सरकार र आम नागरिकबीच रहेको दोहोरो बुझाई, सरकार भन्छ नागरिकको सुरक्षाको लागि र भोलीको भयावह स्थितीको बारेमा आंकलन गरी बेलैमा सजगता अपनाएको हो । नागरिक संरक्षणकै खातिर स्वतन्त्र आवागमनमा रोक लगाइएको हो, लकडाउन गरिएको हो । यसलाई निरन्तरता दिइएको हो ।
नागरिक भन्छन् (खासगरि असंगठीत श्रम क्षेत्रमा कार्यरत मजदुर) काम बन्द भयो, कार्यस्थलमा केहि दिनको लागि रसद पानी थियो त्यो सकियो, अब म जहाँ छु त्यहाँ खाना पानीको समेत कुनै प्रवन्ध छैन र जसले यहाँ यो कामको लागि ल्याएको हो उ पनि सम्पर्कबाट बिच्छेद भयो । हामीलाई छोडेर कतै गयो । मौजुदा सामान पनि सकियो । कामको ठेगान पनि भएन अब जहाँबाट केहि कमाउन भनि यहाँ आइयो त्यो अनिश्चित भएपछि म हप्तौ लगाई हिडेरै भएपनि घर नगएर कहाँ जाँउ । हिजोको दिन लडेर ल्याएको संविधानमा रहेको स्वतन्त्रताको हकमा देशभित्रै रहेका मेरा बृद्व बाबुआमा, परिवार र छोराछोरी समेत भेट्न मैले नपाउने भन्ने त छैन नै होला । यदि मरिने नै हो भनेपनि मेरो आफ्नै घरमा पुगेर मरौं भन्न पनि नपाउनु, यत्तिमै मेरो अपराध हुने र मलाई अपराधी करार गरी कठघरामा लैजाने हो भने लैजाउ ।
हो यहिँनेरबाट समस्याको उठान हुन्छ । अलग–अलग राखेर दुबै पक्षका माग र चासो हेर्ने हो भने जायजै देखिएलान । तर समय तपाई हामीले सोचेजस्तो सहज रहेन । बिश्वका सम्पन्न देशहरु समेत यो महामारीको निर्मम चपेटाबाट गुज्रिरहेका छन् । तिनले समेत हालसम्म कुनै निकास निकाल्न सकिरहेका छैनन् । सरकार आमनागरिकको अभिभावक पनि हो । उस्ले देशकाल परिस्थिति बिश्लेषण गर्न पनि सक्ला र सक्नुपर्छ । उ सँग शक्ति पनि छ । तर आम नागरिक त्यसमा पनि मजदुर दिउँसो पसिना निकाल्ने र बेलुका सोहि कमाई खाने, केहि बचत गरेर एक बर्ष वा छ महिनामा घर गइ परिवारको खाना, नाना र दुःख बिमारको गर्जो टार्नकै लागि खटिइरहने बर्गले देश बिदेशका कुरा त्यती बुझ्दैन । बुझ्नैपर्छ भनेर जबरजस्त गर्नु पनि युक्तिसंगत हुँदैन । सरकार आम नागरिकको ‘माइबाप’ हो र हुनुपर्दछ । अतः पहिला नागरिकको आँखाबाट सरकारलाई हेरौं त्यो अकिंचनको रोदन सुनौं, सहजिकरण गरौं अनि सरकारका सिमाहरुतर्फ बिचार गरौंला । यसरी पहिलो नम्बरमा त नागरिककै धारणा ठिक हो र दोस्रो नम्बरमा मात्र सरकारको धारणा ठिक हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । तसर्थ यो जटिलता र अफ्ठ्यारो परिस्थिती आम सर्वसाधारण नागरिकलाई बुझाउन सबै क्षेत्रबाट पहल गर्नुपर्ने देखिन आँउछ । सबैभन्दा पहिलो महत्वपूर्ण बिषय यही हो ।
सरकार इतरका पक्षबाट खबरदारीसँगै हौसला, सहयोग र सुझाव पनि दिँदै अघि बढौं । केवल गल्ति र कमि कमजोरी मात्र कोट्याइ संकटको बेला एक अर्कालाई दोष दिएर आफु उम्कने प्रबृत्तिले कुनै पनि पक्षको महानता देखिदैन दोस्रो महत्वपूर्ण बिषय यो हो ।
चीनको बुहानबाट करिव तिन महिना पूर्व शुरु भई यूरोप अमेरिका लगायत विश्वका करिव सबै देशहरुमा प्रभाव छोडेको कोरोना भाइरसको सहज उपचार हालसम्म पत्ता लाग्न नसक्नु नै प्रमुख जोखिमको बिषय हो । सामाजिक दूरि कायम गर्नु नै हालसम्मको सबैभन्दा प्रभावकारी उपायको रुपमा विश्व स्वास्थ्य संगठनले समेत सुझाइरहँदा त्यस विपरीत हामी जानसक्ने अवस्था रहेन ।
बिश्वब्यापी समस्याबाट हामी भाग्न सक्ने अवस्था त रहेन नै । अब मुकाबला गर्नुको बिकल्प नहुँदा हाम्रो तयारी तथा बुझाइहरु कता र कहाँ केन्द्रित गर्नुपर्ने हो । सो बिषयमा भने ब्यापक चनाखो हुनैपर्ने देखिन्छ । संकटको बेलामा नै हो तपाइको सुझबुझ, उत्कृठता र क्षमता प्रदर्शन गर्ने । तपाई जाँचिने र त्यागको उदाहरण दिने । यसमा सरकार र सबै पक्ष सहभागी हुनुपर्दछ ।
