स्याङ्जा सदरमुकामदेखि पश्चिमी भागमा अवस्थित पाल्पासँग सिमाना जोडिएको गल्याङ नगरपालिकाले देख्दा सामान्य लाग्ने तर जनता र जनताको जीवनस“ग प्रत्यक्ष जोडिएका विषयहरुमा काम गर्दै आएको छ । नगरको अधिकाशं भूभाग पहाडी र भिरालो खालको भएकोले आफ्नो भौगोलिक अवस्थालाई मध्येनजर गरेर सोही अनुसारका कृषि र पर्यटनका क्षेत्रमा विकास गर्ने उदेश्य पनि नगरले लिएको छ । जिल्लाका ११ वटा पालिकामध्ये गल्याङ नगरपालिका साविकका ८ वटा गाविसलाई समेटेर ११ वडा रहेको गल्याङ नगरपालिका बनेको हो । नगरपालिका आफ्नो भौगोलिक अवस्था र जनचाहाना अनुसार कृषि, पर्यटनका साथ साथै पूर्वाधारको निर्माण कार्यमा आफ्नो ध्यान केन्द्रित गरेको छ । पहाडी भूभागका कारण नगरपालिका नै भए पनि काम गर्न सजिलो छैन । तर, प्रतिकुलतालाई नै अनुकुलतामा बदल्दै नगरपालिकाले समग्र नगरको विकासको लागि आफ्ना कामहरुलाई अगाडी बढाउँदै आएको छ । आखिर के गर्दैछ त नगरपालिकाले ? सहकर्मी हिमलाल पराजुलीले नगरप्रमुख भूपराज अधिकारीसँग नगरको विकासका लागि गरेका काम त्यसको प्रभाव र आगामी योजनाका विषयमा लामो कुराकानी गरे । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
नगरको विकासका लागि के–के गर्नुभएको छ ?
–समग्र नगरको विकासको लागि योजना बनाएर अगाडी बढेका छौँ । मानवीय विकास, भौतिक विकास, आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक विकासमा हामीले काम गरिरहेका छाँै । जबसम्म व्यक्तिगत समृद्धि हाँसिल गर्न सक्दैनौँ तबसम्म समृद्धिको लक्ष्यमा पुग्न नसकिने भएकोले सोही अनुसार काम गरिरहेका छौँ ।
कृषि र पर्यटनका माध्यमबाट समृद्धि ल्याउने योजना कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?
–नगरपालिकाले कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्दै यहाँ उत्पादित वस्तुको बजारीकरणको लागि काम गरेको छ । किसानहरुलाई कृषि पेशामा टिकाइराख्नको लागि नगरपालिकाले कृषकलाई उत्पादन र कामको आधारमा अनुदान दिनुकासाथै उत्पादित वस्तुको जिम्मा नगरपालिकाले लिने काम गरेको छ ।
पूर्वाधारका क्षेत्रमा के–के गर्नुभएको छ ?
–नगरपालिकाको बीच भागबाट सिद्धार्थ राजमार्ग गए पनि पहाडी नगरपालिका भएकोले नगरभित्रका अधिकाँशं वडाहरुमा सडकको समस्या भएकोले सडक निर्माण कार्यमा लागेका छाँै । डेढ वर्षदेखि नगरका आफ्नै डोजर प्रयोग गरेर सडक निर्माण कार्यमा लागेका छौँ । सबै सडकलाई कालोपत्रे गर्न नसके पनि ग्राबेलसम्म गरेर बाह्रै महिना सहजरुपमा जनतालाई आवतजावत गर्न मिल्ने बनाउँछौँ । सबै जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्नेगरि काम गरिरहेका छौँ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?
–नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई महत्वपूर्ण रुपमा लिएको छ । शिक्षा क्षेत्रमा स्थानीयस्तरमा रहेका परम्परा संस्कृतीको संरक्षण र प्रवद्र्धनको लागि ऐतिहासिक धार्मिकस्थल, परम्परा र पालिकाभित्र रहेका पर्यटकीय स्थहरुलाई समेटेर स्थानीय पाठ्यक्रमको निर्माण गर्ने कार्यलाई अगाडी बढाएका छौँ । यसले परम्पराको संरक्षणमा सहयोग पु¥याउन मद्दत गर्छ । स्वास्थ्य क्षेत्रमा अस्पतालको स्थापना गरेर सहज रुपमा जनतालाई स्वास्थ्य सेवा दिने भनेर लागेका छाँै ।
पर्यटनको क्षेत्रमा कस्तो योजना बनाउनु भएको छ र कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
–हामीले पर्यटन क्षेत्रलाई रोजगारीको सिर्जना गर्ने माध्यमका रुपमा लिएका छौँ । पर्यटनका लागि आवश्यक पर्ने पुर्वाधारहरु निर्माण गर्ने कार्य भइरहेको छ । पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने गाउँका स्थानीय बासिन्दाहरुलाई पर्यटन सम्बन्धि बिभिन्न प्रकारका तालिमहरु सञ्चालन गरेका छौँ । कृषिको विकासबिना पर्यटन व्यवसाय सफल हुन नसक्ने भएकोले कृषि र पर्यटनलाई एक अर्काका परिपूरकका रुपमा लिएका छौँ ।
पहिला उत्पादन अनि मात्रै पर्यटन किन ?
–पर्यटकका कुरा गरिरहँदा पर्यटक किन आउने भन्ने कुरालाई हामीले भुल्नु हुँदैन । केवल घुम्न र कुनै ठाउँ हेर्नकै लागि मात्रै पर्यटकहरु आउँदैनन । उनीहरु त्यस ठाउँमा उत्पादित स्थानीय उत्पादन खान मन पराउँछन् । त्यसैले पनि हामीले पर्यटकलाई भित्राउनुभन्दा पहिले स्थानीय स्तरमा हुने र गर्न सकिने उत्पादनमा ध्यान दिनुपर्छ । सहर बजारको खानपिन र कोलाहलले गर्दा केही समय घुमाँै र अर्गानिक खानेकुरा खाऊँ भनेर आउने पर्यटकलाई बजारबाट ल्याएर विषादीयुक्त खानेकुरा खुवाएर पर्यटन व्यवसायलाई दिर्घकालीन रुपमा सञ्चालन गर्न नसकिने भएकोले यो व्यवसायलाई टिकाई राख्न पनि हामीले पहिला उत्पादन अनि मात्रै पर्यटक भन्ने नीति लिएका हौँ ।
नगरबासीको चेतना बृद्धि गर्नको लागि त्यस्तो कुनै कार्यक्रम बनाउनु भएको छ ?
–नगरबासीहरुमा जनचेतना फैलाउने उदेश्यले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ । विशेष गरेर युवायुवतीहरु उमेर समूहका कारण बिभिन्न कुलतमा फस्न सक्ने भएकाले युवायुवतीहरुलाई लक्षित गरेर बिभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरु बेला–बेलामा सञ्चालन गर्दै आएका छौँ । सन्तुलित रुपमा विकासका योजना बनाएर अगाडी बढेको छ । पूर्वाधारका रुपमा सड्कको निर्माण गर्नुका साथै कृषि र पर्यटनका माध्यमबाट मात्रै समृद्ध नगर निर्माण गर्न सकिने भएकोले नगरभित्र रहेका किसानहरुलाई कृषि क्षेत्रमा लाग्नको लागि प्रोत्साहन गर्ने उदेश्यले बिभिन्न तालिमका साथै अनुदानको समेत व्यवस्था गरिएको छ ।
शैक्षिक क्षेत्रमा काम गर्दागर्दै निर्वाचित भएर जनप्रतिनिधिको रुपमा आउनुभएको छ । पहिला र अहिले काम गर्ने क्रममा कस्तो फरक छ ?
–पहिलो म शिक्षा क्षेत्रमा काम गर्दाको र अहिलेको अवस्थामा धेरै भिन्नता छ । त्यतीबेला विद्यार्थी र अभिभावकसँग नजिक रहेर काम गरेमात्रै पुग्थ्यो भने अहिले नगरपालिकामा निर्वाचित भएर आइसकेपछि जिम्मेवारीको दायरा धेरै फराकिलो भएको छ । संघीय सरकारका सबै मन्त्रालयले गर्ने कामका जिम्मेवारी स्थानीय तहले पनि सोही अनुसार गर्नुपर्ने भएकोले जिम्मेबारी धेरै रहेको महसुस गरेको छु ।
जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिलेको भन्ने गाँइगुँइ पनि छ नि !
