`

मौलिक कृषि प्रणाली : कृषिमा युवाहरुको आकर्षण बढ्दै

  • म्याग्दीका अधिकाँश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषि कर्म गरेको देखिन्छ ।

    • धु्रबसागर शर्मा
    • बुधबार, बैशाख २४, २०७७

    म्याग्दी २४ बैशाख – ‘नेपालमा हालको जन्मदरले चालु बर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेकाछन । सन् २०१८ को बिश्व बैकको तथ्यांक अनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन भने २० प्रतिशत सहरमा बस्छन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार ५० लाख बैदेशिक रोजगारीमा रहेका युबाहरु मध्ये ५० प्रतिशतमात्र अर्थात २५ लाख नेपालीहरु आफ्नो देशमा फर्केको अवस्थामा ती मध्ये पनि कम्तिमा २० लाख त गाउँमा नै फर्कने छन् ।’
    नेपाल कृषि अनुसन्धान परिषदका कृषि बिज्ञ, अन्तराष्ट्रिय कृषि वैज्ञानिक डा.टीकाबहादुर कार्कीको माथिको भनाइलाई आधार मान्ने हो भने विश्वमा कोरोना संक्रमणको अवस्था केही मत्थर हुन थालेपछि वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका करिव २० लाख युवाहरु गाउँमा फर्किने छन् ।
    कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापिरुपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि शहरमा रहेका युवकहरु गाउँ फर्केका छन् । गाउँ फर्केका युवाहरुले मौलिक कृषि प्रणालीलाई व्युँत्याउन थालेका छन् ।
    अध्ययन,रोजगारी,व्यवसाय वा अन्य अवसरहरुको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमिन र खोरियाखर्कहरुमा परिश्रम गरिरहेका भेटिन्छन् ।
    म्याग्दीको बेनी नगरपालिका,मालिका,मंगला,धौलागिरि,अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाहरुले धमाधम केरा,फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँहरुमा वर्षौदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकैका विरुवा हरिया भएका छन् ।काठमाण्डौंबागबजार स्थित एक पुस्तक पसलमा काम गर्ने म्याग्दीको कुइनेका शुक्रराज रसाईली लकडाउनको कारण गाउँमा फर्किएर वर्र्षैदेखि बाँिझएको बारीमा खनजोत गर्न व्यस्त छन् ।।
    काठमाण्डौंको गोंगबुमा होटल व्यवसाय गर्ने बेनी नगरपालिका २ का गणेश थापा गाउँमा फर्किएको १ महिना भन्दा बढि भयो । यो एक महिनाको अवधिमा उनले १४ रोपनी पाखो बारीमा २ सय बढि केराको विरुवा लगाएर भ्याइसकेका छन् ।
    त्यसैगरी सानालेखको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक खिमबहादुर कार्की विद्यालय बन्द भएको अबसरलाई सदुपयोग गरी २० रोपनी भन्दा बढि क्षेत्रफलको खोरिया फाँडेर ५ सय भन्दा बढि केराका बिरुवा लगाएका छन् ।
    रसाईली,थापा र कार्की जस्तै म्याग्दीका धेरै युवाहरु अहिले कृषि कर्ममा खटिएर लागेका छन् ।
    कृषिकर्ममा लागेका अधिकांश युवाहरुले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलर लगाएतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्न व्यस्त देखिन्छन् ।
    बेनी नगरपालिका ४ सिंगाको फाँटमा गोरुद्धारा खेत जोतिरहेका नारायण पौडेलले मौलिक विधिद्धारा खनजोत गर्न आनन्द आउनुका साथै माटो पनि धुलौटो (मसिनो) हुने हुँदा हलोले जोतेको बताए ।
    म्याग्दीका अधिकाँश ठाउँमा पौडेलले जस्तै रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषि कर्म गरेको देखिन्छ ।
    यसरी कृषि कर्ममा लागेका युवाहरुले अवसरलाई चिन्न सकेमा अहिले भइरहेको हाम्रो खाध्यान्नमाथिको परनिर्भरतालाई न्युनीकरण गर्न लकडाउन (बन्दाबन्दी) यो अवधि कोशेढुङ्गा सावित हुने बताउँछन् ।
    ‘हिजो हाम्रा पुर्वजको माटो सुँहाउँदो कृषि प्रणाली र अन्न तथा तरकारीबालीका वीउविजन संचितीकरण गर्ने ज्ञान र प्रविधिलाई व्युँत्याउन आवश्यक छ।‘ म्याग्दीको बिम स्थित कृषि प्राविधिक शिक्षालयमा आइएससी (एजी) तेस्रो सेमिष्टरमा अध्ययनरत बिनिता शर्माले भनिन् ‘हरित क्रान्ति विकास र समृद्धि होइन हाम्रो परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अर्गानीक वा प्रांगारिक कृषि प्रणालीलाई पुनः व्युँत्याउनुपर्छ।’
    नेपाल कृषि अनुसन्धान परिषदका कृषि बिज्ञ तथा अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की भन्छन् ‘बढ्दो जनसंख्या र कोरोनाको महामारीपछिको खाध्य एबम पोषण सुरक्षालाई मध्यनजर गर्दा ब्यक्ति, घरधुरी र समाज आत्मनिर्भर हुनु पर्ने देखिन्छ । तर उपलब्ध जमिन, जनशक्ति र पूँजीको आधारमा भन्ने हो भने मुलुकभरका सबै घरधुरीहरु आवश्यक बस्तुहरु उत्पादन र उपभोगमा आत्मनिर्भर बन्न र त्यसका लागि मौलिक कृषि प्रणाली अपनाउन आवश्यक छ ।’
    कृषि विज्ञ कार्कीका अनुसार हाम्रोे प्रति एकाइ जमिन, श्रम र लगानीको उत्पादकत्व त्यसै पनि अन्य मुलुकहरुको भन्दा न्यून छ । यसो हुनुमा नविनतम प्रविधिहरुको प्रयोग कम हुनुलाई पनि मान्न सकिन्छ । तर स्थान बिशेषमा मौलिक कृषिप्रणाली अर्थात परम्परागत ज्ञानमा आधारित र प्रांगारिक कृषिको सम्भावना उच्च रहेको छ ।
    नेपाल सरकारको तथ्याङ्कले चालु आर्थिक बर्षको ८ महिनामै २० अर्वमाथिको खाध्यान्न आयात गरेको देखाउँछ । गत दशबर्षको तथ्याङ्कलाई हेर्दा यो पाँच गुणाले बढेको छ । हरेक बर्ष खाध्यवस्तुको आयात बढ्दो छ । आयातलाई कम गर्न र कृषिमा आत्मनिर्भर बन्न युवा जनशक्तिलाई कृषिमा लगाउन आवश्यक भएको कृषि विज्ञहरुको भनाइ छ ।
    मुस्ताङ मनाङ, जुम्ला, हुम्ला, डोल्पा, मुगुमा लेकाली (शितोष्ण)फलफूलहरु, मध्य पहाडमा सुन्तला जातका फलफूलहरु, पुर्बी पहाडी जिल्लाहरु इलाम, प“ँचथरमा चिया, अलैंची, अदुवा, गुल्मी र अर्घाखा“चीमा कफी, तराइमा बासमती धान उत्पादन बृद्धिका लागि मौलिक कृषि प्राणाली उपयुक्त हुने कृषि विज्ञ कार्कीले बताए ।
    कृषि वैज्ञानिक कार्कीका अनुसार गण्डकी, कर्णाली र सुदुरपश्चिम क्षेत्रमा जडिबुटीहरु र बाख्रापालनको सम्भावना छ भने उच्च पहाडमा चौरी, भेडा, च्यांग्राको पनि उत्तिकै सम्भावना रहेको छ ।
