पोखरा,२७ पुस – जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा आयोजित विचार गोष्ठीका वक्ताले पृथ्वीनारायण शाहलाई ऐतिहासिक युग पुरुषका रूपमा स्मरण गर्नुपर्ने धारणा राखेका छन् ।
संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले शाहको तस्वीरमा माल्यार्पण गर्दै गोष्ठीको उद्घाटन गरेका थिए ।पुस २७ राष्ट्रिय चाड विषयक गोष्ठीमा अध्यक्ष अधिकारीले नेपालको इतिहास लेखन नै गलत भएका कारण ऐतिहासिक सन्दर्भ महत्व ओझेलमा परेको बताए ।
प्रा.डा भवानीप्रसाद पाण्डे भाष्करले देशको इतिहासका लागि देशका जनता जानकार हुन आवश्यक हरेको बताउँदै अनेक झुटा किंवदन्ती जोडेर शाहलाई तानाशाही र अपराधी बनाउन खोजे पनि शाह संरक्षणवादी अद्वितीय व्यक्तित्व थिए भने ।
पाण्डेले सबै राजाको राज्य रहेका बेला उनले राजालाई नै जितेर एक राज्य बनाउनु समयको माग भएकाले उनलाई पतित बनाउन खोज्नु नेपालीमा मौलाएको पाखण्डीपन भएको स्मरण गर्दै भने,‘ इतिहास परिहास हुनु हुँदैन ।’
प्राज्ञ रमेश श्रेष्ठले पृथ्वीचोकको शालिक भत्काउनु भीडहरुको दोष भएको भन्दै दुःख व्यक्त गरे । ‘मूर्ति भत्काउनु कलाको विनाश हो, अमर चित्रकारले बनाएको इतिहास अब कहिल्यै बन्दैन’, उनले भने ।
विश्वहिन्दू महासंघका उपाध्यक्ष शंकर खरालले स्मार्ट सिटीको अवधारणानुरुप चोकका सम्पूर्ण शालिक हटाउने गरी भएको सम्झौता कार्यान्वयन नभए पृथ्वीनारायण शाहको योगदानको उपेक्षा हुने बताए ।
पुस २७ राष्ट्रिय चाड विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले शाह एकताका प्रतिमूर्ति भएकाले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा आम नेपालीले आफ्नो चाड मान्नुपर्ने धारणा राखे ।कार्यक्रममा डा गेहेन्द्रभुषण पोखरेली, शिव त्रिपाठी, वसन्त चालिसे, सूर्य गिरी, ढुण्डीराज ज्ञवाली, चन्द्रावती वाग्ले, भरत आचार्य, आवाज शर्मा, शिव त्रिपाठी, नारायण बराल, मदन भण्डारी, शरद भण्डारी, असफल गौतमलगायतले आफ्ना धारणा तथा रचनावाचन गरेका थिए ।





