पोखरा,३ माघ – मिस तामाङको पाँचौँ संस्करण शनिबार पोखरामा हुँदैछ ।पोखरा सभागृहमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले विहीबार पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ ४ गते पोखरा सभागृहमा हुने बताएका हुन् ।
मञ्जुश्री संवत २८५६ को अवसरमा आयोजना गर्न लागिएको यो ल्होसार म्युजिक फेस्टिभल को यो सातौँ संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ हुन लागेको हो । प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउदै छन् । सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक कविता योञ्जनले अन्य सौन्दर्य प्रतियोगिता भन्दा यो भिन्न रहेको दावी गरिन् । उनले रुपमा सौन्दर्य प्रतियोगिता जस्तो देखिएता पनि गहिराइमा मिस तामाङ भाषा, संस्कृति र संस्कारलाई युवा पुस्तामाझ परिचय गराउन आयोजना गरिएको बताइन् ।प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।





