बागलुङ, २२ पुस – छैठौ बागलुङ महोत्सवमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि अनेरास्ववियुले जितेको छ । सोमबार भएको फाइनल खेलमा आर्मीको २३ नम्बर बाहिनीलाई रोमान्चक तरिकाले हराएर उपाधि जितेको हो । फाइनलमा निरन्तर दवावमा परेको आर्मीले अन्तिम खेलमा आफ्नो बर्चस्व बचाउन सकेन । अन्तिम खेलमा १५ अंकमै हारजितको परिणाम घोषणा हुने खेलमा ११ अंकमा उक्लेको आर्मीले अनेरास्ववियुको अगाडि घुँडा टेक्न पुग्यो ।
अनेरास्ववियु बिरुद्ध आर्मीको खेलमा पहिलो जित अनेरास्ववियुले निकाल्यो । २५/२२को जितपछि उत्साही भएको अनेरास्ववियुलार्य दोश्रो खेलमा भने २५/१० को ठूलो मतान्तर सहित आर्मीले जित निकाल्यो । त्यस्तै तेस्रो खेलमा अनेरास्ववियुले जवाफी जित निकाल्यो । उसले २५/२१को अंकले जित निकालेको हो । चौथो खेल फेरी आर्मीले लियो । आर्मीले २५/२२ मा जित निकालेपछि अन्तिम खेलमा १५/११ मा अनेरास्ववियुले यसपटकको महोत्सवकै उपाधि जित्न सफल भयो । फाइनल खेलका लागि उपस्थित भएका सयौं दर्शक माझ उपाधि जित्ने आसमा रहेको आर्मी स्तब्ध बन्यो । खेल जितेपछि अनेरास्ववियुले १ लाख ११ हजार नगद पुरस्कार पायो ।
आर्मी ८० हजारमा चित्त बुझायो ।उपाधिका लागि अन्तिम खेल खेल्ने आंकलन गरिएको छन्त्याल कन्स्ट्रक्सनले तेस्रो स्थानमा चित्त बुझायो । सेमी फाइनलमा आर्मीसँग पराजित भएपछि सोमबार उसले तेस्रो स्थानका लागि युवा संघ बिनामारेसँग खेलेको थियो । उक्त खेलमा भने छन्त्यालले ३-० को सेटमा खेल जितेको थियो । खेल अबलोकनका लागि सामान्य दर्शक बाहेक आर्मीका उच्च पदस्थ अधिकारी, सामाजिक र राजनीतिक क्षेत्रका नेतृत्व र यस अघि बाहिरिएको खेलाडी समेतको सहभागिता थियो । खेलमा १६ टिम सहभागि थिए । खेल लिग सिस्टममा खेलाइएकोले धेरै दिन सम्म लम्बिएको थियो । नकआउट चरणमा आएपछि भने खेलहरु आक्रामक बन्दै गएका थिए । गत बर्षको खेलमा छन्त्यालले उपाधि जितेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी अनेरास्ववियुका प्रकाश सुनार, उत्कृष्ट लिफ्टर अनेरास्ववियुका मिन सुनार र उत्कृष्ट ब्लकर अनेरास्ववियुकै राजु वि.कले घोषित भए । यसैगरी प्रतियोगिताका उत्कृष्ट स्पाइकर छन्त्याल कन्स्ट्रक्सनका लछु सुनार घोषित भए ।





