स्याङ्जा, ५ जेठ– गल्याङ नगरपालिकाले ‘शिक्षक मेरो साथी’ अभियान सुरु गरेको छ । लकडाउनका कारण विद्यालय लामो समयसम्म बन्द रहँदा विद्यार्थी र अभिभावकमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै यो अवधिमा थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले अभियान शुरु गरिएको नगरपालिकाका शिक्षा समितिका सदस्य राजेन्द्रदेब खनालले जानकारी दिए ।
‘शिक्षक मेरो साथी’ अभियानले विद्यार्थी र अभिभावकका साथै सर्वसाधरणमा परेको समस्या समाधानका लागि नगरपालिका र सर्वसाधारण जनतालाई जोड्ने भएकाले अभियान प्रभावकारी हुने खनालले बताए । अभियानअन्तर्गत पठनपाठन हुन नसकेको अवस्थामा विद्यार्थी तथा अभिभावकहरुसँग निरन्तर सम्पर्कमा रहने, सचेतना जगाउने, नगरपालिका क्षेत्रमा कुनैपनि समस्या आएमा नगरपालिकासँग समन्वय गर्ने र गराउने लगायतका कार्यहरु गरिने नगरपालिकाले जनाएको छ ।
यसैबीच, शिक्षा समितिको पहलमा नगरभित्रका विद्यालयका प्रअहरुबीच भएको बैठकले दुरसञ्चार कम्पनीले दिएको भ्वाइस प्याक लगायतका सुविधाको उच्चतम प्रयोग गर्दै प्रत्येक अभिभावक र विद्यार्थीसँग दैनिक रुपमा समन्वय गर्नुका साथै लकडाउनको कारण पाठ्यपुस्तक वितरण गर्न समस्या भएको अवस्थामा सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यमबाट भैरहेका सिकाईका अभ्यासहरुलाई उपयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले विद्यालयहरु खोल्ने अवस्था नभएपनि निरन्तर विद्यार्थीको सम्पर्कमा रहेर अहिलेको अवस्थामा सहयोग गर्न शिक्षकहरुलाई आग्रह गरेका छन् । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थी अन्यौलमा पर्ने भएकोले अभिभावकहरुले पनि शिक्षासंगै अन्य ब्यवहारिक कुराहरु सिकाएर विद्यार्थीलाई क्रियाशिल बनाउन पाण्डेले आग्रह गरेका छन् ।




