पोखरा,१ माघ – पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातलेछाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजना अगाडि सारेको छ ।सेती खोंच विकास आयोजनाको प्रस्तावित लगानी १ अर्ब ५८ करोड, पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा ४९ करोड १९ लाख, सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाको प्रस्तावित लगानी १४ करोड ७४ लाख रहेको छ । ती परियोजना कसरी अगाडि बढाउने भन्नेमा महानगरले मंगलबार कास्कीका संघीय सांसद तथा प्रदेशसभा सभासदसँग छलफल चलायो ।कार्यक्रममा सांसदहरुले महानगरले ल्याएका योजनाहरुहरुलाई कायान्वयन तहमा लैजानुपर्ने बताउँदै पिपिपी मोडेलमा योजना बनाउँदा सार्वजनकि हितलाई केन्द्रमा राखेर बनाउन सुझाव दिए । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै पिपिपी आयोजनालाई अगाडि बढाउनु पर्ने बताए ।
कास्की क्षेत्र नम्बर १ का सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले सेती खोंचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माण गर्दा शवदहस्थल र रामघाटबाट नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्नुपर्ने बताए । गण्डकी प्रदेश सांसद तथा विकास समितिका सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँहरु भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने बताए । प्रदेश सांसद मनबहादुर गुरुङले रामघाटलाई तालको रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्ने बताए प्रदेश सांसद विन्दुकुमार थापाले सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदुषित हुनबाट जोगाउनुपर्ने बताए । प्रदेश सांसद रामजी बरालले सेतीबाट नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेश सांसद राजीव पहारीले मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर भएर काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदी, पुष्पा केसी भण्डारीले पनि महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक पर्नेमा जोड दिएका थिए ।
महानगरका प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै महानगरले तीन आयोजनालाई पिपिपी मोडेलमा अगाडि बढाएको बताए । कार्यक्रममा सार्वजनिक निजी साझेदारी कार्यक्रमका सहजकर्ता अनन्तप्रसाद कोइरालाले ३ वटा आयोजनाको बारेमा प्रस्तुति राखेका थिए ।





