बागलुङ, १८ बैशाख – मानव सभ्यताको इतिहासमा यति ठूलो महामारी पहिलोपटक आएको हो । विश्वका सबै देशलाई कोरोना भाइरस (कोभिड १९)ले सताएको पहिलो पटक हो । यो समयमा धेरै मानिस आफ्नो ज्यान बचाउन हिँडेका छन् । बचाउनेले पनि आफ्नो घर पुगेर परिवारसँगै बसेका छन् । तर केही यस्ता पात्र छन्, जसले आफ्नो भन्दा बिरामीको स्वास्थ्यमा ख्याल गरे । जीवनको जोखिम मोलेर निरन्तर काम गरे । ती योद्धा बन्नका लागि चिकित्सक, बिशेषज्ञ वा अन्य विज्ञ मात्र तयार भएनन् । आफ्नो तल्लो पदबाट पनि उनीहरुले धेरै सेवा गरेका छन् ।
बागलुङपनि कोरोना भाइरसको संक्रमणका चपेटामा परेको जिल्ला हो । बिभिन्न देशबाट फर्केका १ हजार बढी शंकास्पद थिए । सौभाग्यबस दुइजनामा मात्र कोरोना भाइरस पोजेटिभ देखियो । दुवै निको पनि भैसकेका छन् । करिव १ हजार २ सय मानिसको आरडिटी परीक्षण भयो । सबै पालिकामा किट लैजाने देखि शंकास्पद मानिस बोलाएर परीक्षणको काम भयो । त्यो अभियानमा धेरैले आफ्नो भूमिका निर्वाह गरेका छन् । तीमध्ये ल्याब, अस्पतालको अपरेशनको मुख्य जिम्म लिने डाक्टर र चालक समेतको आफ्नै भूमिका र बिशेषता रहेका छन् ।
रेडजोनलाई ग्रिनजोन बनाउन खटिएँ
डा.प्रदीप श्रेष्ठ
कन्सल्ट्यान्ट फिजिसियन, धौलागिरी अञ्चल अस्पताल, बागलुङ
उनलाई त्यतिठूलो बाध्यता पनि होइन । लकडाउन हुन्छ भनेपछि बिदा मागेर घर गएको भएपनि कसैले जवरजस्ती गर्न सक्थेनन् । तर उनले बिबाह भएको एक महिना नपुग्दै घर छाडेर कोरोना भाइरस बिरुद्धको अभियानमा जुटे । बिगत १५ महिना देखि धौलागिरी अञ्चल अस्पतालमा कार्यरत कन्सल्ट्यान्ट फिजिसियन डा. प्रदिप श्रेष्ठले कोरोना बिरुद्ध ज्यान हत्केलामा राखेर काम गरेका थिए । त्यो पनि साधन श्रोत केही नभएको बागलुङमै बसेर । उनको सक्रियताले कोरोना संक्रमणको अबस्थालाई रेडजोनबाट ग्रिनमा ल्याउन सकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल बताउँछन् ।
उनको आइडियाले देशमा लकडाउन नहुँदै अस्पतालमा आइसोलेसन वार्ड बनेको थियो । बिरामी आए भने कसरी उपचार गराउने भन्ने उनले सुरुमै सोचेर अस्पतालको सानो टिममा कुरा राखेपछि धेरैले त्यसलाइ राम्रो काम भनेर सघाए । आइसोलेसन वार्ड बनाएर राख्नु, क्वारेन्टाइनको लागि पहल गर्नु र उपचारका लागि केही पद्दती र किट तथा पिपिइ मगाउने काम पनि उनको सल्लाहमा भएको थियो ।
‘सुरुसुरुमा पिपिइ नआउन्जेल अस्पतालबाटै व्यवस्थापन गरेर काम गरियो, आइसोलेसनमा जाँदा मात्र पिपिइ लगाइन्थ्यो’ उनले भने,‘जोखिम त कति थियो, तर भाग्यले संक्रमण भएन ।’ बिरामीको प्रत्यक्ष संलग्नतामा काम गर्ने भएकोले संक्रमणको जोखिम थियो । फिजिसियन भएकोले उनी बढी नजिक भएर काम गर्नु पथ्र्यो । जिल्ला प्रकोप व्यवस्थापन समितिले पनि बिज्ञको रुपमा उनलाईनै रेपिट रेस्पोन्स टिममा राखेको थियो, अस्प्तालको टिमको भने उनी संयोजक थिए । अस्पतालको काम समेत गर्दा जोखिम बढी थियो ।
