पोखरा,२७ पुस – नेपाल क्युकोसिन कान कराँते संघ कास्कीको आयोजनामा गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । माघे संक्रातिको अवसर पारेर पुस २९ र माघ १ गते पोखरा–१७ स्थित पवित्र धार्मिकस्थल ढुंगेसाँघुमा १९ औं संस्करणको माछापुच्छ्रे कप गण्डकी प्रदेशस्तरीय क्योकुशिनकान फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको हो ।
हरेक वर्ष माघे संक्रातीको अवसर पारेर आयोजना गरिने उक्त प्रतियोगिता मेलाको आकर्षणको रुपमा रहँदै आएको छ । प्रतियोगिताको पुरुषतर्फ २५, ३०, ३५, ४०,४५, ५०, ५५ र ६० किलोग्राम तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ३५, ४०, ४५ र ५० केजी तौल समूहमा प्रतिस्पर्धा हुने शनिबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्योकुशिन कान कराँते गण्डकी प्रदेश प्रमुख तथा क्योकुसशिन कान कास्कीका सल्लाहकार दिपकबहादुर गोदारका अनुसार १९ औँ संस्करणको प्रतियोगितामा केही तौल समूह बढाइएको छ ।
दुई दिनसम्म हुने प्रतियोगिताको पहिलो दिन पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ भने सेमीफाईनल र फाईनल खेल ढुंगेसाँघुमा आयोजना गरिने छ ।
माघ १ गतेका दिन ढुंगेसाँघुमा लाग्ने संक्रान्ति मेलामा वर्षेनी क्योकुशिन कान कराँते संघ कास्कीले कराँते च्याम्पियनसिप गर्दै आएको छ । नेपाली संस्कृतिको साथै खेलकुदलाई समेत प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता संचालन गर्दै आएको गोदारले बताए । प्रदेश प्रमुख गोदारका अनुसार प्रतियोगितामा प्रदेशका एक सय ५० बढी खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा गण्डकी प्रदेश भित्रका कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, तनहुँ र गोरखाबाट खेलाडीहरु सहभागि छन् । जिल्ला बाहिरका खेलाडीको लागि संघ आवास तथा खानाको व्यवस्था गरेपनि खेलाडीले भने यातायातको व्यवस्था आफै गर्नु पर्नेछ । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पदक दिलाउन तथा १३ औँ सागमा समेत नेपालको लागि बढी पदक जित्न सफल खेल छायाँमा पर्दै आइरहेको पाइन्छ । संघले विभिन्न दाताको सहयोगमा नै प्रतियोगिता संचालन गर्दै आइरहेको हो । प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो र चौथो हुने खेलाडीलाई ट्रफी प्रदान गरिने छ । संघका अध्यक्ष बेलबहादुर थापाका अनुसार दुईदिने प्रतियोगिताको लागि ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दुईदिने प्रतियोगिताबाट दुई लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको उनले बताए । बचत रकमबाट खेलाडीलाई अत्यावश्यक म्याट, प्याड र ग्लोब लगायतका सामान खरिद गरिने संघ उपाध्यक्ष एव प्रतियोगिता संयोजक दानबहादुर क्षत्रीले बताए ।





