बागलुङ, ११ जेठ– पाँच महिना पहिला काठमाडौंको इन्द्रचोकबाट उद्धार हुँदा सर्लाहीका सुवास कार्कीले घर पाएको अनुभूति गरेका थिए । बालाजु बाईसधारामा रहेको मानवसेवा आश्रममा उनलाई पु¥याईएको थियो । एउटा कम्पनीमा सेक्युुरेटीको काम गर्दा पाएको पारिश्रमिकले खाने र सडकमै रात बिताउँदै आएका उनी मानव सेवा आश्रममा पुगेका थिए । काठमाडौं सडकलाई मानवमुक्त बनाउने अभियानमा सरकारले उद्धार गरेर उनलाई मानवसेवा आश्रम पुराइएको थियो । ६ घण्टे डिउटीबाट प्राप्त रकमले वास र गासको ब्यवस्था पुरा नभएपछि सडकमा रात विताउदै आएका उनी आश्रम पुग्दा औधी खुशी थिए ।
झण्डै साढे दुई महिना काठमाडौंको आश्रममा बसेर दिन बिताउदै थिए । आश्रममा वस्दै गर्दा उनलाई केही काम गरीखाने इच्छा पलायो । र, आश्रमबाट बाहिरिने सोच बनाए । हट्टा कट्टा जीऊ भएका उनले काम गरी खान्छु, तर दिनभर आश्रमभित्रै बस्दिन भन्ने सन्देश आश्रम अध्यक्ष सामु पुराए । गरी खान्छु भन्ने कार्कीको ढिपीका कारण आश्रमले उनलाई त्यहाँ राखीराख्न सकेन र बागलुङमा रहेको मानव सेवा आश्रमको शाखामा पठायो । बागलुङ पठाउदा उनलाई काम लगाईदिने र आवश्यक पारिश्रमिक समेत दिने आश्वासन दिईयो । त्यही आश्वासनमा अर्काे खुशी थप्दै विरानो ठाउँ बागलुङसम्म आइपुगे । दोस्रो खुशी पनि उनको लागि साढे दुई महिना पनि रहन सकेन । सडकबाट उठ्नेबेला घर पाएर उमंग भएका, अनि जागिर सहितको आश्वासन पाएर बागलुङ आइपुगेका सुवास शनिवारबाट फेरी आश्रयविहिन भएर सडकमा भौतारिदै छन् ।
हिजो उनलाई आश्रय दिने मानव सेवा आश्रमले नै अहिले उनलाई आश्रयविहिन बनाएको छ । अध्यारो रातमा सडकबाट उठाएर वास दिलाएको आश्रमले आज फेरी अधेरी साँझमा नै आश्रमबाट निकालेको छ, र गासवासविहिन बनाएको छ । सडकबाट आश्रयस्थल आउदाको उमंग र कामसहितको मामको आशमा बागलुङ झर्दाको खुशी अहिले पुरै अध्यारो रातमा परिणत भएको छ । भन्छन, ‘मानव सेवा आश्रमबाट यस्तो ब्यवहारको त कल्पना पनि गर्न सकिदैनन् ।’
मानव सेवा आश्रम बागलुङले उनलाई खाना पकाउने जिम्मा दियो । काठमाडांैबाट बागलुङ आएको साढे दुई महिनासम्म उनी आश्रमभित्र खान पकाउने काममा खटिए । पारिश्रमिक पाउने आशामा आफ्नो काम पनि पुरै दिलो ज्यान लगाएर गरे । आश्रममा काम गर्दै जादाँ त्यहाँभित्र हुने वेथिति र असमान ब्यवहारले उनलाई घोच्यो । दाताबाट आश्रममा आउने सहयोगमा हुने अपारदर्शिताले कहिले उनी दुःखी हुन्थे त कहिले आश्रमभित्र रहेका ब्यक्तिलाई गरिने असमान ब्यवहारले उनको मन घोच्थ्यो । कतिपटक त आश्रयमा रहेकालाई आएको सहयोगमा सञ्चालकको मनपरीमा उनले प्रश्न उठाए पनि । अन्यायविरुद्धको उनको आवाजले सुवासलाई आश्रमभित्र रहीरहन दिएन, र बाहिर निस्किन खोजे । तर धेरै पटकको आग्रहमा पनि सुवासको लागि आश्रमको गेट खुलेनन् ।
तर पछिल्लो पटक आश्रममा दाताले दिएको पेय पदार्थ (जुस) को प्रयोगको बिषयमा उनी र आश्रमका सञ्चालिका सुमिरा लामा बिचमा बिबाद चुलियो, भनाभन भयो । शनिवार साँझ साढे ६ बजेको थियो । आश्रममा रहेका सबैले खाना खाईसकेपछि सुवास र सुमिरा बिच भनाभन भयो । उनको आग्रह, जुस आश्रममा रहेका सवैलाई वितरण गर्ने मात्रै थियो । तर त्यही कुरा मिलेन र साढे दुई महिना नखुलेको आश्रमको ढोका सधैका लागि खुल्यो र सुवास बाहिरिए ।
