शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बन्दाबन्दी, सामाजिक सञ्जाल र शिक्षा

बन्दाबन्दी, सामाजिक सञ्जाल र शिक्षा


  • नविन किशोर गैह्रे
  • बैशाख १२ २०७७, शुक्रबार

सरकारले बैशाख १५ सम्मलाई बन्दाबन्दी बढाएको छ । त्यसपछि पनि यो समय बढ्ने निश्चित जस्तै छ । अत्यावस्यक बाहेकका अरु सबैसेवा बन्द छन् । यस अवधीभर सामाजिक र भौतिक दुरी कायम गर्दै घरमै बस्नुको अर्को विकल्प हामी नेपाली नागरिकसँग छैन । महामारीको गाम्भिर्यतालाई आँफैले मनन गरेर निकै कडाईसँग पालना गर्नुपर्ने यो काम हामी अधिकांस नेपालीलाई पट्यारिलो लाग्न थालेको छ । कसैलाई त यो अवधी यातनानै लागिरेको पनि हुन सक्छ । स्कूल वा कलेज नजाने र कुनै रोजगारी नभएका र टोलमा क्यारेमबोर्ड वा लुडो खेलेरै खान पुगिरहेको धेरै नेपाली युवालाई खुल्ला रुपमा बाहिर निस्किन नमिलेपछि अहिलेको समय असजिलो लाग्नु स्वभाविकै हो । झन् कामकाजी व्यक्तिलाई त घरमै बस्न कठिन हुनेनै भयो । सुन्दर भविष्य बनाउने सपना बोकेर स्कूल र कलेज जाने विद्यार्थी सबैभन्दा अन्योलमा परेका छन् ।
यो अवधीमा आम नेपाली व्यक्तिले घरका कृषी काम गर्ने, सामान्य अवस्थामा घरमा नपकाइने परिकार पकाएर खाने, किताब पढ्ने, घरमै फिल्म हेर्ने वा गीत सुन्ने र सामाजिक सञ्जालहरु चलाउने जस्ता कार्य गरेर समय कटाएका छन् ।
सूचना प्रविधिको फड्को
अहिले कम्प्युटरमा गरिने चोर औंलाको एक क्लिक वा मोबाइल फोनमा बुढी औंलाले गरिने स्क्रोलमा संसारनै हाम्रो सामुमा आइदिन्छ । एक अर्ब उपभोक्ताको माझमा पुग्न टेलिफोनलाई जहाँ ७५ बर्ष लाग्यो त्यहीं वेबलाई ७ बर्ष, फेसबुकलाई ४ बर्ष, इन्स्टाग्रामलाई २ बर्ष र पोकेमन गोलाई १ महिनामात्र लाग्यो । मानव जीवनमा प्रविधिको यो स्वीकार्यताबाट नेपाली समाज पनि अछुतो छैन । विकसित राष्ट्रहरु जस्तै नेपालमा पनि सूचना र सञ्चार प्रविधीको क्षेत्रमा उल्लेख्य विकास भएको छ । यहाँ कुल जनसंख्याको ७०५ भन्दा धेरै मानिसले इन्टरनेटको प्रयोग गर्छन र इन्टरनेट प्रयोग गर्ने प्रायः सबैले सामाजिक सञ्जालको प्रयोग गर्छन । बन्दाबन्दीको यो अवधीमा इन्टरनेट र यिनै सामाजिक सञ्जालले व्यक्तिलाई जोडेको छ । नेपालमा त्यति चलनमा नरहेको वेबिनार भनिने इन्टरनेटको माध्यमबाट गरिने गोष्ठी सञ्चालन भैरहेका छन् । धेरै स्कूल र कलेजले इन्टरनेट र यिनै सामाजिक सञ्जालले दिएका सुविधाको प्रयोग गरेर भर्चुअल कक्षा सञ्चालन गरेका छन् । विश्वमै अतिकम विकसित मुलुकमध्ये एक भएपनि डेढ दशकअघिसम्म कल्पना गर्न पनि नसकिने इन्टरनेट र सामाजिक सञ्जालका यी सुविधा नेपालका दुईतिहाई जसो नागरिकले अले उपभोग गरिरहेका छन् र यो संख्या बढ्दो छ ।
सामाजिक सञ्जालको लोकप्रियता
