पोखरा, २ माघ – कास्कीमा पछिल्लो समयमा बैंकिङ सम्बन्धी मुद्दा बढ्न थालेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीमा पछिल्लो ६ महिनामा बंैकिङ कसुरसम्बन्धि ३२ मुद्धा दर्ता भएका छन् । बुधबार मासिक प्रगती विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले पुस मसान्तसम्म ३२ मुद्धा दर्ता भएको जानकारी दिएका हुन् । उनका अनुसार यी मुद्धामा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरेको छ ।
अन्य १० जना भने फरार छन् । यी मुद्धामा २ करोड ४५ लाख ३२ हजार ५ सय बिगो दाबी गरिएको छ । डिएसपी केसीले कतिपय कारोबारी थाहै नपाई बैंकिङ कसुरमा फस्ने गरेको बताए । उनका अनुसार पक्राउ परेका कतिले प्रहरीलाई बयान दिँदा आफूलाई बैंकिङ कसुरबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिने गरेका छन् ।डिएसपी केसीले भने, ‘कतिले पक्राउ परेपछि मात्र आफूलाई यो विषयमा थाहा भएको प्रतिक्रया दिने गरेका छनज्, मुद्धा दर्ता भएर पक्राउ परेपछि कतिले पैसा फिर्ता गर्छन् तर मुद्धा दर्ता भैसकेपछि त्यसलाई किनारा लगाउन गाह्रो हुन्छ ।’
एक महिनामा एक सय ५३ मुद्धा दर्ता
जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा एक सय ५३ मुद्धा दर्ता भएका छन् । पुस महिनाभर एक सय ५३ मुद्धा दर्ता भएको डिएसपी केसीले बताए । पुष महिनामा सबैभन्दा धेरै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा ४७ मुद्धा दर्ता भएको छ ।त्यसपछि पुस महिनामा सबैभन्दा धेरै लागूऔषधका २४ मुद्धा छन् । यस्तै बैंकिङ कसुरका १७, जबरजस्ती करणीका ७, ठगीसम्बन्धी ५ र चोरीका ६ मुद्धा परेका छन् ।यसबाहेक झुण्डीएर आत्महत्या ११, जुवामा ४ र बहु–विवाहमा ३ मुद्धा दर्ता भएका छन् । प्रहरीले पुष महिनाभर चोरीका घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
३५ लागूऔषध कारोबारी पक्राउ
कास्की प्रहरीले पुष महिनामा ३५ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । डिएसपी केसीका अनुसार एक महिनामा २४ मुद्धा दर्ता भएकोमा ३५ जनालाई पक्राउ गरिएको हो ।प्रहरीले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै भदौ महिनामा ३८ जनालाई लागूऔषधसहित समातेको छ । यस्तै कार्तिक महिनामा १४ जनालाई नियन्त्रणमा लिइएकोमा असोज र मंसिरमा समान १३÷१३ जनालाई नियन्त्रणमा लिएको छ ।प्रदेशको राजधानीसँगै लागूऔषधका प्रयोगकर्ता धेरै भएकाले पनि कास्कीबाट कारोबारी धेरै समातिने गरेको प्रहरीको भनाई छ ।