–तालमेल नै नमिलेको त नभनौँ । कहिले केही समस्याहरु आउँछन् । त्यस्ता समस्याहरुको बसेर छलफल र सरसल्लाहबाट समाधान गर्ने गरेको छु । यसमा खासै ठूला समस्या आएका छैनन् ।
निर्वाचनका बेला गरेका प्रतिबद्धताको अवस्था कस्तो छ ? भुल्नु भो कि !
–निर्वाचनका बेला गरेका बाचाहरु पूरा गर्ने अभियानमा छौँ भुल्ने त कुरै आउँदैन । निर्वाचनका बेला रोजगारीका अवसरको सिर्जना बाचा गरेको थिएँ । सोही बाचा अनुसार कृषिका माध्यमबाट स्वरोजगार बनाउने अभियानअन्तर्गत किसानहरुलाई कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरेका छौँ भने भूमि बैंकको स्थापना गरेर कृषि क्षेत्रमा काम गर्न चाहने युवाहरुलाई प्रोत्सान गर्ने योजनामा नगरपालिका रहेको छ । रोजगारीको लागि अन्यत्र भौँतारिने युवा शक्तिलाई नगरभित्रै काम गर्ने वातावरणको निर्माण नगरेसम्म नगरको विकास सम्भव नभएकोले काम गर्ने चाहना भएका तर जमिनको अभावमा काम गर्न नपाएका युवाहरुलाई व्यवसाय सञ्चालन गर्नको लागि भूमि बैंकको अवधारण ल्याएका हौँ । यसले कृषि क्षेत्रमा लागेर केही गर्छु भन्नेहरुका लागि एउटा अवसरको ढोका खोल्छ । आफ्नो मानो खाएर अरुको कुरा गर्ने कार्यको अन्त्य नभएसम्म देशमा समृद्धि ल्याउन नसकिने भएकोले फुर्सदिला बनेर अरुको कुरा गरेरै दिन बिताउने परम्पराको अन्त्यको लागि जाँगर हुनेहरुका लागि नगरले सहयोग गर्छ ।
छुर्पी खाऊँ सुर्ती हटाऊँ भन्ने अभियान कहाँ पुग्यो ?
–यसलाई एउटा अभियानकै रुपमा सञ्चालन गर्नुपर्छं भन्ने लाग्छ । किनभने सुर्तीजन्य पदार्थले हाम्रो जीवनमा पार्ने असरका बारेमा जनचेतना जगाउने उद्वेश्यले यो कार्यक्रम ल्याइएको र यसलाई सबैले साथ दिएको खण्डमा जनताको स्वास्थ्यमा समेत फाइदा हुनेहुँदा यसमा सबैको सहयोग आवश्यक छ । यो अभियान केही सुस्त जस्तो देखिए पनि अवश्य सफल हुन्छ ।
सेतो नगरको रुपमा विकास गर्ने योजना कहाँ पग्यो ?
–सेतो नगरको रुपमा विकास गर्ने लक्ष्यले विस्तारै सार्थकता पाउँदैछ । सेतो नगरको अवधारणा दुग्ध उत्पादनमा बृद्धि गर्ने योजना अनुसार आएको हो । यो सार्थकता पाउने क्रममा अगाडी बढेको छ । यो अभियान सुरु गरेपछि एक लिटर दूधसमेत बाहिर नबेच्नेले अहिले २ हजार २५ लिटर दूध बिक्री गर्ने गरेकाछन् । सेतो नगरको उदेश्य सबैले दूध उत्पादन गर्ने र यसबाट बनेका परिकारहरु सबैको भान्सामा प्रयोग भएपछि नगरलाई सेतो नगरका रुपमा घोषण गर्छौँ ।
अन्त्यमा केही भन्नु छ ?
–म यहाँको अनलाईन पत्रिकामार्फत समृद्ध गल्याङ नगरपालिका निर्माण गर्ने अभियानमा सबै हातेमालो गरेर अगाडी बढौँ । विकासमा राजनीति नगराँै । हाम्रै पालामा समृद्धि ल्याउनु छ भन्न चाहन्छु । धन्यवाद ।





