सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भाग्दा भाग्दै कोरोनाले समायो

भाग्दा भाग्दै कोरोनाले समायो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७७, सोमबार

बागलुङ, १९ जेठ– तमानखोला गाउँपालिकाको संस्थागत विद्यालयमा अध्यापन गराएको पाँच बर्षे अनुभव थियो । शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवसमेत राम्रो रहेकाले स्थानीय विद्यालयले करारमा शिक्षक माग भएका बेला उनी छनौटमा परे ।
उमेर भर्खर २६ कटेर २७ मा चल्दै थियो । घरमा बृद्ध आमा, बिहे भएकाले श्रीमती र छोरा सबैको रेखदेखको जिम्मेबारी काँधमै थियो । विद्यालयबाट आउने पारिश्रमिकले दैनिकी राम्रो चलेको थियो तर स्थायित्व नभएकाले उमेर रहुन्जेल विद्यालयमा हराउने र बुढेकालमा काम छुटे के गरौंला भन्ने लाग्यो ।
पाँच महिना मात्रै भएको थियो भारतको उत्तरप्रदेश पुगेको । त्यहाँ पुगेर काम मिल्यो स्टोरभित्रै बसेर रेखदेख गर्ने । काम चलिरहेकै बेला संसारभर कोरोनाको त्रास फैलियो । चीनबाट फैलिएको कोरोना भारत आईपुग्दा उत्तरप्रदेश पनि बाँकी रहेन । शिक्षकको काम छोडेर भारत पुगेका जिल्लाको तमानखोला गाउँपालिकाका २७ बर्षिय उनको रोजीरोटी मात्रै कोरोनाले गुमाएन जे–होला आफ्नै माटोमा होला भनेर भाग्दा भाग्दै बाटोमै कोरोनाले समत्यो ।
आँफु मात्रै होईन उत्तरप्रदेशको अव्वरपुरबाट सँगै हिँडेका आठ जनामध्ये अरु तीन जना साथी पनि कोरोनाको संक्रमणमा परे । अहिले उनीहरु सबैको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ । भारत सरकारले लकडाउनको घोषणा गरेपछि काम बन्द भयो । तलव आउन छोडेको दुई महिना बितेको थियो तर खानबस्नको लागि भने कम्पनी मालिकले पु¥याएकै थियो । नेपालको सिमा नाकामा भारतबाट आएका धेरै जम्मा भएर प्रबेश मागिरहेको खबर सुनियो । संगै काम गर्ने एउटै ठाउँका आठजना जम्मा भएर निधो गरे– ‘अब हामी पनि नेपाल जानुपर्छ, जे हुन्छ आफ्नै माटोमा हुन्छ ।’
भारतीयले अर्काको देशको नागरिक भएकाले राम्रो व्यवहार गर्दैनथे । कोरोनाको त्रास उत्तर प्रदेशमा भयावह थियो । उनीहरु त्यहाँबाट आफ्नो माटो खोज्दै निस्किए । ‘कतै तरकारीको ट्रकमा बसेर आयौं कतै हिँडियो पनि, भारतको प्रहरीले चेक गथ्र्यो तर केही भनेन्’ धौलागिरी अस्पतालको आईसोलेसनबाट टेलिफोनमा उनले भने ‘नौतुनामा दशदिन क्वारेन्टाईनमा राख्यो त्यहाँ बसेर सिमानाका आएको हो ।’
उनीहरु नौतुनामा बस्दा नेपाली मात्रै एउटै क्वारेन्टाइनमा १ सय ९६ जना थिए । खाना बस्नको असुविधा केही नभए पनि धेरैको संख्यामा बस्दा कोरोना सरेको हुन सक्ने उनको अनुमान छ । ‘नेपाल भित्रिने बेला आरडिटी जाँच भयो, भैरहवामा जाँच हुँदा मेरो नेगेटिभ आएको थियो’ उनले भने ‘केही भर नहुँदो रहेछ ।’ उनीहरु भैरहवा भित्रिँदा ठुलो समुह संगै थियो । नेपाल प्रबेश गरेपछि चढेको गाडीमा के कति मान्छे थिए उनले हिसाव गरेनन् ।
आईसोलेसनमा उपचार गराईरहेका चार जनासँगै आएका तमानखोलाकै अर्का चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आयो । ‘कामदेखि बसाईहुँदै क्वारेन्टाइनसम्म पनि सँगै थियौं’ आईसोलेसनमै रहेका अर्का युवाले भने ‘हामी कसरी संक्रमित भयौं पत्तै भएन, तर साथीहरु संक्रमणबाट बच्नु भएछ ।’
उपचाररत उनीहरुमा कुनै लक्षण छैन । दिनभर साथीभाई तथा इष्टमित्रका फोन उठाउने काम मात्रै भएको छ । ‘हामी सँगै आएका चार जनाको फेसबुक ग्रुप छ, ग्रुपमै छलफल गर्छौं’ उनले भने ‘पानी पिएर दिन कटाउने भएको छ ।’
उपचारका लागि आईसोलेसनमा आउने डा. र नर्सको व्यवहारले उनीहरु खुसी छन् । खाना लिएर आईसोलेन पुग्नेबेला डा. र नर्स सँगै पुग्ने र अरु बेला डाक्टरहरुले समस्या परेकासम्पर्क गर्नु भनेर फोन नम्बर दिएको उनले बताए ।
‘बिहान बेलुका खाना ल्याउँदा प्रेसर र मुटुको धड्कन पनि जाँच्नुहुन्छ अरु बेला नर्सहरु मात्रै आउनुहुन्छ’ उनले भने । बिहान–बेलुका खाना र खाजाका लागि बिष्कुट, पाउरोटी लगायतका सामग्री आईसोलेसन वार्डमै रहेको उनीहरुले बताए ।
आईसोलेसनको सरसफाई, शौचालयको व्यवस्था र पानी तताउने तथा नुहाउने व्यवस्थाका कारण हौसला मिलिरहेको उनी बताउँछन् । ‘समय मिल्यो भने मोटिभेसनल सामग्री खोजेर पढ्छौं, सामाजिक सञ्जालको समुहमा बाँड्छौं’ २७ बर्षिया ति पुरुष भन्छन् ‘निको भएर घर फर्केकाहरुको अन्तवार्ता हेर्दा थप हौसला मिल्छ ।’ अस्पतालमा छ जना संक्रमितको उपचार भैरहेको छ । सबै जनालाई अलग–अलग कोठामा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->