरणको रक्षा हुने गरि विकास निर्माणका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए । ‘प्राकृतिक बिपत्ति हाम्रै कारण निम्तिएको छ’, उनले भने,‘डोजर विकासलाई हामीले गौरव गर्छौ ,वातावरण र प्रकृति संरक्षण हुने गरि विकास निर्माणका गतिविधि संचालन गर्नुपर्छ ।’
उनले अवैद्यानिक विकासको कारण ठूला प्राकृतिक विपत्ति आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनु पर्नेमा जोड दिए । फेवातालका कारण पोखरामा पर्यटकीय गतिविधि बढेको हुनाले तालको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने उनको धारणा थियो । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताल संरक्षणको लागि आगामी दिनमा अरु कार्यक्रमहरु पनि ल्याइने बताए ।





