`

ग्रामिण क्षेत्रमा मिनीटिलरप्रति आर्कषण बढ्दो

  • सामूहिक रुपमा मिनीटिलर किनेका वालिङ–३ भञ्ज्याङका तीन युवालाई खेतबारी जोत्न माचो ।

    • हिमलाल पराजुली
    • शुक्रबार, बैशाख २६, २०७७

    स्याङ्जा, २६ बैशाख– परम्परागत रुपमा खेती–किसानी गर्दै आएका कृषकहरु यतिबेला आधुनिक प्रविधिको प्रयोगमा आर्कषित भएका छन् । हलो र गोरुको सहायतले खेतीपाटी गर्दै आएका किसानहरु पछिल्लो समय खेतबारी जोत्न मिनीटिलर (हाते ट्याक्टर) र बाली भित्राउन थ्रेसरको प्रयोग गर्न थालेका छन् । तराईका किसानले पहिलेदेखिनै यो प्रविधिको प्रयोग गर्ने गरेपनि पहाडका किसानले यो अवसर पाएका थिएनन् । पहाडी इलाकामा ग्रामिण/कृषि सडकको निर्माण हुनु र साँगुरो जमिनमा पनि प्रयोग गर्न मिल्ने मिनीटिलरको विकास भएसंगै यसको प्रयोग आजभोली पहाडी क्षेत्रमा गर्न थालिएको छ । गज्जब त के छभने जाँगर हुने युवाहरुले यसलाई राम्रो आम्दानीको स्रोतसमेत बनाउन थालेका छन् ।
    देशमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चलेपनि प्राय : युवाहरु एकपटक वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै केही गरौं भनेर लाग्नेहरुको प्रशस्तै उदाहारण गाउँघरमा देख्न पाइन्छ । त्यसै मध्येका एक हुन वालिङ नगरपालिका–१२ भञ्ज्याङ्का युवा । तीन जना मिलेर सामुहिक रुपमा हाते ट्याक्टर किनेका उनीहरुलाई अहिले भ्याईनभ्याई छ । गहुँबाली थन्काएपछि किसानका खेतबारीमा उनीहरु अहिले मकै छर्न व्यस्त छन् ।
    आजभोली गाउँघरमा गोरु पाल्ने चलन कम हुँदै गएको र कृषि कर्ममा नयाँ–नयाँ प्रविधि भित्रिएपछि किसानको रोजाई पनि यसैमा पर्न थालेको छ । बिहान सात बजे हाते ट्याक्टर लिएर घरबाट निस्किएका युवा दिनभर काम गरेर साँझपख मात्रै घर पुग्ने गर्दछन् । सामुहिक रुपमा ट्याक्टर किनेर काम सुरु गरेका किसान न्यौपानेले विदेशमा गएर काम गर्नुभन्दा आफ्नै देशमा बसेर काम गर्दा धेरै आनन्द हुने बताउँछन् । ‘विदेशमा गएर काम गरेपछि बल्ल थाहा भयो कामको महत्व’ न्यौपानेले भने– ‘आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर तीन जना साथी मिलेर हाते ट्याक्टर किनी खेतबारी जोत्ने काममा लागेका छौ ।’ ‘काम भन्ने कुरा सानो–ठुलो नहुने रहेछ भन्ने बल्ल बोध भयो’ न्यौपानेले थपे ।
    विदेशमा जति श्रम नेपालमा गर्न सके राम्रो आम्दानी लिन सकिने अर्का युवा बलराम न्यौपाने बताउँछन् । ‘हाते ट्याक्टर किनेपछि गाउँमै काम मिलेको छभने किसानले पनि सहज रुपमा खेतीपाती गर्न थालेका छन्’ न्यौपानेले भने– ‘अहिले गाउँघरमा जोत्न गोरु नपाएर समस्यामा परेका किसानहरु हाम्रो कामले खुसी भएका छन् ।’ पहाडी इलाकाको पाखो र साँगुरा खेतबारीमा ठुलो खालको ट्याक्टर प्रयोग गर्न नमिल्ने ठाउँमा हाते ट्याक्टरको प्रयोग गरेर काम गर्दा किसानलाई धेरै सहज भएको न्यौपाने बताउँछन् । ‘खेतबारी जोतेबापत प्रतिघण्टा ७ सय ५० का दरले लिने गरेका छौ, किसानलाई पनि मर्का परेको छैन हामीहरुलाई पनि ठिकै भएको छ’ न्यौपाने भने– ‘घरखर्च चलाउन आजभोलि कुनै समस्या छैन ।’ मौसमअनुसार कमाई पनि राम्रो हुने उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology