‘साहित्य समाजको ऐना हो’ । साहित्यको परिभाषामा मुखैमा झुण्डिएको उत्तर हो, यो । हुन पनि साहित्य समाजबाट टाढा रहन सक्दैन । साहित्यका कच्चा पदार्थहरु समाजमा नै विद्यमान छन् । समाजमा मूलतस् मान्छेहरु नै हुन्छन् । मान्छेहरुको बिचमा सम्बन्ध स्थापित हुन्छ । सामाजिक आर्थिक सम्बन्धलाई नै साहित्यको विषयवस्तु मानेका छन्, मार्कसले । मान्छे–मान्छको बिचमा मात्र सम्बन्ध नभएर मान्छेको पर्यावरणसंग पनि त सम्बन्ध रहेको हुन्छ । मान्छेले वातावरणमा प्रभाव पारेको हुन्छ, भने वातावरणले मान्छेमा पनि । त्यसो भए, मान्छे र वातावरणको बिचमा सह सम्बन्ध स्थपित छ ।
मानव समाजमा सरल र अपेक्षित सम्बन्ध मात्र बन्दैनन् । कतिपय मानव श्रृजित घटनाहरु घट्छन् भने कतिपए प्रकृतिजन्य । यस्ता अनपेक्षित घटनाक्रमले मानव सम्बन्धमा परिवर्तन ल्याइदिन्छ । समाज खुम्डिन्छ । समाजमा उथलपुथल आउँछ । नयाँ सम्बन्ध र नयाँ चेत विकसित हुन्छ । नविनतम वातावरणमा घुलमिल हुन मान्छेले संघर्ष गर्छ । संघर्षले नयाँ मनोविज्ञान निर्माण गर्छ । मान्छको सोचाइमा परिवर्तन आउँछ । नयाँ अनुभवहरु श्रृजित हुन्छन् । आफ्ना अनुभव अनुभूतिहरु कलात्मक तरिकाले पोखिन्छन् । साहित्यको मूल फुट्छ । विशिष्ट अनुभुतिहरु सझा भैदिन्छन् ।
पृथिवीलोकलाई कोरोना महामारीले उथलपुथल पारेको छ । समाजलाई हुंडलेको छ । मान्छेहरु त्राहिमाम छन् । विकसित र सम्पन्न भनिएका मुलुकहरु पनि तीन छक परेका छन् । तिनीहरुको आर्थिक उन्नति नकाम भएको छ । आणविक हतियारले ढुक्क शासकहरुको निद्रा हराम भएको छ । उनीहरु नै बढी असुरक्षित महसुस गरेका छन् । उनीहरुको हतियारले निसाना नै पहिल्याउन सकेको छैन् । यस्तो महामारी छ कि जुन देखिदैन । अमीर गरिब सबैलाई समान व्यवहार । शत्रु मान्छेभन्दा साथि मान्छेबाट खतरा । नजिको मान्छेबाट झनै खतरा ।
नेपालमा पनि कोरोना प्रभाव अकल्पनिय हुने छाँट देखिदै छ । हजारौको संख्यामा प्रभावित बन्न सक्छन् । अझ यसको साइड इफेक्ट डरलाग्दो हुन सक्छ । नेपाल त झन् रेमिट्यान्समा आधारित अर्थतन्त्र । कोरोना कहरले गर्दा १२÷१५ लाख नपाली स्वदेश फिर्न सक्छन् । घर–घरमा हिसाब किताब हुन्छ । झगडाको वीऊ रोपिन सक्छ । हृदयघात, मष्तिक्कघात, हत्या–आत्महत्याको ग्राफ उकालो लाग्न सक्छ । उनीहरुले आफ्नो पेशा रोजगारी गुमाउन सक्छन् । त्यसको प्रत्यक्ष असर परिवार, समाज र अन्ततः मुलुकमा नै पर्न सक्छ । अर्कोतर्फ, ४/५ हजारको संख्यामा विदेशिने यूवाहरु स्देशमै अड्किन्छन् । तिनीहरुको व्वस्थापन नै चुनौतीपूर्ण हुनसक्छ । उर्जावान यूवाहरुलाई सिमलेर काममा लगाउनु पर्ने चुनौती देखिन्छ । नत्र भने, रापिला लाभा बनेर पोखिन सक्छन्, समाजमा । समाजको मानचित्र नै बदलिन सक्छ । सामाजीक राजनीतिक विद्रोह जन्मिन सक्छ । नयाँ आयामहरु थपिनेछन् । उकुस मुकुसका नयाँ अनुभूतिहरु पोख्ने छन्, सेता पन्नाहरुमा र साहित्य बनेर बग्ने छ उकाली ओरालीहरुमा ।
कोरोनाले नयाँ मनोविज्ञानको मूल फुटाएको छ । विदेशीएकाहरु आफ्नै देशमा एक मूठी परान विसाउन चाहान्छन् । काम गुमाएका छन् । कम्पनीहरु टाट पल्टनेमा छन् । आवत–जावत ठप्प छ । खाना सक्किदो छ । खोल्टी रित्तो छ । यता, लाला वालाहरु पक्यास पक्यास छन् । एउटाले कमाउने ५/६ जनाले फूँई गरेर छाती पिट्नेहरु वेहोस प्रायःछन् । बैंकमा ऋण चुली परेको छ । साहूले फोन गरेर सम्झाउनेवला छ । घरभाडा तिर्नुपर्ने छ । विरामीको उपचार गर्नुपर्ने छ । महंगीले नेटो काट्ने छ । बानी बिग्रीएको छ । यस्तो विषम् परिस्थितिमा विषम् अनुभूतिहरु सृजना हुनेछन् । पक्का पनि अनुभूतिहरु साहित्यका विषय बन्नेछन् ।
अर्को पाटो पनि छ । इन्डियालाई त हामी विदेश नै मान्दैनौ । रोटी–बेटीको सम्बन्ध छ पनि भनिन्छ । सीमाना खुल्ला छ । मौषमी बसाई–सराई गर्छन्, नेपालीहरु । कोरोनाले तिनीहरुको सपनाको ऐना फुटाइ दिएको छ । सकसमा परेका नेपालीहरुले असुरक्षित महसुस पनि गरे होलान् । मातृभूमीमा नै सुरक्षित हुन सक्ने लालसाले नेपालमा ओइरो लागेको छन् । १५/२० दिन लगाएर हजरौं माइलको कष्टपूर्ण पैदल यात्रा गरेका छन् । सुत्केरीहरु नानी च्यापेर आएका छन् । विरामीहरु मधौरु शरीर बोकेर आएका छन्, नेपाल आमाको काखमा । खाना त के पानी पनि फारु गरेर आए । आफ्नै देश फर्कि आए । मुख र मुठ्ठी लिएर आए । मात्रृभूमीको गन्ध पच्छ्याउदै आए । तर, इन्डियाले लखेट्छ नेपालले भित्राउंदैन । कस्तो बिडम्वना । यो व्यवस्थापन लरतरो चूनौंतीपूर्ण हुंदै होइन । यस्ता अनुभूतिहरु पनि पोको परेर बसेका छन्, फोइनलाई ।