बिरामीको भ्रमण इतिहास लिने र स्वास्थ्य अबस्था परीक्षणमा उनले समय बिताए । दैनिक पोजेटिभ हरुको साथमा बसेकोले उनले पनि आरडिटी परीक्षण गराए । नेगेटिभ आयो । पोजेटिभ आएको भए डा. श्रेष्ठ समेत क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो । तर उनी उपचार र सेवाबाट पछि हटेनन् । ‘छोटो समय काम गरेको भएपनि अरु कोही नभएपछि म एक्लै खटिनै पथ्र्यो’ उनले भने, ‘संक्रमित डिस्चार्ज भएकोले केही दिनकालागि अब घर हिडेको छु ।’ घरपरिवारले पटक पटक फोन गरेर संक्रमणको जोखिमबाट बच्न आग्रह गरेको उनी अहिले पनि सम्झन्छन् । चुनौती अझै थपिन सक्ने भएकोले घरपरिवारसँग भेटेपछि छिटै फर्कने उनले बताए । तर संक्रमित जिल्लाबाट जोखिमको जिल्लामा फेरिएकोले अली सहज भएको उनले बताए ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ घर भएका श्रेष्ठले एमबिबिएस केएमसी कलेजबाट गरेका हुन् । एमडि भने बीर अस्पतालमा पढेको बताए । करारमा काम गर्दा २०७२ सालमा उनी धादिंग थिए । म्याद सकिएपछि पनि उनले भूकम्प पिडितको उपचारमा स्वयंसेवी भूमिका खेलेको अनुभव संगालेका छन् । विश्वव्यापी महामारी भने यो मानव सभ्यताकै पहिलो भएको उनले बताए ।
स्वाब लिने साहसी व्यक्ति
सुरज बराल
ल्याब टेक्नोलोजिष्ट, धौलागिरी अञ्चल अस्पताल, बागलुङ
राम्रोसँग स्वाब निकाल्न सकिएन भने रिपोर्ट राम्रो आउँदैन । तर संक्रमित व्यक्ति रहेछ भने संगत गर्ने स्वास्थ्यकर्मीलाइ नै पहिलो संक्रमणको डर हुन्छ । त्यो कुरा राम्रो बुझेका धौलागिरी अञ्चल अस्पतालका ल्याब टेक्नोलोजिष्ट सुरज बरालले यो समयमा ५० जना बढीको स्वाब संकलन गरे । झण्डै २ सयबढीको आरडिटी परीक्षण गरे ।
ल्याबमा बसेर काम गर्ने भएकोले अरु बेला पनि उनले बढी जोखिमको काम गर्छन् । किनकी रगत, खकार, सिगान र ¥याल तथा दिशापिशाव परीक्षण गर्ने काम कति जोखिमको होला भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । तर उनले अरु बेला पनि उत्तिकै काम गरिरहेका छन् । संक्रमण र लकडाउनको समयमा झनै बढी खटिए ।
हरेक दिन आइसोलेसनमा छिरेर ल्याब टेक्नोलोजिष्ट सुरज बरालले सामान्य रेनकोटको भरमा कति जनाको ल्याब परीक्षण गरे त्यो लेखाजोखा छैन । सुरुवातको बेला अस्पतालमा सुरक्षित पोशाक (पिपिई) थिएन । जोखिम मोलेर उनले संक्रमितहरुको घरमै पुगेर स्वाब संकलन गरे । नेगेटिभ आउँदा बरालले लामो सास फेर्थे । पोजेटिभ आएकाहरुबाट सरेको छ की भनेर धेरै डराउँथे । तर त्यो डर काममा कहिले पनि देखाएनन् । ‘सुरक्षा बिना स्वाब लिंदा संक्रमण भयो भने स्वास्थ्यकर्मीनै आइसोलेसनमा बस्नु पथ्र्यो, अनि काम गर्ने वातावरण समेत समाप्त हुन्थ्यो’, उनले भने, ‘अनुभवी झै गरेर जोगिन सफल भयौं ।’
उनले मानव जीवनकै नौलो र संक्रामक रोगको शंकास्पदलाई दैनिकजसो यसरीनै नजिकबाट नियालिरहन पाएको बताए । चैत ११ गते लकडाउन भएपछि बरालले संक्रमित र शंकास्पद गरेर झण्डै दुइसयबढी मानिसको अन्तरंग संगत गरेको बताए । स्वाब निकाल्ने सबैभन्दा बढी जोखिमको काम हो, भन्छन् धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेल । ल्याब शाखामा बराल सहित शोभिता शर्मासमेत उत्तिकै खटिएकी छिन् । ३ जनाको दरबन्दीले थेग्न नसकेपछि अस्पताल व्यवस्थापन समितिले निजी श्रोतमा ९ जना कर्मचारी राखेर ल्याब चलाएको छ ।
