स्याङ्जा, २ बैशाख– कोरोनाको कहरसंगै लकडाउनको समय लम्बिएपछि नयाँ वर्षमा घुमघाम गर्न नपाए पनि गाउँघरका किसानलाई भ्याईनभ्याई छ । पाकेको खेती भित्राउन र नयाँ बाली लगाउन किसान ब्यस्त छन् । वालिङ नगरपालिका–१२ का मुक्तिप्रसाद विश्वकर्माले गाउँँघरका किसानलाई लकडाउनले खासै प्रभाव नपारेको बताए । उनले भने– ‘लकडाउनले बाहिर हिड्डुल गर्न नपाए पनि आफुहरु यतिबेला मकै छर्न र गहुँ भित्राउन ब्यस्त छन् ।’
वालिङ–६ का शम्भु अर्यालले लकडाउनको समयमा साहित्य रचना गर्ने गरेको बताए । उनले भने– ‘लकडाउने बाहिर हिड्डुल गर्न नपाए पनि यो समयलाई घरभित्रै बसेर साहित्य सिर्जनामा सदुपयोग गर्ने गरेको छु ।’ समयलाई आफु अनुकुल प्रयोग गर्न सक्नुपर्ने अर्याल बताउँछन् ।
कालीगण्डकी गाउँपालिका–७ मिर्मी कि विन्दु भट्टराईलेले लकडाउनले नयाँ वर्षमा घुम्न जाने र साथीहरुसंग रमाइलो गर्ने योजना पूरा नभए पनि यो समयलाई सामाजिक सेवामा सदुपयोग गर्ने गरेको बताइन् । कालीगण्डकी गाउँपालिकाको कार्यालयमा कार्यरत भट्टराईले भनिन्– ‘नयाँ वर्षमा पहिले–पहिले रमाईलो गर्ने, नयाँ ठाउमा घुम्न जाने गरिन्थ्यो तर यसपालि लकडाउनले त्यस्तो गर्न नपाएपनि घरमै बसेर रचनात्मक काम गरियो ।’