सशक्त आमसन्चारका माध्यमहरु छन् । निर्वाचित प्रदेश तथा स्थानीय सरकारहरु छन् । नागरिक समाज, निजी क्षेत्र, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरु, सरकार इतरका दलहरु, देशका बौद्विक जगत र आम नागरिकको साथ र सहयोग लिएर देशको मौजुदा क्षमताको अधिकतम परिचालन सरकारले गर्ने हो । सरकार र उसको संयन्त्र कर्मचारीतन्त्रले नागरिकको दैनिक जनजिवनको सहजता सुनिश्चित गर्ने सन्दर्भमा अबको ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । यो मुलतः देशभित्रकै अफ्ठ्यारोमा परेका नागरिकहरुको आवागमन सहजिकरण, दक्षिण सिमामा रहेका नागरिकहरुको सहज उद्दार, तरकारी तथा खाद्यान्न आपुर्ति ब्यवस्थापनमा ध्यान र मनोसामाजिक परामर्श लगायत हुनसक्छन् । करिव एक महिना लकडाउनको अवधि भैसकेको र अझै लम्बिने संकेत देखिइरहँदा नागरिक त्रास र अपेक्षा बढेर जानु स्वभाविक हो । हो शक्ति आफैमा निरंकुश र भ्रष्ट हुन्छ र पूर्ण शक्तिले थप भ्रष्ट र निरंकुश बनाउन सक्छ भन्ने भनाइलाई गलत सावित गराउनतर्फ सरकारका संयन्त्रहरु र कामहरु क्रियाशिल होउन । कुराभन्दा आफ्नो काममार्फत नागरिक आश्वास्त पार्न सरकार र उसका संयन्त्रहरु लागि रहुन । सरकार इतरका पक्षबाट खबरदारीसँगै हौसला, सहयोग र सुझाव पनि दिँदै अघि बढौं । केवल गल्ति र कमि कमजोरी मात्र कोट्याइ संकटको बेला एक अर्कालाई दोष दिएर आफु उम्कने प्रबृत्तिले कुनै पनि पक्षको महानता देखिदैन दोस्रो महत्वपूर्ण बिषय यो हो ।
अर्कोतर्फ सरकारले सबै दलहरु र तिनका कार्यकर्ताहरु सरकारका संयन्त्रहरु, नागरिक समाज, मेडियाकर्मी, निजी क्षेत्रलाइ कसरी हातमा हात मिलाई अघि बढ्ने हो सोको वातावरण तयार गर्ने । बिभिन्न जिल्लाहरु तथा स्थानीय सरकारहरुको पहलमा भएको ‘फुडबैंक’ को अवधारणालाई लक्षित बर्गमा पूर्याउने । मापदण्ड तयार गरि पारदर्शि किसिमले कमजोर तथा नाजुक स्थितीबाट गुज्रदै गरेका परिवार र ब्यक्तिको लागि विभिन्न तौर–तरिकाबाट सहयोग प्राप्त गरि समन्यायिक बितरण गर्ने । सहयोगी हातहरुमार्फत संकलन भइरहेका सहयोगहरुको पारदर्शि ब्यवस्थापन र निस्वार्थ बितरणको चाँजोपाजो मिलाउने लगायतका कार्यलाई तिब्रताका साथ अघि बढाउन जरुरी देखिन्छ ।
लकडाउनको अवस्था कतिपय प्रदेश तथा स्थानीय सरकारहरुको क्रियाशिलता लोभलाग्दो देखिन्छ । हो तपाइको नागरिकसँगको दुरी अझै घटाउने एक महत्वपूर्ण समय पनि यहि घडि हो । नागरिकका दुःखमा जति तपाई नजिक भएर काम गर्नुभयो तपाईप्रतिको बिश्वास पनि आमनागरिकलाइ त्यही गतिमा बढ्ने हो । स्थानीय तवरमै अस्थायी अस्पताल निर्माणदेखि क्वारेन्टाइन निर्माण, आँकडा संकलन र गौडागौडामा पहरेदारीमा खटेको देख्दा नागरिकको आशा र भरोशा यहि हो भनि नजिकको सरकारलाई जनताले स्यावासी दिएका छन् । यसको दिर्घकालीन महत्वबोध गरौ जुन तेस्रो महत्वपूर्ण बिषय हो ।
सेवा प्रदानको क्रममा अघिल्लो लाइनमा रहि काममा खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कसरी सुरक्षित र उत्प्रेरित पारीरहने तथा ति बर्ग र क्षेत्रलाई कामका बारेमा गौरव गर्न सक्ने बातावरणको सृजना गर्ने । यसतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ किनकी अरु कसैले नीति बनाउलान, मापदण्ड बनाउलान, सहजिकरण गर्लान तर कार्यान्वयनको अग्रपंक्तिमा रहि खट्ने त फेरी पनि यिनै हुन् । यो चौथो महत्वपूर्ण बिषय हो ।
अन्त्यमा समस्या परिसक्यो यसबाट भाग्न सक्ने अवस्था छैन । भागेर जाने ठाउँ पनि पृथ्विमा कहिँकतै हालसम्म देखिएको छैन । अतः जहाँ हुनुहुन्छ जे–जति जस्तो सहयोग गर्न सक्नुहुन्छ त्यो गरेर सामाजिक दायित्व निर्वाह गर्ने र सामाजिक एकतालाई थप बलियो बनाउने पो हो कि ? धन्यवाद ।





