पोखरा,२३,माघ – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानसंग नेपाल १८ रनले पराजित भएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रन बनाउँदै अल आउट हुनपुग्यो ।
घरेलु मैदानमा भएको खेलमा नेपालले जित हात पार्न भने सकेन । घरेलु दर्शकको साथ पाएको नेपालको सुरुवात राम्रो हुन सकेन ।
नेपालको लागि तेस्रो ब्याट्सम्यानका रुपमा रहेका शरद भेषवाकर र नवौ ब्याट्सम्यानको रुपमा रहेका सन्दिप लामिछानेले इनिङ उकास्ने काम गरेपनि जितको लागि पर्याप्त हुन सकेन । नेपालको लागि शरदले सर्वाधिक ५५ रनको योगदान दिए । शरद घरेलु मैदानमा ओडीआइमा अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बने । उनले १ सय ८ बलमा ५ चौका प्रहार गरे । शरदले ९६ बलमा अर्ध शतक पूरा गरेका थिए ।
बुधवार भएको खेलमा सन्दीप लामिछानेले पनि उत्कृष्ट प्रदर्शनी गरे । स्पिनर बलरको रुपमा चिनिने सन्दीपले व्याटमा समेत निकै राम्रो प्रदर्शन देखाए । सन्दीप र शरदले आठाँैं विकेटका लागि ३८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रन बनाउदैँ क्याच आउट भए ।
नेपालको लागि ओपनरको रुपमा छिरेका ब्याट्सम्यान पारस खड्का ३ रनमै आउट भए । अर्का ओपनर ज्ञानेन्द्र मल्ल भने एक रनमै पेभेलियन फर्किए । उपकप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । दीपेन्द्र ३६ रनमा एलबिडब्लू आउट भए । दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख ६ रनमा जिशान मकसुदबाट कट एण्ड बोल्ड हुँदै आउट भए । रोहित कुमार पौडेल शुन्य रनमै पेभेलियन फर्किए । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गरे । विनोद अलीले सन्दीप गौडबाट २६ रनमा क्याच आउट भए । विनोदले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । करण पनि शुन्यमै पेभेलियन फर्किए । अभिनाश बोहरा र सुशन भारीले समान ८–८ रन बनाए ।
ओमानका लागि जिशान मकसुदले १० ओभरमा ३ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । कलीमुल्लाह र बिलाल खानले समान २–२ विकेट लिए । मोहम्मद नदीम, खावर अली र अकीब इलियासले पनि समान १–१ विकेट लिए ।
यसअघि टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाउन सफल भयो । ओमानको लागि पाचौँ ब्याट्सम्यानका रुपमा क्रिज छिरेका मोहम्मद नदीमले ६९ रनको अविजित अर्ध शतकीय इनिङ खेले । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ओमानको लागि सम्मानजनक रन बनाए । बिलाल खान ८ रनमा अविजित रहे ।
ओमानका लागि ओपनर ब्याट्सम्यानका रुपमा क्रिज पुगेका जितेन्दर सिंह ४ रनमै आउट भए । ६ बल खेलेका सिंहले एक चौका प्रहार गरे । दोस्रो ओपनरको रुपमा रहेका खवार अलि ५ रनमा आउट भए । १५ बल खेलेका उनले १ चौका प्रहार गर्दै पाचँ रन बनाए ।
नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिएको थियो । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्कासहित महत्वपूर्ण २८ रन जोडे । करणले शरदबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।
अकीब ल्यास १६ रनमा रन आउट भए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे । १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गरे । सुशनको अपिलमा अम्पायरले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्रबाट शून्यमा क्याच भए ।
खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए । यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तोडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारसले क्याच लिएपनि बाहिर पुगे । दीपेन्द्रको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे ।
तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्रको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् । नेपालले अव शनिवार अमेरिकासँग खेल्ने छ ।





