गोरखा, १६ पुस – नेपाल सरकारले ठूलो तामझामका साथ आजदेखि गणना गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला नेपालको एउटा गाउँपालिकामा मात्रै वर्षेनी २१ लाख भन्दा धेरै पर्यटकहरु आउने गरेको तथ्यहरु फेला परेको छ ।
नेपालका प्रथम शहिद लखन थापा मगरको नाममा रहेको शहिद लखन थापा गाउँपालिका मात्र वर्षेनी उल्लेख्य संख्यामा पर्यटकहरु आउने गरेका हुन । पालिका भित्र रहेका मनकामना, लखन थापाको ऐतिहासिक किल्ला, वक्रेश्वर महादेवको मन्दिर, त्रिवेणी धाम, हिमालयदेवी मन्दिर, शहिद लखन थापा गुफा, सन्तानेश्वर महादेव मन्दिर, जलकन्या माईको मन्दिर, मकैपुर बौद्ध नाथ गुम्बा, स्थानीमाई र राम मन्दिर मन्दिर बक्राङ, वेतेनी सामुदायिक होमस्टे, शहिद लखन सामुदायिक होमस्टे, बर्चुली थान, अर्लाङ्दीमाई मन्दिर, सिद्ध लखन थापा गुफा, कोटकाली मन्दिर, भिमेश्वर महादेव मन्दिर लगायतका मन्दिर तथा कोटहरु भ्रमणका लागि ठूलो संख्यामा पर्यटकहरु आएका हुन ।
गाउँपालिका भित्र रहेको कुलजनसंख्या २८ हजार रहँदा यहाँ झण्डै ७५ गुणा धेरै पर्यटकहरु निरन्तर आईरहेका छन् । आन्तरिक र वाह्य दुवै पर्यटकहरुको आवागमनले गाउँपालिका भित्रको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने गरेको पालिकाले बताएको छ । सबैभन्दा धेरै पर्यटकहरु मनकामना केवलकार हुँदै मनमकामना, बक्रेश्वर मन्दिर जाने गर्दछन् । केवलकारको बाटो हुँदै वर्षेनी १८ लाख भन्दा धेरै धार्मिक पर्यटकहरु यस गाउँपालिका प्रवेश गर्दछन् । पैदल बाटो, मोटरबाटो भएर आउने पर्यटकहरुको तथ्याङ यकिन छैन । यहाँ चल्ने सवारी साधन र दैनिक भित्रिने सवारी साधनहरुको क्षमता अनुसारको गणना गर्दा दैनिक पाँच हजारको संख्यामा पर्यटकहरु मोटरबाटो भएर यस गाउँपालिकामा प्रवेश गर्दछन् । ठूलो संख्यामा पर्यटक गाउँपालिका भित्र प्रवेश गर्नुको कारण धार्मिक पर्यटन रहेको छ । यहाँ प्रवेश गरेवापत कुनै शुल्क तिर्नु नपर्ने भएका कारण पनि पर्यटकहरुको आकर्षण रहेको पर्यटन क्षेत्रमा काम गर्दै आएका नवराज अंगाई बताउँछन् । विभिन्न नाकाबाट आउने पर्यटकहरुको संख्या गणना गर्दा २१ लाख भन्दा बढी हुने गरेको यस क्षेत्रमा काम गर्दै आएका जानकारहरु बताउँछन् ।
शहिद लखन गाउँपालिकाले पालिका भित्रको पर्यटन क्षेत्रहरुको पहिचान गरी यहाँ आएका पर्यटकहरु फेरी आउने तर्फ आकर्षण गरिरहेको गाउँपालिका अध्यक्ष रमेश थापा मगर बताउँछन् । मनकामना देखि गोरखकाली सम्म पैदल पर्यटन मार्ग निर्माणको चरणमा रहेको उनले बताए । यो मार्ग बाह्रै महिना चल्ने गरी बनाउन लागिएको उनको भनाई छ । यसले गोरखा सदरमुकाममा पर्यटकहरुलाई आकर्षण गर्न सहयोग पुग्ने दावी गरेका छन् । शहिद लखनको विकास कृषि, पर्यटन र जलस्रोत मुख्य रहेको उनले बताए ।
कुल क्षेत्रफल १४९.०३ र्गा कि.मि रहेको गाउँपालिका भित्र ४५ वटा विद्यालय, ३९ वटा सामुदायिक वन,४६ वटा सहकारी, ७ वटा गैर सरकारी संस्थाहरु, २९ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति रहेको पालिकाका प्रशासकिय अधिकृत जीवन आले मगरले बताए । यस गाउँपालिका भित्र सामुदायिक वनहरु संरक्षण गरी पर्यावरण राम्रो बनाउन यहाँका नागरिकहरु लागि परेका कारण प्रकृतिप्रेमी पर्यटकहरु आकर्षित हुने गरेको उनको भनाई छ । शिक्षा , स्वास्थ्यको क्षेत्रमा राम्रो सूचाङ्क रहेको पालिका स्रोतले जनाएको छ ।