‘मलाई काम गर्न भनेर बागलुङ पठाए र त्यही आश्रममा खाना बनाउने काम गर्थें’ आश्रमबाट निकालिएपछि सडकमा भौतारिदै हिँडेका सुवासले भने, ‘माथि (काठमाडौं) फोन गरेर तैले केही पाउँदैनस जा भनेर ढोका खोल्दिए ।’ सडक मानवको उद्धार र सहयोगमा चर्चामै रहेको आश्रमले लकडाउनको समयमा थात न बास भएका सुवासलाई बिनाकारण नै निकालेको उनी बताउँछन् । अध्यारो रातमा आश्रमबाट निकालिएका उनी प्रहरीको शरणमा पुगे । शनिवार प्रहरीले उनलाई स्थानीय शान्ति समितिको भवनमा बनाईएको आश्रय स्थलमा राख्यो ।
‘मैले काम गरेको पैसा पाए जसरी पनि घर जान्थे, सुवासले ढोरपाटनसंग भने, भने ‘न फोन छ, न पैसा ! मलाई तलव त दिनु पर्यो नि ।’ आश्रममा साढे दुई महिना यता खाना बनाउने काम गर्दै आएको थिए । कामकै लागि भनेर ल्याएर आँफुमाथि अन्याय गरेको सुवासले वताए । ‘आश्रममा बस्दा नै म माथि अन्याय भयो, भावब्हिल स्वरमा उनले भने । नियमित उच्च रक्तचापको औषधि खाने उनी अहिले फेरी सडकमै भौँतारीएका छन् । ‘हिजो त्यहाँ बसेँ आज कता जाने थाहा छैन’ ढोरपाटनसँग कुराकानी गर्दै उनले थपे, ‘म माथी ठूलो अन्याय भयो ।’
मानवसेवा आश्रमले भने उनको व्यवहार र ढिपीका कारण बन्द ढोका खोलेको बताएको छ । आश्रममा रहेकाहरुसँग झगडा गर्ने र सञ्चालकहरुसँग ढिपी गरेर जथाभावी बोलेका कारण उनलाई बाहिर जान दिईएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् । ‘उहाँलाई उद्धार गरेर आश्रम ल्याईएको हो, तलव दिने गरी होईन ।’ सुमिराले भनिन्, ‘खाना पकाउने दिदी बाहिर रहेकाले उहाँले सघाउनु भएको हो ।’ लकडाउनमा बाहिर गाह्रो हुन्छ भन्दाभन्दै ढिपी गरेकाले बाहिर छाडिएको हो । उनको काम राम्रो रहेकाले घरजाने भए बाटो खर्च दिन्छु भन्दा समेत लिन नमानेको र आफुलाई अपशव्द प्रयोग गरेको सुमिराले बताइन् ।
गुनासो बोकेर प्रहरी कार्यालय पुगेका उनलाई प्रहरीले छलफल गर्ने आश्वासन दिएको छ । ‘केही दिन हामीले पठाएको आश्रय स्थलमै बस्नु, हामी बोलाएर छलफल गराउँछौं भनेका छौं’, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले भने, ‘खासै ठुलो समस्या हो जस्तो लाग्दैन, छलफलबाटै टुंगिन्छ ।’
सुवासले भने आफुलाई मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले कामकै लागि बागलुङ पठाएको र आफ्नो पारिश्रमिक पाए घर फर्किने पटक पटक दोहोराए । लकडाउनका कारण सदरमुकाम ठप्प जस्तै छ । बास बस्ने ठाउँ नभएको र घर जानका लागि सवारी समेत नरहेकाले सडकबाट उठाईएका सुवास कार्की पुनः सडकमै फर्काइएका छन् ।
मानव सेवा आश्रमको अभिभावकत्व ग्रहण गरेको बागलुङ नगरपालिका पनि सुवासलाई लकडाउनपछि घर पठाउने भनेको थियो । ‘उहाँ आश्रम छोड्न गरेको झगडाको बिषयमा सुमिरा बहिनीले जानकारी गराउनुभएको थियो, हामी गएर सम्झायौं, लकडाउनपछि घर जानुहोला भनेको हो’ आश्रम रहेको बानपा–३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटाले भनिन् ‘आँफै ढोका खोलेर झगडा गर्दै निस्किनुभयो भन्ने खबर आयो ।’
उनी मानवसेवा आश्रममा आश्रयको लागि आएको तर पारिश्रमिक पाउने बिषयमा कुनै जानकारी नभएको उनले बताईन् ।