इन्टरनेट र सामाजिक सञ्जालका अधिकांस प्रयोगकर्ता १६ देखि ४० बर्ष (यूवा) समूहका छन् । यो समूहको ठूलो हिस्सामा ‘फेसबुक’ लोकप्रिय छ । अहिले आम नागरिकको लागि अभिव्यक्तीको सबैभन्दा सजिलो माध्यम यही फेसबुक बनेको छ । ट्विटर, टिकटक, यूट्युब, इन्स्टाग्राम र मेसेन्जर नेपालमा धेरै प्रयोग गरिने अरु सामाजिक सञ्जाल हुन् । यो बन्दाबन्दीको समयमा सबैको साथी यिनै सामाजिक सञ्जाल बनेका छन् ।
सामाजिक सञ्जाल अन्तकृयात्मक छन् । सूचना वा तथ्यांक प्राप्त गर्नको लागि यि छिटो र भरपर्दा माध्यम हुन् । बन्दाबन्दीको बेलामा घरमा बस्दा यी सामाजिक सञ्जालको माध्यमबाट मनोरञ्जन गर्ने, सूचना प्राप्त गर्ने र आफू अध्यावधिक हुने कार्य गरेर आरामले समय कटाउन सकिन्छ । आफ्ना साथी वा नातेदारसंग सम्पर्कमा रहने, समूह बनाएर सामाजिक गतिविधि गर्ने, आफ्नो व्यक्तिगत पहिचान बनाउने र व्यक्तिगत तथा व्यावसायिक सम्बन्धको विकास गर्ने जस्ता कार्यको लागि पनि सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।
प्रयोगकर्ताले यिनका माध्यमद्वारा आफ्ना लेख वा धारणा राख्न र अरुले गरेका पोष्टमा स्वतन्त्र रुपले टिप्पणी राख्न सक्छन् । यस्तो अभ्यासले प्रयोगकर्तामा अन्तरव्यक्ति संचारको सीप अभिबृद्धि हुन्छ । साथै यी कार्य लिखित रुपमा गरिने भएकाले विद्यार्थीमा भाषा र लेख्ने बानीको विकास पनि भैरहेको हुन्छ । सामाजिक सञ्जालमा साथी बनाउन र विभिन्न समूह वा पृष्ठ सिर्जना गर्न सकिन्छ । यसले समूहमा काम गर्ने बानीको विकास गराउँछ ।
अहिलेको बन्दको बेलामा कुनै विद्यार्थी, कक्षाको समूह वा पृष्ठमार्फत कक्षाकोठा र आफ्नो गुरुसँग जोडिन सक्छ । त्यस्तै सामाजिक सञ्जालका माध्यमबाट विद्यार्थीले आफ्ना समस्या र जिज्ञासा राख्ने र त्यसका समाधानका उपायका बारेमा छलफल गर्न सक्छन् । सामाजिक सञ्जालले विभिन्न लिंकमार्फत विद्यार्थीलाई ज्ञानको श्रोतसम्म सहज रुपमा पुर्याउँछ । अन्तर्मुखी र लजालु स्वभावका विद्यार्थीलाई सिकाईमा सकृय हुन सामाजिक सञ्जालले मद्दत गर्दछ । सामाजिक सञ्जालका आधिकारिक समूह वा पेजबाट पोष्ट गरिएका सामाग्री विश्वशनीय पनि हुन्छन । आफ्नै साथी र गुरुले गरेका टिप्पणी, पोष्ट वा शेयर विद्यार्थीलाई विश्वाशिलो लाग्छ । हाल फैलिएको कोरोनाको महामारीले एसईई र सिटीईभीटी लगायत अन्य परीक्षाहरु स्थगित भएका छन् । यो बन्दाबन्दीको समयमा यी विद्यार्थीले सामाजिक सञ्जालको माध्मबाट आफ्नो विषयसँग सम्बन्धित शिक्षा र ज्ञान प्राप्त गर्न सक्दछन् ।
संसारैभरिका करोडौं व्यक्तिले सामाजिक सञ्जालमा आफ्नो रुचीका पोष्ट वा टिप्पणी गरिरहेका हुन्छन् । सामाजिक सञ्जालमा पोष्ट हुने यी विषय, विशेष क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयोगी हुन सक्छन् ।
कसरी बनाउने अझ प्रभावकारी ?
सामाजिक सञ्जालले समाजमा नकारात्मक प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहेको हुन्छ । कोरोना भाइरसकै सन्दर्भमा पनि तथ्य र आधारहिन सूचना प्रवाह हुँदा मानिसमा त्रास र भ्रम फैलिरहेको छ । तसर्थ विद्यार्थीमा सामाजिक सञ्जालमा भएका नचाहिने कुरालाई छोडेर चाहिने कुरामात्र लिने प्रवृत्तिको विकास गराउनु चुनौतीपूर्ण कार्य हो । शैक्षिक गतिविधीलाई अधिकतम सहयोग हुनेगरी सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्न सकिन्छ ? यस्ता विषयमा प्रयोगकर्ता प्रष्ट हुनुपर्दछ । सबैजसो सामाजिक सञ्जालका आफ्ना सर्त र मापदण्ड हुन्छन् । प्रयोगकर्ताले वास्तविक नाममात्र प्रयोग गर्ने, बौद्धिक सम्पतीको सूरक्षा गर्ने, एकापसमा सम्मानजनक व्यवहार गर्ने जस्ता सामाजिक सञ्जालका नियम यदि अनुशासित भएर पालना गर्न सक्ने हो भने सिकाइका गतिविधी स्वच्छ र प्रभावकारी हुन्छन् । सामाजिक सञ्जालको प्रयोग गर्दा तिनले प्रदान गर्ने सूरक्षा र गोपनियताका सुविधाको बारेमा ज्ञान हुनु पर्दछ ।
सामाजिक सञ्जालमा गरिने पोष्ट, टिप्पणी र अन्य गतिविधी सभ्य र नम्र हुन जरुरी छ । विद्यार्थीले स्वस्थ र सुरक्षित अनलाइन समुदाय निर्माणको लागि सामाजिक सञ्जालको संसारमा आँफुलाई असल नागरिकको रुपमा विकास गराउनु पर्दछ । सामाजिक सञ्जालमा पोष्ट गर्दा यसले पुर्याउन सक्ने सम्भावित असरको बारेमा पूर्ण सचेत हुनुपर्दछ । के कस्ता गतिविधीमा साइवर कानून आकर्षित हुन्छ ? र, आफू पीडित भएमा कसरी कानूनी उपचार गर्न सकिन्छ भन्ने विषयलाई विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश गर्न सकिन्छ । सामाजिक सञ्जालले विद्यार्थीलाई जुनसुकै बेला सिकाइबाट विकर्षित गर्ने र अन्य गतिविधिमा आकर्षित गर्न सक्दछ । तसर्थ विद्यार्थीलाई यसको प्रयोग व्यक्तित्व विकासका लागि गर्नेगरि अभिमूखीकरण गरिरहनु पर्दछ । प्रयोगकर्तामा शैक्षिक गतिविधिमा बढी सक्रिय रहने मनोवृत्तिको विकास आवश्यक हुन्छ । साथै, गृहकार्य, नोटर अन्य शैक्षिक सामाग्रीको वितरण सामाजिक सञ्जालकै मञ्चबाट गर्न सकिन्छ ।
निश्कर्ष
प्रविधिमा हुने विकासलाई स्वीकार गरेर यसका सकारात्मक पक्षलाई दैनिक जीवनमा प्रयोग गर्दै लानु उत्तम हुन्छ । सामाजिक सञ्जाल पनि प्रविधिको उच्चतम् विकासले ल्याएको परिवर्तन हो । यसको प्रयोगलाई नकार्न सकिंदैन । बरु यसलाई शिक्षा प्रणालीको अभिन्न अंगको रुपमा ग्रहण गरेर सोही अनुसारका पाठ्यक्रमको विकास र सिकाई गतिविधि अवलम्बन गरेर शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन सकिन्छ । सम्बन्धित सबै सरोकारवालाले यसको पहलकदमी लिन अब ढिलो गर्नु हुँदैन ।
twitter : navin_kiran
(लेखक गैह्रे आँधीखोला बहुप्राविधिक शिक्षालय वालिङ–३ का प्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->