आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

न पुराना घर, न भनेजस्तो व्यापार : पोखराको पुरानो बजार

न पुराना घर, न भनेजस्तो व्यापार : पोखराको पुरानो बजार


  • ढोरपाटन संबाददाता
  • माघ ३ २०७६, शुक्रबार

पोखरा,३ माघ – कास्कीका राजा शिद्धिनरसिंह शाहले १७७२ सालतिर भक्तपुरबाट २६ कुरिया नेवारहरुलाई पोखरा बोलाए । विन्ध्यवासिनी मन्दिर तल रहेको भीमसेनटोल वरपर बस्ती बसाए अनि व्यापारमा लाग्न आग्रह गरे । व्यापारमा कहलिएका नेवारहरुले भीमसेनटोल क्षेत्रबाट संगठित व्यापारको सुरुवात गरे । लामो समय भीमसेनटोल वरपरको क्षेत्र नै पोखराको मूख्य व्यापरिक केन्द्र बन्न पुग्यो । भीमसेनटोलबाट व्यापार नालाको मुख, रामकृष्ण टोलसम्म फैलियो भने माथितिर मोहोरिया टोल,बगर र टुँडिखेलसम्म पनि पुग्यो । अहिले पोखराको पुरानो यो टोल सुनसानजस्तो बनेको छ । हिजो भर्खरै जन्मेको महेन्द्रपुल, लेकसाइड र अझ कान्छो न्यूरोडको छायाँमा परेको छ, पोखराको पुरानो बजार । इतिहास सम्झाउने घरहरु छन्, व्यापार छैन, सुनचाँदीले धानेको मोहोरियाटोलले विरासत धान्दै आए पनि आजकल पोखराको पुरानो बजार साँच्चिकै सुस्ताएको छ । अहिले त्यहाँ भएका पुराना सुनचाँदी पसल पनि अन्यत्र सर्दै गएका छन् । ‘ढुृंगा बिच्छ्याइएको यहाँको साँघुरो बाटोमा कुनै बेला खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो’,५१ वर्षदेखि पोखराको मोहोरिया टोलमा फेन्सी पसल चलाउँदै आएका अम्बर तुलाचनले पुराना दिन सम्झँदै भने,‘चाडबाडको बेलामा त यहाँ भारी खेप्ने र खच्चडको ताँती मात्र हुन्थ्यो ।’ अम्बर तुलाचन ७१ र उनले चलाउँदै आएको अम्बर फेन्सी ५२ वर्षमा टेक्यो । व्यापार नयाँ ठाउँमा स¥यो तर उनी भने पुरानो घरबाट नाम बदलेर अम्बर इम्पोरियम कुर्दैछन् । ‘पुराना ग्राहक आउँछन्, मलाई धेरै कमाउने लोभ छैन, त्यसैले यतै छु’, उनले भने ।
हो, उनी त पसल कुर्दैछन् । अरु लाखापाखा लागे । यस्तै पुराना घर भएको बन्दीपुरले त्यही घर पुननिर्माण गर्दै स्तरीय होटल चलाएका छन् । भक्तपुरमा पनि पुराना घरको संरक्षण अभियान चलेको छ । ‘तर पर्यटकीय दृष्टिले महत्व राख्ने यस्ता घरप्रति पोखरामा कसैको पनि चासो छैन’, गणेशटोलमा पुरानो घर जोगाउँदै आएका प्रविण पालिखेले भने,‘यस्ता घर जोगाउन राज्यले कर छुट वा त्यस्तो सहुलियत दिनुपर्छ तर, यहाँ उल्टै दुःख दिइन्छ ।’ उनी आफै एकपटक पोखरा महानगर पुगेका थिए, काम लिएर । महानगरको भित्तामा उनकै घरको फोटो झुण्डिएको थियो । पोखराको गौरव मानिएको त्यही घरमूली भने छिटो काम नभएर त्यहीँ झुण्डिने अवस्था आयो । उनले भने,‘अहिले यो क्षेत्रमा भएका धेरै घर आधुनिक भइसके ।’
रामकृष्णटोलबाट गणेशटोल, भैरवटोल,मोहोरयाटोलसम्मको बाटो पर्यटकको लागि पनि लोकप्रिय थियो । उनीहरु पुराना घर हेर्दै हिँड्थे । फोटो खिच्थे । अब भने गाह्रो भएको छ । पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा मोहोरियाटोलका बासिन्दा सुरेन्द्रमान विजुक्छेका अनुसार अब त्यस्ता पुराना घरहरु ५० को हाराहारीमा पनि छैनन् । ‘जे हुनु त भइसक्यो, नयाँघरमा बस्न खोज्ने मान्छेको बानी नै हो, कतैबाट संरक्षणको पहल र सुविधा दिएको भए ती घर बच्थे होला’, उनले भने,‘यही सम्झेर हामीले भैरवटोलमा कलात्मक र संस्कृति झल्कने भैरवमन्दिर बनाउँदैछौँ ।’ मन्दिरको काम धमाधम भइरहेको उनले जनाए । करिब २ करोडको लागतमा बन्ने मन्दिर एउटा पर्यटकीय गन्तब्य बन्नसक्ने उनले अनुमान लगाए । पोखरा उद्योग वाणिज्य संघले कुनैबेला त्यो क्षेत्रलाई पुनर्जिवित गर्ने तथा हस्तकला र पर्यटकीय सामानको बिक्री केन्द्र बनाउने सोच अगाडि सारेको थियो । ‘तर स्थानीयहरुबाट उति ध्यान नदिँदा त्यो अभियान रोकिएको संघका उपाध्यक्ष पवनकुमार प्रजापतिले जनाए । ‘हामी अझै पनि सो क्षेत्रमा कोसेलीघर र हस्तकलाको बजार बनाउन सकिन्छ कि भन्नेबारे सोच्दैछौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->