बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बैतरणीका लागि मत्र्यलोकबासीलाई पत्र !

बैतरणीका लागि मत्र्यलोकबासीलाई पत्र !


  • टीकावहादुर कार्की
  • जेष्ठ १७ २०७७, शनिबार

आदरणीय मत्र्यलोकबासी महानुभावहरु,
सर्वप्रथम त तपाईहरुको सुस्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक शूभकामना ब्यक्त गर्दछु । तपाईहरुलाई सम्झिने मन नहुदाँनहुदै पनि यो पातालको खाल्टोबाट निस्सासिदै हजुरहरुको सम्झना आएकोले केही शब्द कोर्दैछु । मेरो स्मरणमा रहनु भएका शोकाकुल जननी माता, पिता, प्यारा सन्तती, दाजुभाई र शुभचिन्तक आफन्तजनलाई कसैगरी बिर्सनै सकिन । हेर्नु न म यो खाडलमा जति गुटमुटिदै जान्छु, उती एकोहोरो तपाईहरुप्रति अगाध मायाको हुन्डरी छुटेर आउछ । तपाईहरुसंग रमाउने चाहना भएर पनि अदृष्य कोरोना भाईरसले कसैसंग बोल्न दिएन । यसले मलाई टपक्क टिपी क्वारेन्टाइन, आईसोलेसन र आईसीयु हुदै तपाईहरु रहेकै मत्र्यलोक (पृथ्वी) भन्दा तल खाडलमा प्लाष्टिक भित्र गुटुमुटु पारेर पुरी राखेको छ । नाम सुने पनि, नसुने पनि, चिनेपनि, नचिने पनि, आफ्नै छाया होकि के हो ? भनेर तर्सिरहनु भएका बेला यो चिठी हेर्दा पनि डराउनु होला भन्ने लागेर तपाईहरुले नै चाहना राखेजसरी मेरो मायाको पोको फुकाउन चाहेको छु ।
मेरो प्राणपखेरु (आत्मा) उहिल्लै उडिसक्यो, बाचुन्जेल मलाई तपाईहरु बिच चिनाएको, तपाईहरुकै सेवाले बयस्क भएको होनहार त्यो निर्दोष आत्माधारी वस्तु पनि अब तपाईहरु नजिक नजिक आउने छैन । आजीवन सत्कर्म गरी स्वर्ग जाउंला भनिकन हरहमेशा मानव सेवामै लागिरहेका बखत पिपिईको प्रयोग नगर्नु मेरो सानो गल्तीका कारण अदृष्य भाईरसले भेटेपछी छाडेन । रहरले होईन बाध्यताले तपाईहरुको न्यानो साथ छोडेर हिड्दै गर्दा कोरोना नामको म मर्नु परेपनि मेरा शुभचिन्तकलाई जिंउदै छाडेर आएको थिए । जननी माताले आफू मरेर भएपनि सन्ततीलाई जन्मदिने आँट गरे जस्तै म पनि सुटुक्क हिंडे । आमाले पकाएको मिठो खानेकुरा, तपाईहरुले पठाएको न्यानो कपडा, बाटाखर्च सबै चिज मैले नछोइकन फिर्ता पठाएको थिए । पाउनु भयो कि नाई ? सोध्न मन लागेको छ ।
धर्मशास्त्रमा उल्लेख गरिएजस्तो पाताल होइन रहेछ, यहाँ त सबै अमुक, अदृष्य अनि अचिन्तन प्राणीले मृत्यु बरण गर्ने भएकोले त्यो रमणीय स्थानलाई मत्र्यलोक भनिएको हुनुपर्छ । जहा जन्मेपछि मस्ती नै मस्ती थियो । सायद अब त्यो मनुष्य चोला पाउछु कि पाउदिन त्यो चित्र गुप्ताको हिसाब किताबले बताउला । धर्म शास्त्र सुन्दा त नरकमा पापीहरुलाई उम्लीरहेको तेलमा डुबाउदा चित्कार सहितको आवाज सुनिन्छ रे । तर यो पाताल यस्तो खाडल रहेछ, जहाँ कोही सास फेर्न पनि नसक्ने गरी गुम्स्याएर राखिंदो रहेछ । तपाईहरु यस्तो ठाउंमा बिर्सेर पनि नआउनु होला है । अब मेरा कोही आफन्त यो पातालमा आउन नपरोस भनि अमुक प्रभुसंग मेरो प्राथना गर्दै तपाईहरुलाई जानकारी दिन चाहे ल ।
मत्र्यलोकको त्यो मोजममस्ती र रमाईलोका बिचमा केही छाडा, असत्तीहरुको लापर्वाहीका कारण अन्जानमै त्यो यमराज रुपी कोरोनाले च्याप्प समातेर आज यहाँ पुरायो । मलाई ९ महिनासम्म गर्भमा हुर्काई, १९ बर्षसम्म बडा दुखका साथ पालनपोषण, शिक्षादिक्षा दिनु हुने पुज्यनीय जननी माताको ऋण तिर्न त सकिएन, मलाई हिजोका दिनसम्म हरेक कदममा साथ दिएर एउटा मानव अस्तित्वको रुपमा खडा गर्ने कार्यमा तपाईहरु सबैको अमुल्य योगदानको उच्च रुपमा कदर गर्दै पुन एक पटक प्रेत आत्माको रुपमा रहेको यो आत्माले मलाई बोकेर हिडेको त्यो निर्जीव शरिरको नाममा तपाईहरुबाटै मार्ग प्रसस्त गरीदिन अनुरोध गरे । मेरो जन्म, चुडाकर्म, बिबाह ईत्यादी फुकाई दिनुहुने तपाई महान जिवित आत्माहरुलाई मेरो अमुक स्थानमा गुम्सिएर निस्सासिरहेको यो बन्जर शरिरलाई मेरो आत्मासंग साक्षातकार गराउन मेरा बुढी औलाका छाप लगाएको नागरिकताको प्रमाण पत्र र मेरो कुण्डली (चिना) हेरेर ‘यदा यदाही धर्मस्य’ वाचन गरी बैतरणी गरी दिनहुन सादर अनुरोध गर्दछु ।
अन्तमा, जहां रहे पनि कोरोनादेखि साबधान रहनु होला । कोरोना रोगका कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ संस्थामा उपचार गराइ स्वास्थ्यकर्मीको सुझाब मान्नु होला । साबुन पानीले मिचिमिची हात धुनुहोला । घर तथा कार्य स्थलमा आउने जो कोहीलाई साबुन पानीले हात धुन, सेनिटाईजर हातमा दल्न लगाई कम्तीमा २ मिटर टाढा राखेर सेवा दिनु होला । बिना काम आफु रहेबसेको ठाउँदेखि बाहिर लखर लखर नहिड्नु होला । काम बिशेषले यात्रा गर्नै परे सुरक्षित यात्राको लागी सेनिटाईजर नामक गुणस्तरीय जल हातमा लगाउनु होला, मास्क, पन्जा र पिपिई लगायतका सुरक्षा कवजको प्रयोग गरी कोरोना बिरुद्ध बिजय प्राप्तीका लागी शुभकामना व्यक्त गर्न चाहान्छु । मत्र्यलोकबाट पातालमा कोही नआउनु होला भन्दै बिदा हुन चाहें । आगे तपाईहरु सबैको कल्याण होस ।
उही तपाईको प्रिय
बागलुङ
२०७७ जेठ १५

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->