‘दिनभर रुझेर यात्रा, बलेनीमा बार’जस्तै भयो स्वदेश फिर्न पनि । नाकाहरु बन्द छन् । क्वारेन्टाइनमा बस्नु पर्ने । भूईमा ओरालो सिरान सुत्नु पर्ने । त्यस्तो जिन्दगी खै के जिन्दगी । स्वदेश फिर्न नारा जुलुस गर्नु पर्ने । ढुङ्गा मूढा गर्नुपर्ने । भाटाहरु सहनु पर्ने । अश्रुग्याँसका सेलहरु सुंघ्नु पर्ने । महाकाली नदीमा हामफाल्नु पर्ने । नाङगै नदी तर्नुपर्ने । अपराधीजस्तै डोरिनु पर्ने । कस्तो निरस वास्तविकता । यो हो तुच्छ जिन्दगीको वास्तविक कथा । यी ताजा खुराकपूर्ण घटनाहरु मानस्पटलमा खात परेर बसेका छन् । यस्तै विचित्र अनुभूतीहरु छचल्किएर पोखिनेवाला छन्, स्वेत कागजमा । साहित्यका कच्चा पदार्थहरु ।
जब समाज अगाडि बढ्दै गयो, साहित्यको आयतन पनि बड्दै गयो । समाजले विज्ञान बनायो । विज्ञानले चमत्कार ग¥यो । साहित्यमा चमत्कार पोखियो । विज्ञानले मानव सभ्यतालाई ध्वंस ग¥यो । गोला बम बारुदले मानव मन छिया–छिया पार्यो । मान्छे दुखित भयो । साहित्यमा दुःख पोखियोस् युद्व साहित्य जन्मियो । मान्छे आफैलाई सर्बश्रेष्ठ सम्झ्यो । प्रकृति माथि दोहन ग¥यो । रीसाएको प्रकृतिले मानव उपर बदला लियोस हरित साहित्य श्रृजियो । सबै भन्दा चंचल प्राणी मान्छे नै हो । अग्लो सगरमाथादेखि घना जंगल मरुभूमीहुंदै समुद्रको पींधसम्म आफ्नो यात्रालाई जारी राखेको छ । यात्रा साहित्यको खुराक बनाएको छ । मान्छे नै, हो देश–विदेश चाहारेको छ । विश्वव्यापीकरणको मूल पात्र पनि त मान्छे नै हो । अपरिचित भूमि, अपरिचित भषा, अपरिचित मान्छेहरु र अनौठो संस्कृति, चाल (चलन, पर्वहरुमा पनि त घुलिएकै छ मान्छे । समाजमा हुने दोहन, दलन र उत्पीडनका विषयमा पनि साहित्य फूलेकै छ ।
र अन्तमा, चीनको वुहानमा गत डिसेम्बरमा जन्मेर कोरिया, यूरोप, अमेरिका, ब्राजिल, खाडी मुलुक र इन्डियाहुंदै नेपालमा प्रवेश गरेको कोरोना प्रकोपले नेपाल पनि थला पर्न आँटेको छ । कोरोना जवानीको शासन कष्टमय हुँदैछ । लाखौलाई थला पारेको छ भने तीन लाख बढीको ज्यन हरी सकेको छ । मान्छेहरु घरमै डल्लीएर बसेका छन् । व्यापार व्यावसाय ठप्प प्रायः छ । लगानीहरु डुब्नेवाला छन् । विकास निर्माण ठप्प छ । राष्ट्रिय ढुकुटी रित्तिदै छ, कोरोना रोकथामको लागी । केटाकेटीहरु कुज्जीएका छन्, घरमै । बुढाबुढी रोगीहरु त्रसित छन् । विछोडिएका परिवारका सदस्यहरु निराश छन् । विवाह, ब्रतबन्ध, पूजा–आजा ‘ज्यूँदो जन्त मर्दो मलामी’ हुन पाएको छैन् । यस्ता तमाम अनुभवहरुले गर्भधान गरिसकेका छन् । अझ कोरोना महामारीले नयाँ शब्दहरुमा पनि अभ्यस्त हुन सिकाएको छ । बन्दाबन्दी, कोभिड–१९, आइसोलेशन, सोसियल डिस्टान्स, मास्क, लकडाउन, सेनिटाइजर इत्यदि । यस्ता नयाँ शब्दहरु लिएर कोरोना कहरको करकर सुन्नलाई तयारी गरौं । जय होस् ।