खिमबहादुर बिक, मोहन पौडेल, लालकुमारी बस्नेत, अर्जुन थापा, हरि शर्मा, बिकास गौतम, अर्जुन क्षेत्री, रश्मी खड्का, गंगा थापा र पार्वती शर्माले चौबिसै घण्टा जोखिम नभनीकनै काम गरेका छन् । उनीहरुले टिम बनाएर बागलुङका १० वटै स्थानीय तहमा समेत पुगेर संकास्पद संक्रमितको रगत परीक्षण गरेका थिए । आरडिटी परीक्षणमा पनि रगत निकाल्नु पर्ने भएकोले उत्तिकै जोखिमको भएको उनले बताए । ‘गाउ“घरमा प्लाष्टिकको घर बनाएर रगत निकाल्ने र परीक्षण गर्ने काम गरेका थियौं’ उनले भने, ‘पिपिआर व्यवस्थापन पनि उत्तिकै जोखिमको छ, जानिएन भने आफैलाई संक्रमणको डर हुन्छ ।’
सामान्य दिनमा धौलागिरी अञ्चल अस्पतालमा १ सय २० देखि १ सय २५ जना सम्मको ल्याब परीक्षण गर्नु पथ्र्यो । ल्याबमा रगत, दिशा, पिशाव र खकारको परीक्षण हुन्छ । ‘हामीले जतिबेला पनि जोखिमकै काम गरिरहेका छौं’ बरालले भने, ‘मास्क, पोशाक र ग्लोबस लगाउने समय पनि पाउने थिएनौं ।’ कोरोना संक्रमणको जोखिम बढेपछि मात्र ल्याब शाखामा अस्पताल प्रशासन र व्यवस्थापनको आ“खा पुगेको छ । यो शाखालाई थप व्यवस्थित र सुरक्षित बनाउन उपकरण र सुरक्षित पोशाकहरुको व्यवस्थापन गरिएको समितिका सदस्य शालिकराम शर्माले बताए ।
पाल्पाको रैनादेवी छहरा गाउ“पालिका ४ का बरालको घरमा बाबुआमा र दाइभाउजु छन् । काठमाण्डौ स्थित अमृत क्याम्पसमा आइएस्सी र भारतको बैंगलोरमा बिएससी एमएलटी अध्ययन गरेका बराल २०७१ सालदेखि बागलुङमा कार्यरत छन् । बागलुङ अस्पतालमा कार्यरत भएकोले दैनिक फोन गरेर सञ्चो बिसञ्चो सोध्छन् । ‘बाबुआमाले त जागिरै छाडेर आइज सम्म भन्नुहुन्छ, तर मैले जोगिएर काम गरेको बताए“’ बरालले भने, ‘महामारीको बेला सबै बिरामीलाई सेवा गर्ने र समस्या पत्ता लगाएर सञ्चो बनाउने जिम्मा पुरा गराएको भनेपछि केही शान्त हुनुहुन्छ ।’ प्रदेश तहमा पुगेर एक दिनको तालिम लिएपछि थालेको कामबाटै अहिले धेरै सिकेको उनले बताए । उनले बरेङ र काठेखोला गाउ“पालिका तथा गलकोट नगरपालिकामा पुगेर पनि स्थानीय स्वास्थयकर्मीलाई तालिम समेत दिए ।
जिम्मेवारीभन्दा सेवाभाव नै ठूलो हो
रुद्र पराजुली
सवारी चालक, स्वास्थ्य कार्यालय बागलुङ
२२ वर्षदेखि बागलुङ स्थित स्वास्थ्य कार्यालयमा चालकको रुपमा कार्यरत रुद्र पराजुली कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा चर्चामा आए । उनी चालक भएकोले जहिले जहाँपनि सवारी गुडाएर जाने काममा पछि पर्दैनन् । तर यतिबेला उनले आफ्नै ज्यानको बाजी लगाएर गरेको कामबाट धेरै मानिस प्रभावित छन् ।
जिल्लामा भिआइपि आएको बेलामा समेत चालक भएर जान तम्सने रुद्रको धेरैले तारिफ गर्छन् । लामो समय देखिको चालक अनुभव र अप्ठ्यारो पर्दा पनि उनलाईनै गुहार्ने बाध्यताले पनि उनको तारिफ भएकै छ । स्वास्थ्य कार्यालयको चालक भएकोले अरुको झै कार्यालयको समय हुँदैन । बरु रात, दिन नभनी उनी दौडिनु पर्छ । औषधि ल्याउने काम होस् वा कोल्डचेनको काममा होस् उनले समय दिएका छन् ।
झट्ट हेर्दा कोल्डचेन केही जस्तो लाग्दैन, तर औषधि र खोपलाई निश्चित तापक्रममा राख्नुपर्छ । कार्यालयमा ल्याएपछि धेरैपटक तापक्रम मिलाएर राखेपछि तोकिएको मितिमा तोकिएको स्थानमा लगेर खोप लगाइन्छ । त्यस्तो काममा पनि उनी धेरै खटिएका छन् । बिद्युत अवरुद्ध भएमा जेनेरेटन तयार पर्ने र बिग्रेको भए बनाउन पठाउने काममा पनि उनले काम गरिरहेका छन् ।
तर लकडाउनको समयमा भने उनले छुट्टै नाम कमाए । नेपालकै छैठौ कोरोना संक्रमित बानपा–३ की मनकुमारी पौडेलको पोजेटिभ रिर्पोट आएको दिन उनले देखाएको तत्परताले सबैको धन्यवादको पात्र भए । पौडेलको रिर्पोट आएपछि अस्पतालमा ल्याउने कुरा भयो । तर राती १० बजे सम्म कसैले मानेनन् । बिरामी अस्पतालमा ल्याउने काम एम्बुलेन्सको हो । तर एम्बुलेन्स चालक भागेपछि ठूलै हंगामा भयो ।
संक्रमणको बेला सहयोग गर्नुपर्नेमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स चालक एम्बुलेन्सै छाडेर भागेपछि को जाने भन्नेमै लामो समय अन्यौल भयो । प्रहरी, प्रशासन पनि फर्केपछि त्यसको जिम्मा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौको थाप्लोमा आयो । गुरौले तत्काल पराजुलीलाई बोलाए । राती भएपनि काममा पराजुली नाइनास्ती गर्दैनन् । कार्यालयको गाडी लिएर आए । अस्पतालले गुरौ र पराजुलीलाई पिपिइ दियो । त्यसपछि उनी गौडाकोट स्थित पौडेलको घर गए । पाँच मिनेटको बाटोमा गाडी फर्काउने ठाउँ थिएन । त्यसैले उनले गाडी फर्काएर फोन गरे । पौडेल झोला बोकेर तयार थिइन् । हिडेरै आइन र गाडीमा चढिन् । उनले अस्पतालमा ल्याए । त्यसपछि सबै दंग परे । ल्याउनै पर्ने बाध्यता भएकाहरु गएनन्, पराजुलीले साहस देखाए, सबैको हाईहाई भए ।
यो साहसको पछि उनको छोराछोरी र श्रीमतीको पनि साथ छ । धौलागिरी अस्पतालको साझा औषधि पसलमा काम गर्ने श्रीमती कमलाले पनि बिरामी ल्याउन जान सल्लाह दिइन् । छोराछोरीले पनि अप्ठ्यारोमा साथ दिन भनेपछि गुरौको आग्रह मानेर गएको पराजुलीले बताए । ‘अप्ठ्यारो पर्दा सेवा नगर्ने हो भने सहज अबस्थामा ट्याक्सी र सार्वजनिक यातायातले पनि बोक्छन् नी’ उनले भने, ‘जागिर मात्र नभइ जिम्मेवारी बहन गर्ने बेला हो भन्ने बुझेर गएको हुँ । सेवाभाव नै ठूलो हो नि !’ अस्पतालको बाटो समेत हिड्न डराउन धेरै स्थानीय उनको नजिक जान पनि डराउँथे । तर १७ दिन सम्म अस्पताल बसेर पौडेल डिस्चार्ज हुँदा घर लगिदिन भने अरु नै तयार भए । पराजुलीले खुशी हुँदै भने, पछि त सवै तयार भइहाले नि । म त तयारै भएर वसेकी थिए । तर प्रहरीका चालकले लगेर छाडिदिए । पराजुलीको साहसपछि नेपाली सेनाले चैत २० गते जिल्लाका सबै एम्बुलेन्सलाई बोलाएर तालिम दियो । पिपिइको आवश्यकता र सुरक्षित रुपमा काम गर्ने प्रकृया सिकाउँदा रेडक्रस सोसाइटीको चालक भने त्यसमा पनि सहभागी थिएन ।





