शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मुस्ताङचोकको एउटा घर जहाँ मान्छे हैनन्,भुस्याहा कुकुर, भँगेरा र माकुरा बस्छन् !

मुस्ताङचोकको एउटा घर जहाँ मान्छे हैनन्,भुस्याहा कुकुर, भँगेरा र माकुरा बस्छन् !


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०७६, मंगलबार

पोखरा,४ चैत – पोखरा विमानस्थलबाट नजिकै मुस्ताङचोकमा पाँचतले एउटा घर वर्षौँदेखि खालि छ । भवन हेर्दा राम्रै छ । तर, त्यहाँ कोही बस्दैनन् । पोखराको व्यस्तमध्येको एक चोक हो, मुस्ताङचोक । वरपर सरकारी अड्डा भएकाले पनि त्यहाँ भीडभाड भइरहन्छ । भवन कस्को र किन खालि भयो ? धेरैलाई थाहा छैन । तर, विमानस्थल नजिकैको त्यो भवनको स्वामित्व नागरिक उड्डयन प्राधिकरणसँगै छ ।
२०७३ सालमा निर्माण सम्पन्न भएको उक्त भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन बनाइएको प्राधिकरण बताउँछ ।व् यापारिक प्रयोजनका लागि बनाइएको सो भवन अहिले खालि छ । भवनका कुनै पनि सटर अहिलेसम्म व्यापारिक प्रयोजनका लागि प्रयोग भएको छैनन् । बरु, भुस्याहा कुकुर र चराचुरुङ्गी बस्ने ठाउँ बनेको छ । भवनका सटर र च्यानल गेट खियालाग्दै गएका छन् । झ्यालका सिसा ठाउँठाउँमा फुटिसकेका छन् । फुटिसकेको भन्दापनि कसैले फुटाएको जस्तो देखिन्छ । सिँढीका मार्वल पनि ठाउँठाउँमा फुटेका छन् ।
यो सब देखेपछि थाहा हुन्छ, सरकारी सम्पत्तिको कतिसम्म दुरुपयोग भएको छ ! पोखरा महानगरपालिका १७ मुस्ताङचोकमा पर्ने उक्त भवन निर्माण सकिएको ठ्याक्कै ४ वर्ष पुग्यो । ४ वर्षमा नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको पोखरा विमानस्थल कार्यालयले भवन भाडामा लगाउनका लागि ५ पटक सूचना निकालिसक्यो । तर, सटर भाडामा लिनका लागि एउटै व्यापारीकोे पनि निवेदन परेको छैन ।
पोखरा विमानस्थलका पूर्वसूचना अधिकारी काशीनाथ पौडेलका अनुसार भवन भाडामा लगाउनका लागि विमानस्थलले पहिलोपटक ०७३ साउन १२ मा सूचना निकालेको थियो । पहिलोपटकको सूचनामा कसैको आवेदन नपरेपछि विमानस्थलले १८ भदौमा दोस्रो सूचना निकाल्यो । दोस्रोपटक सुचना निकाल्दा समेत कसैको आवेदन परेन ।
भवन भाडामा लिन कसैको आवेदन नपरेपनि विमानस्थलले सूचना प्रकाशित गर्न भने छाडेन । तेस्रोपटक कार्तिक १ गते सूचना निकाल्यो । तेस्रोपटकको सूचनामा पनि कसैको आवेदन परेन । चौथौपटक फागुन १ मा अर्को सूचना निकाल्यो । एकवर्ष भित्रमा चारचार पटक सूचना निकाले पनि भवनमा कसैले हक दाबी गर्न आएनन् ।
चारचार पटकसम्म सूचना निकाल्दासमेत भवन भाडामा नगएपनि विमानस्थलले उही प्रक्रिया दोहो¥यायो । पाँचौपटक ०७५ फागुन ४ मा सूचना निकाल्यो । तै पनि कसैको आवेदन परेन । पाँच पटकसम्म सूचना निकाल्दा पनि आवेदन नपरेपछि विमानस्थलले सूचना निकाल्न छाड्यो ।सूचनासँगसँगै भवन भाडामा नगएपछि विमानस्थलले भवनको पनि वास्ता गर्न छाड्यो । भवनको अघिपछि थुप्रिएको फोहोर, फुटेका सिसाका बोत्तल, भित्तामा कोरिएका अनावश्यक पेन्टिङ, जथाभावी फालिएका झुत्रा कपडा र फुटेका सिँढी, द्मयालले यो सब प्रस्ट्याउँछ ।
बढ्दो जनसंख्या बृद्धिले भवन अभाब भइरहँदा बजारकै बीचमा पर्ने सरकारी भवन भने भाडामा जान सकेको छैन । भवनमा सामान्य ५ सटर छन् । अन्डर ग्राउन्ड सहित भवन ५ तलाको छ ।
पोखरामा भवन भाडामा लिने, लगाउने व्यापार गर्दै आएका व्यापारीहरु भने उक्त भवनको भाडादर महंगो भएकाले भाडामा नगएको बताउँछन् । ‘पोखरामा चलेको भन्दा बढी रेट भयो त्यसैले लिएनौँ’, पोखरामा लामो समयदेखि भवनको कारोबार गर्दै आएका एक व्यापारिले भने । नाम उल्लेख नगर्ने सर्तमा अर्का व्यापारिले ऐन पनि सेटिङमै बन्ने त हो । आफ्ना नजिककालाई भाडामा लगाउन महंगो भाडादर तोकिएकोले भवन खालि नै रहेको प्रतिक्रिया दिए । विमानस्थलका अधिकारी पौडेलले भने प्रतिमिटर स्क्वायर ३ सयका दरले मात्रै भाडामा लगाउन पाइने ऐनमै प्रष्ट उल्लेख गरिएको जानकारी दिए । ‘ऐनभन्दा बाहिर गएर त कहाँ काम गर्न मिल्छ ?’ उनले भने, ‘ऐनमा त्रिभुवन विमानस्थल बाहेकका क्षेत्रीय विमानस्थलका भवनमा ३ सय रुपैयाँ प्रति स्क्वायर मिटरका दरले मात्रै भाडामा लगाउन मिल्छ ।’ उनले भवन भाडाको समायावधि कम राखिएकाले भाडामा नगएको तर्क गरे । व्यापारीहरुले कम्तिमा १० वर्षका लागि पाए भाडामा लिने इच्छा देखाएको उनले सुनाए ।
जम्माजम्मी १३ सय १४ दशमलव ९३ स्क्वायर मिटरको उक्त भवनलाई भाडामा लगाउँदा मासिक ३ लाख ९४ हजार ४ सय ७९ रुपैयाँ पर्न जान्छ । करिब ६ करोड लागतमा भवन बनेको विमानस्थल स्रोतको भनाई छ । भवन भाडामा नगए पनि भवनको संरक्षण त गर्नुपथ्र्यो । संरक्षण भएन भन्ने प्रश्नमा विमानस्थल प्रमुख भोला गुरागाईँले भने, ‘होइन, हामीले संरक्षण गरिरहेका छौँ । पुलिस प्रशासन पनि लागिरहेको छ । कहिलेकाहिँ रातमा बद्मासहरुले फुटाउने हुन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->