    अर्का कृषि विज्ञ डा.जीवनमणि पौडेल परम्परागत एवम् रैथाने ज्ञान र प्रविधिमा आधारित हाम्रो आफ्नै पर्यावरणीय विविधतालाई संरक्षण र पालनपोषण गर्ने किसिमको अर्गानीक वा प्रांगारिक कृषि प्रणालीलाई पुनः व्युँत्याउनु आवश्यक रहेको बताउँछन् ।
    डा. पौडेल भन्छन् ‘हाम्रा कृषि अनुसन्धान केन्द्रहरु, विश्वविधालयहरु र स्थानीय ज्ञान र प्रविधिको बीचमा कार्यगत एकता हुन आवश्यक छ ।’
    डा.पौडेलका अनुसार सरकारले खेतीयोग्य जमीनलाई बस्ती बिस्तारका लागि खण्डीकरणमा रोक लगाउनुपर्छ र कोभिड–१९ का कारण बिदेश जान नपाएका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न गराउने भन्दा कृषिसँग जोड्न आवश्यक छ ।
    डा.पौडेल भन्छन् ‘किसानलाई आफु किसान भएकोमा गर्व गर्न सक्ने सामाजिक वातावरण सरकारले बनाउन सक्नुपर्छ । यसो गर्न सके विश्व महामारीको रुपमा रहेको कोभिड-१९ का कारण खाध्य आपुर्तिमा आउन सक्ने संकट देशका लागि नयाँ अवसर हुन सक्ने छ ।’कृषि वैज्ञानिकहरुका अनुसार ‘सन् १९७० को दशकदेखि बढ्दो जनसंख्यालाई भोकमारीबाट बचाउने भन्दै हरित क्रान्तिको नाममा बर्णशंकर तथा नश्लसुधार बीउविजनहरु र रसायनीक मल एवम् किटानाशक औषधीहरु उत्पादन गरिएको हो ।’
    कृषि विज्ञ डा. पौडेलका अनुसार यसैमा विकास र समृद्धि देखाइयो । जसले बिस्तारै स्थानीय रैथाने जातका अन्न र तरकारी बालीका बीउविजनलाई स्वतन्त्र व्यापारका नाममा विस्थापितमात्र गरेन माटोको प्राकृतिक उर्वरा शक्ति नष्ट गरिदियो।
    अहिले विश्वका केही सीमित देशहरु अमेरिका, स्वीजरल्याण्ड, फान्स, जर्मनी, जापान, डेनमार्क आदिले विश्वको वीउविजनमा आफ्नो एकाधिकार कायम गरेका छन् ।
    यी देशहरुले बीउ उत्पादनमा मात्र होइन ७० प्रतिशत किटनाशक औषधी पनि आफै उत्पादन तथा बिक्री गर्दछन् । तर कोभिड–१९ ले गर्दा यी देशहरु अहिले आफै जनस्वास्थ्यको चपेटामा छन्। यसकारण यो बिषम परिस्थितिमा वीउविजन र किटानाशक औषधीहरु निर्यात गर्ने अनुकुल स्थितिमा छैनन् । वीउविजन र खाद्यान्न आयात हुन नसक्ने अवस्था रहेकोले पनि नेपालमा मौलिक कृषि प्रणाली व्युँताउनु पर्ने कृषि विज्ञहरुको भनाइरहेको छ ।
    कृषि वैज्ञानिक डा. कार्कीका अनुसार नेपालमा कुल जनसंख्याको ४१ प्रतिशत युवा (१६देखि ४० वर्ष उमेर) छन् । तीमध्ये करिब ८० प्रतिशत युवाहरु अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।
    कुल घरधुरी मध्ये ५५ प्रतिशत घरधुरीका कम्तिमा पनि १ जना बैदेशिक रोजगारीमा छन। यिनीहरु मध्ये केवल १ प्रतिशत युवा मात्र मात्र तालिम प्राप्त वा सीपमूलक काममा रहेका छन् भने २४प्रतिशत अर्ध सीपमूलक र ७५ प्रतिशत सीप बिनाको काममा छन ।
    विदेशबाट फर्केर आएका वा स्वदेशमै रहेका युवाहरुले आआफ्नो शैक्षिक योग्यता, दक्षता र सीप सहितको बायोडाटा सम्बन्धित स्थानीय निकायमा बुझाउने र सम्बन्धित निकायहरुले सोको रेकर्ड अर्थात रोष्टर बनाएर राख्ने र सोहीअनुसार योजना बनाइ जनशक्तिको उपयोग गर्न आवश्यक देखिएको डा. कार्कीले बताए ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology